लन्डन । ब्रिटिस गोर्खा तथा उनीहरूका सन्ततिको नेपाली वंशजको नागरिकता निरन्तरताको सवालमा बिहीबार विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना भएको छ ।
अल्डरसटको एम्पायर हलमा नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री खडकराज पौडेल (गनेश)को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सीएनसीबीजीका अध्यक्ष थर्क रानाले आयोजना गरेको कार्यक्रमको संयोजन काउन्सिलर ज्ञान गुरुङले गरेका थिए ।
स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै राम थापाले कार्यक्रम सञ्चालन गरे । सुरुमा मन्त्री पौडेलले छोटो मन्तव्य राख्दै नेपालको समसामयिक परिस्थितिबारे बताएका थिए । अध्यक्ष थर्क रानाले सीएनसीबीजीको तर्फबाट आफ्ना मागहरू समेटिएको अवधारणापत्र मन्त्रीलाई बुझाएका थिए ।
त्यसपछि हलमा उपस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले मन्त्री पौडेलसमक्ष जिज्ञासा राखेका थिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु प्येल्हु संघका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ र उनकी धर्मपत्नी, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ र पुनम गुरुङ उपस्थित थिए ।

यसैगरी, एनआरएनए यूके आईसीसीका पूर्वसदस्य दिलराज गुरुङ, लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, तमु फोरमका डाइरेक्टर क्याप्टेन राजु गुरुङ, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष थर्क सेन, काउन्सिलर धनबहादुर सार्की, तमु धीं यूकेका सल्लाकार शान्तकुमार गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, बडीबिल्डर फेडेरेसन यूकेका अध्यक्ष गंगा गुरुङ, क्याप्टेन जीवनकुमार गुरुङ, शिव कल्चरका निवर्तमान अध्यक्ष विक्रम भट्टराई, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुसहित समाजसेवी एवं शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
त्यसपछि मन्त्री पौडेलले सहभागीको जिज्ञासाको जवाफ दिँदै बेलायतमा रहेका नेपालीको माग सम्बोधनमा सरकार गम्भीर भएर लाग्ने बताए । अन्त्यमा काउन्सिलर ज्ञान गुरुङले छोटो समयमा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।