बेलायत । ठकुरी समाज यूकेको आयोजनामा नेपालीहरूको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसर पारेर ’दशैँ तथा तिहार शुभकामना आदान प्रदान कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ ।
अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा आयोजित उक्त विशेष समारोहको अध्यक्षता संस्थाका अध्यक्ष रञ्जन मल्ल ठकुरी गरेका थिए भने सञ्चालन सचिव पूर्णसिंह ठकुरीले गरेका थिए । कार्यक्रममा हेल्थ एण्ड सेफ्टीका बारेमा मिडिया सेक्रेटरी उमेश चन्दले जानकारी गराएका थिए । कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुशिला मल्लले उपस्थित सम्पूर्ण पाहुना तथा सदस्यहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन् ।
त्यसलगत्तै अध्यक्ष रञ्जन मल्ल ठकुरी र प्रमुख अतिथि बयोवृद्ध महिला अम्बिका शाहीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रमको सुरुआतमा नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । त्यसपछि एक वर्षभरमा ज्यान गुमाएका समाजका आफन्तहरु, भेटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरु र पर्वतारोही निर्मल पुर्जाको सम्झना, सम्मान र चिरशान्तिको कामना गर्दै मौनधारण गरिएको थियो ।
कार्यक्रममा विभिन्न नयाँ सदस्य र नव विवाहित दम्पतिहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । विभिन्न विधामा योगदान पु¥याउने र समाजको विभिन्न तह र तप्कामा रहेर पाएका उपलब्धि, प्रमोशन भएकाहरुलाई पनि सम्मान कार्यक्रम गरिएको थियो । त्यसैगरी नेपालबाट आएका ठकुरी महासंघ नेपालका सल्लाहकार अनिल शाहीले मन्तव्य राखेका थिए ।
सम्मान कार्यक्रमपछि समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रञ्जन मल्ल ठकुरीले समाजका बारेमा जानकारी गराएका थिए । उनले प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परा जोगाइराख्न यस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्वहरूले समाजका सबै सदस्यहरूबीच आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको भावना अझ बलियो बनाउँदै संस्थाको उन्नति र प्रगतिमा नयाँ ऊर्जा थप्ने विश्वास उनले व्यक्त गरे ।
त्यसपछि कार्यक्रममा राफल ड्रको आयोजना गरी आकर्षक उपहारहरू वितरण गरिएको थियो । राफल ड्रमा उमेश चन्द र रन्जिता शाहीले राफल ड्रमा पुरस्कार प्रायोजन गर्ने ६ प्रायोजकहरुको नाम लिएर धन्यवाद दिदैं कार्यक्रम चलाएका थिए ।
त्यसलगत्तै गायिका कामना वली, गायक शक्ति चन्द र अस्मिता राना मनोञ्जन दिलाएका थिए । उनीहरुसँगै लोकल कलाकारहरु इच्छा शाही र मिलन चन्दले नृत्य प्रदर्शन गरेर माहोललाई अझ रोचक बनाएका थिए । त्यसपछि टंक शेरचनको डिजेमा सबै जना झुमेका थिए । कार्यक्रमको मिडियातर्फ फोटो तथा भिडियो तयारी गरी गोर्खा मिडियाले कभरेज गरेका थिए ।
कार्यक्रमको अन्त्यमा रात्रिभोजसहित ककटेल, डान्स र आपसी शुभकामना साटासाटसँगै कार्यसमितिका पदाधिकारी तथा सहयोगीहरूको सक्रियतामा उक्त दिनभरको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

