पोखरा । पत्रकार सुमन थापा सिञ्जालीमगर मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम, सेकेण्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित भएकी छिन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो । पुरस्कारसँगै उहाँलाई घलेक, नगद राशि रु १० हजार र सम्मान(पत्र प्रदान गरिएको थियो ।
कास्कीलाई कर्मथलो बनाएर विसं २०६८ देखि पत्रकारितामा सक्रिय सिञ्जालीमगरले युनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनले जननी एफएम, बिग एफएम, परिचय डटकम, गन्थन डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत सञ्चारमाध्यममा काम गरिसकेकी छिन् ।
पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गरेकी उनले रेडियो, अनलाइन र छापा पत्रकारितामा अनुभव हासिल गरेकी छिन् । हाल पनि पत्रकारितामा सक्रिय उहाँ फोनिज गण्डकी र नेपाल मगर पत्रकार सङ्घ कास्कीको कोषाध्यक्ष हुन् ।
पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान र युवा पत्रकारितामा देखाएको सक्रियताको मूल्याङ्कन गर्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले उनको नाम सिफारिस गरेको थियो । समितिमा फोनिज गण्डकीका अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन), फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य थिइन् ।
पुरस्कार ग्रहणपछि सिञ्जालीमगरले सम्मानले पत्रकारितामा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताइन् । आदिवासी जनजातिको हकअधिकार, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै ब्रिटिस गोर्खाहरूको हकअधिकार र उनीहरूमाथि हुने विभेदविरुद्ध कलम चलाउन थप जिम्मेवार बनाएको उनको भनाइ थियो । उनले पत्रकारिता यात्रामा साथ र हौसला दिने परिवार, अग्रज, सहकर्मी तथा जीवनसाथीप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले भाषा, संस्कृति, पहिचान र अधिकारका सवाल उजागर गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । उनले आदिवासी जनजाति पत्रकारलाई आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा थप सक्रिय हुन आग्रह गरिन् ।
प्रदेश सरकारले गुरुङ र मगर भाषासम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै उनले मातृभाषाको व्यावहारिक प्रयोगमा जोड दिइन् । सरकारी कार्यालय तथा सार्वजनिक क्षेत्रमा समेत मातृभाषाको प्रयोग हुनुपर्ने उनको भनाइ थियो । पुरस्कार प्राप्त गरेपछि मात्र नभई लामो समयसम्म निरन्तर पत्रकारितामा सक्रिय रहनु महत्त्वपूर्ण हुने उनले बताइन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिता क्षेत्रमा पुरस्कार स्थापना गरी योगदान पु¥याएकोमा अक्षयकोषदाता गुरुङ दम्पतीलाई धन्यवाद दिए । सानो लगानीले पनि पत्रकारिता क्षेत्रमा ठूलो योगदान पु¥याउन सक्ने उल्लेख गर्दै उहाँले अक्षयकोषमार्फत पत्रकारलाई प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि पुरस्कार तथा सम्मानले महत्त्वपूर्ण योगदान पु¥याउने बताए । पत्रकारको हकहित, संरक्षण, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघ निरन्तर क्रियाशील रहने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
पुरस्कारका अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले विभिन्न क्षेत्रमा अक्षयकोष स्थापना गर्दै आएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताए । पुरस्कार तथा सम्मानले सम्बन्धित क्षेत्रका व्यक्तिलाई प्रोत्साहन मिल्ने भन्दै उनले आगामी दिनमा अक्षयकोष वृद्धि गरी पुरस्कार राशि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगरले गरेको सो कार्यक्रममा फोनिज केन्द्रिय सचिव एमबि आस्थामगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, फोनिजका संस्थापक अध्यक्ष रुद्रबहादुर हितामगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर, लगायत अग्रज पत्रकारहरु एवं जातिय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तमु विद्यार्थी समिति कास्कीका सदस्यबाट सांस्कृतिक नृत्य प्रस्तुत समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा फोनिज कास्कीका उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव देविका तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।