प्रत्येक नयाँ सालको आगमनसँगै हामीभित्र नयाँ आशा पलाउँछ । खुसी हुन्छौँ । नयाँ नयाँ संकल्प गर्छौं । तीमध्ये केही पूरा हुन्छन् । केही अधुरा नै रहन्छन् ।
मेरो व्यक्तिगत जीवनमा सन् २०२५ कस्तो रह्यो भन्ने अनुभव यहाँसँग बाँड्न चाहन्छु । सबै विषयलाई सरल र स्पष्ट रूपमा प्रस्तुत गर्न मैले जीवनको चक्र (Wheel of Life) लाई आधार बनाएको छु ।
जीवनको चक्रले हाम्रो व्यक्तिगत जीवनलाई सन्तुलित, खुसी र सफल बनाउन मद्दत गर्दछ । यसको उत्पत्ति तिब्बती बौद्ध दर्शनसँग जोडिन्छ र यसले मानव जीवनका आठ महत्त्वपूर्ण पक्षलाई समेट्छ, जसलाई खुसीका आधारस्तम्भ पनि मानिन्छ ।
आकासा हिलिङ रिट्रिट, फार्नबोरो
स्वास्थ्य
‘स्वास्थ्य नै धन हो’ भन्ने भनाइ सबैलाई थाहा छ, तर व्यवहारमा उतार्न सबैले सक्दैनौँ । त्यसैले कहिलेकाहीँ अस्पतालको सेतो च्यादर ओढ्नुपर्ने अवस्था आउँछ ।
सन् १९९२ मा ब्रुनाईको पानागा अस्पतालमा चारवटै बुद्धिदाँत निकाल्दा एक रात बसेको बाहेक, अस्पतालमा भर्ना हुनुपरेको अनुभव छैन ।
शरीरलाई स्वस्थ राख्न गत ९ वर्षदेखि लगातार प्रत्येक महिना १०० माइल (१६० किमी) दौडिरहेको छु। सन् २०२५ मा जम्मा १२१६ माइल दौडन सफल भएँ । Race at Your Pace कम्पनीमा दर्ता गरी हरेक महिना दौड पूरा गरेपछि मेडल र प्रमाणपत्र प्राप्त हुन्छ । वर्षको अन्त्यमा ‘लोयल्टी रिवार्ड’ स्वरूप वार्षिक दौडको माइल लेखिएको विशेष मेडल आउँछ ।
यी मेडलहरू मलाई अत्यन्त प्रिय लाग्छन्, किनकि ती शुद्ध परिश्रमको परिणाम हुन् । बाहिरी प्रशंसा कहिलेकाहीँ स्वार्थमिश्रित हुन सक्छ, तर यो उपलब्धिमा कुनै मिलावट छैन । यसले दिने सन्तुष्टिभन्दा ठूलो खुशी अरू के हुन सक्छ र ?
ओशो ध्यान शिविर, मेडनहेड
अर्को महत्त्वपूर्ण पक्ष सन् २०१७ यता शाकाहारी भोजन लिँदै आएको छु । यसले शारीरिक र मानसिक रूपमा ठूलो सकारात्मक परिवर्तन ल्याएको छ । यस विषयमा छुट्टै अनुभव साट्न म सधैँ तयार छु ।
स्वास्थ्यको हिसाबले उमेरभन्दा बुढो भएको महसुस छैन । म सन्तुष्ट र खुसी छु ।
करियर/पढाइ
लाहुरे जीवनका क्रममा पहिलो ६ महिनाको छुट्टीमा एसएलसी परीक्षा दिएँ र सेकेन्ड डिभिजनमा उत्तीर्ण भएँ । त्यसपछि औपचारिक शिक्षा लिन पाइनँ ।
ब्रिटिस गोर्खा सैनिकका रूपमा १६ वर्ष सेवा गरी सन् २००३ मा अवकाश लिएँ । हाल पनि सरकारी सेवामा आबद्ध छु । परिवारको दैनिक आवश्यकताका साथै अलि अलि बचत पनि भइरहेको छ ।
फुर्सदको समयमा पत्रकारिता गर्छु, जुन मलाई अत्यन्तै रमाइलो लाग्छ । कामप्रति पूर्ण सन्तुष्टि छ ।
आर्थिक अवस्था
सरकारी सेवाबाट नियमित आम्दानी हुन्छ । गोर्खा पेन्सनबाट पनि थोरबहुत झर्छ । नेपाल जाँदा पाउन्ड साट्नुपर्ने झन्झट छैन ।
एक-दुई वटा घर भाडामा लगाएको छु । बेलायतमा ‘ल्यान्डलर्ड’ पनि भइयो ।
आवश्यकताभन्दा बढी नहोस्, कम नहोस् त्यतिकै पुगेको छ । चन्दा र सहयोगका काममा पनि हात फैलाउन सक्ने अवस्थामा छु । सन् २०२५ आर्थिक रूपमा सन्तोषजनक रह्यो ।
परिवार र सम्बन्ध
श्रीमती र छोरीहरूको निरन्तर साथ र सहयोगले जीवन सहज बनेको छ । घरमा खाना पकाउने जिम्मेवारीको राम्रो तालमेल छ । मनले चाहे अनुसारको खाना पाउँदा जीवन झन् सजिलो भएको छ ।
९२ वर्षीया आमासँग नियमित फेसटाइम हुन्छ। मे महिनामा भेट्ने सौभाग्य पनि मिल्यो । परिवारका सबै सदस्य खुसी र स्वस्थ छन् ।
