कमल गुरुङ
बेलायत । नेपालमा आएको विनाशकारी बाढीले रसुवा, बोटेकोशी क्षेत्रलगायत देशका विभिन्न ठाउँमा पुर्याएको क्षतिको समाचार, हृदयविदारक तस्बिरहरू र भिडियोहरू हेर्दा हामी सबैको मन थाम्न गाह्रो भइरहेको थियो । बाढीले पुर्याएको जनधनको क्षति र पीडाले विदेशमा रहेर पनि हरेक नेपालीको मन छोएको थियो ।
त्यसै समयमा म नेपाली मेला संयोजकको जिम्मेवारीमा थिएँ। विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा व्यक्तिहरू र संघ–संस्थामार्फत बाढीपीडितका लागि सहयोग घोषणा हुन थाले । यसैबीच नेपाली मेलाबाट बाँकी रहेको रकम पनि बाढीपीडित राहत कोषमा पठाउने निर्णय मेरै पहलमा भईसकेको थियो । उक्त निर्णयलाई विभिन्न क्षेत्रबाट स्वागत र प्रशंसा प्राप्त भयो । यसले तमु धीं यूकेले आफ्नो दुःखलाई शक्तिमा बदल्दै मानवीय सेवाको एउटा उदाहरण प्रस्तुत गरेको अनुभूति भयो ।
नेपाली मेलाको पुर्ण तयारी र नेपाली मेलाको दिन जनमानसको बाक्लो उपस्थिति भई रहदा र अरू व्यक्ति तथा संघ–संस्थाहरूले रसुवा भोटेकोशीमा सहयोग घोषणा गरेको समाचार पढ्दै गर्दा, तमु धीं यूकेले पनि केही बोल्नुपर्छ, केही गर्नुपर्छ भन्ने भावना मेरो मनमा आयो । यही भावनाका साथ, गोरखा मिडियाले सोधेको समयमा मैले तत्कालै रु. १ करोड १ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेँ ।
त्यसपछि विभिन्न ठाउँबाट प्रश्नहरू आए “यति ठूलो रकम कसरी जुटाउने? कसले र कसरी यस्तो निर्णय गर्यो?” आदि । केही प्रश्न सकारात्मक थिए भने केही आलोचनात्मक पनि थिए । तर मैले त्यसलाई सहज रूपमा लिएँ। किनभने मलाई तमु धीं यूकेप्रति सबैको साथ, विश्वास र सद्भाव रहेकोमा पूर्ण भरोसा थियो ।
त्यसपछि तमु धीं यूकेका अध्यक्षज्यूबाट सकारात्मक निर्णय आयो,ईकाईहरुबाट सकारात्मक निर्णय गर्यौ भन्ने आयो,कार्यसमितिका साथीहरू, विभिन्न पदाधिकारी तथा सदस्यहरूबाट पनि उत्साहजनक साथ प्राप्त भयो। यसले तमु धि यु के लाई अझ दृढ बनायो ।
यसै अभियानअन्तर्गत शान्तकुमार गुरुङज्यूको पहलमा १०० किलोमिटर Charity Walk आयोजना गर्दै गर्दा यसबाट सड्कलित रकम पनि नेपालमा आएको विनाशकारी बाढी पिडीतमा दिने निर्णय भयो । म कमल गुरुङ, तर्कजङ गुरुङ, लछ्य गुरुङ, शारदा गुरुङ, प्रकाश गुरुङ, सूर्य गुरुङ तथा अध्यक्ष जुम काजी गुरुङको पहलमा यस अभियानबाट मात्रै करिब £8,500 संकलन गर्न हामी सफल भयौँ।तमु धि यु के लाई भरोसा गर्ने बिभिन्न गाउहरुबाट, ब्यक्तिहरुबाट ठुलो धनराशी सहितको सहयोग प्राप्त भयो ।
अन्ततः तमु धीं यूकेले विभिन्न संघ–संस्था, व्यक्ति तथा शुभेच्छुकहरूको सहयोग र साथमा करिब रु. १ करोड ३० लाख बराबरको रकम संकलन गर्न सफल भयो । यो रकम केवल आर्थिक सहयोग मात्र थिएन,यो विदेशमा रहेर पनि मातृभूमिको दुःखमा साथ दिन सकिन्छ भन्ने भावनाको प्रतीक थियो ।
त्यसपछि हामी आफैँ नेपाल पुगेर उक्त राहत रकम प्रधानमन्त्री राहत कोष तथा अर्थमन्त्रीसमक्ष हस्तान्तरण गर्ने कार्यमा सहभागी भयौँ । बाँकी रकमबाट बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री खरिद गरी हामी आफैँ प्रभावित क्षेत्रमा उपस्थित भएर आफ्नै हातबाट सामग्री वितरण गर्यौँ । राहत वितरणपछि फेरि बेलायत फर्कियौँ ।
बेलायतबाट यस मानवीय अभियानमा सहभागी हुने टोलीमा म नेपाली मेला संयोजक तथा तमु धीं यूके उपाध्यक्ष कमल गुरुङ, तमु धीं यूके अध्यक्ष जुम काजी गुरुङ, आम प्रमुख श्रीमती कमला गुरुङ, उपाध्यक्ष श्री पर्शु गुरुङ, महासचिव डा. विशाल गुरुङ तथा सचिव बिमल गुरुङ लगायतको सहभागिता रहेको थियो ।
नेपालमा यस अभियानलाई सफल बनाउन विशेष सहयोग पुर्याउनुहुने काउन्सिलर ज्ञान गुरुङ, नेपालमा रहनुभएका पत्रकार आसबहादुर गुरुङ, पत्रकार डन्डा गुरुङ, होटल व्यवसायी विजय गुरुङ तथा श्रीमती चमेली गुरुङप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
यो अभियान एउटा संस्थाले गरेको सहयोगको कथा मात्र होइन । यो दुःखमा एकता, संकटमा सहकार्य र मातृभूमिप्रतिको जिम्मेवारीको उदाहरण हो । बाढीले नेपालमा पीडा ल्यायो, तर त्यही पीडाले हामीलाई अझ नजिक ल्यायो । तमु धीं यूके, विभिन्न संघ–संस्था, व्यक्ति तथा शुभेच्छुकहरूको सामूहिक प्रयासले “दुःखलाई शक्तिमा बदल्न सकिन्छ” भन्ने सन्देश दिएको छ ।
यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, हौसला र विश्वास दिनुहुने सम्पूर्ण ईकाई हरु, बिभिन्न समाजहरु,दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद तथा आभार ।
मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म हो ।
दुःखमा साथ दिनु नै हाम्रो पहिचान हो ।
(लेखक कमल गुरुङ तमु धीं यूकेका उपाध्यक्ष तथा १७ औं नेपाली मेलाका संयोजक हुन्)