यूके । ईलम पोखरी समाज यूकेका पूर्व सहायक सचिव तथा सल्लाहकार स्वर्गीय भोजराज गुरुङको अन्त्येष्टि कार्यक्रम पहिलो चरण एन्जेल फ्युनरल च्यापल हाउस साउथहलमा धर्मगुरुहरुबाट परम्परा र संस्कार अनुसार बिधिपूर्वक पूजा सम्पन्न भयो।
दोश्रो चरणमा ओग्डेन क्रिमेटोरियम, फेल्थममा बिधिपूर्बक धर्मगुरुहरुबाट धेरै आफन्त र शुभचिन्तकहरुको उपस्थितिमा अन्त्येष्टी कार्यक्रम सम्पन्न भयो।
उहाँको अन्तिम विदाईमा परिवारजन, आफन्त, समाजका अगुवाहरू र बेलायतका बिभिन्न नेपाली समुदायका सदस्यहरू ब्रिगेड अफ गोरखाजको वहांका प्रिय नम्बरीहरु र ६ गोरखा राईफल्सका अन्य शुभचिन्तकहरु उपस्थित भएका थिए ।
६४ वर्षको उमेरमा गत नोभेम्बर १० तारिक देहावसान हुनुभएका स्वर्गीय भोजराज गुरुङले समाज सेवामा लामो समयसम्म समर्पित भएर काम गरेका थिए। उनले ईलमपोखरी समाज यूकेमा रहँदा आफ्नो बुद्धि, समय र योगदानले समाजको एकता, सद्भाव र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनको नम्र स्वभाव र मार्गदर्शनले हामी सबैको हृदयमा सदैव स्मरण रहनेछ।
कार्यक्रमको संयोजन समाजका अध्यक्ष परशु गुरुङले गरेका थिए भने कार्यक्रम संचालन समाजका सचिव कुमार गुरुङले गरेका थिए ।
सो कार्यक्रममा स्वर्गीय भोज गुरुङको छोरा बिश्व गुरुङले बाबाको जीवनी बारे पढेका थिए भने भाई दिल गुरुङले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै गरी उनका नम्बरीहरुको प्रतिनिधित्व गर्दै तेज पुनले श्रद्धान्जली व्यक्त गरेका थिए ।
अन्तमा संयोजक तथा समाजका अध्यक्ष परशु गुरुंगले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै, कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुहुने सचिव कुमार गुरुङ तथा अन्त्येष्टिका सम्पूर्ण तयारीहरू सावधानीपूर्वक मिलाउने दिल गुरुङ, किरण गुरुङ र शान्ता गुरुङप्रति विशेष आभार व्यक्त गरेका थिए । उनीहरूको समर्पण र सहयोगले नै यो कार्यक्रम सम्मानजनक र सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए ।
बाग्लो उपस्थिति रहेका सम्पूर्ण महानुभावहरुले कार्यक्रमको अन्तमा स्वर्गीय भोजराज गुरुंगप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम विदाई दिइएका थिए।