व्यक्तिगत विकास
पढ्ने बानी निरन्तर छ । २०२५ मा पढिएका केही पुस्तकहरू: सत्यमोहन जोशीको जीवनी, By the Book, राधा, महावीर पुन, You Can Heal Your Life, The Silent Explosion, उसले दिएको उमेर, Power of Subconscious Mind आदि ।
पत्रकारितासँगै लेखन यात्रालाई पनि निरन्तरता दिएको छु । गोर्खा मिडियामा गत साल प्रकाशित केही कविताहरू: एक जमानामा हामी पनि थियौँ, माया गर्ने हजार थिए, आँसु पुछ्ने भएन, कुशे औँशी मुख हेर्ने दिन, संसार डुल्ने मन, थाहै नपाई बन्द कोठामा रोएछु ।
गोर्खा मिडियाबाट प्रसारण हुने ‘अतिथि संवाद’ कार्यक्रम सञ्चालन गर्दै आएको छु । यसरी, व्यक्तिगत विकासको हिसाबले गत वर्ष अत्यन्त फलदायी रह्यो ।
होलिडे, ग्रान क्यानेरी
मनोरञ्जन/फुर्सद
फुर्सद मिल्नासाथ श्रीमतीसँग घुम्न निस्किन्छु । घरमा कुकुर भएकाले थप रमाइलो हुन्छ ।
श्रीमती र दुई छोरीहरूले बेलायतको सबैभन्दा अग्लो चुचुरो बेन नेभिस चढे । डिसेम्बरमा केही दिन चिसो छल्न ग्रान क्यानरी पुग्यौँ । सिनेमा, वाकिङ, Wisley Garden र Kew Garden भ्रमणले जीवनमा ताजगी थपेको छ ।
आध्यात्मिकता र परोपकार
मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो । सन् २०१७ मा ओशो सन्न्यासी बनेपछि दैनिक जीवनमा गहिरो परिवर्तन अनुभव गरिरहेको छु । यसअन्तर्गत
सन् २०२५ मा:
• लुम्बिनीमा ५ दिने अन्तर्राष्ट्रिय आकाशा हिलिङ रिट्रिट (लेभल २) ।
• बेलायतमा पहिलो पटक पारिवारिक पहलमा आकाशा हिलिङ रिट्रिट आयोजना (लेभल ३) ।
• मेडनहेड र बर्मिङहममा ओशो मेडिटेसन रिट्रिटहरूमा सहभागिता ।
परोपकारी सांस्कृतिक कार्यक्रम, मिचेट
परोपकारमा पनि उल्लेखनीय काम भए:
• आफूले पढेको हर्पनकोट माध्यमिक विद्यालयका लागि २० लाख रुपैयाँभन्दा बढी संकलन ।
• गायिका पवित्र गुरुङको विद्यालय सहयोगार्थ बेलायतमा पहिलो पटक मिडियाबाट आयोजित सांगीतिक कार्यक्रम, जसबाट ९ लाख रुपैयाँभन्दा बढी संकलन ।
यसमा सहयोग गर्नुहुने सबै मनकारी महानुभावप्रति हार्दिक आभार ।
अन्तर्राष्ट्रिय आकासा रिट्रिट, लुम्बिनी
पर्यावरण/जीवनशैली
२० वर्षदेखि एउटै घरमा बसोबास । स्कुल, खुला मैदान, बजार र रेल स्टेसन नजिकै । छिमेकीहरू मैत्रीपूर्ण छन् ।
सकारात्मक सोच भएका सहकर्मीसँग ध्यान, ज्ञान र जीवनशैलीबारे गहिरो छलफल हुन्छ । उहाँबाट Pingshuai Gong पनि सिक्ने अवसर मिल्यो ।
रनिङ, ध्यान र शाकाहारी भोजनले जीवनलाई सन्तुलित बनाइरहेको छ ।
सारांश
यो लेखमा ‘म’ र ‘मैले’ धेरै आएको छ, तर यो अहंकार होइन, अनुभवको आत्मस्वीकारोक्ति मात्र हो ।
हामी सबै खुसी, सुखी र आनन्दित जीवन चाहन्छौँ । तर जीवनका आठ चक्रमध्ये कुनै न कुनैमा चुक्दा सन्तुलन बिग्रन्छ । सन्तुलन मिलाउन सक्नेले मात्र खोजेको जीवन पाउँछ ।
सन् २०२५ मा मैले गरेका टुटेफुटेका प्रयासहरू जोडेर प्रस्तुत गरेको हुँ । हामी साधारण छौँ, तर हाम्रा कर्मले हामीलाई असाधारण बनाउँछ । सम्भावना सबैमा छ । रोकेको हामी आफैले हो ।
Action बिना Result हुँदैन । आठ चक्रमा प्रत्येकको १० गरी ८० अंकमध्ये तपाईं कति अंक दिनुहुन्छ ?
त्यहीँबाट तपाईंको भविष्यको मार्गचित्र सुरु हुन्छ । मैले त पास मार्क हासिल गरेँ । अब पालो तपाईंहरूको । सन् २०२६ को शुभकामना ।
-सन् २०२५ को स्मरणमा