लन्डन । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल साताव्यापी औपचारिक भ्रमणका लागि बेलायत आएका छन् ।
सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ, जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा असोज १९ गते बेलायत आएका हुन् ।
भ्रमणको सुरुवातमा प्रधानसेनापति सिग्देलले लन्डनस्थित ह्वाइटहलको हर्स गार्ड्स एभेन्युमा रहेको ऐतिहासिक गोर्खा स्मारकमा पुगी पुष्पहार अर्पण गरे ।
बेलायती सेनामा गोर्खा सैनिकहरूले पुर्याएको अतुलनीय योगदान, वीरता र त्यागको उच्च सम्मान गर्दै उनले ‘साहसी र बहादुर (Bravest of the Brave) हरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
त्यसअघि लन्डनस्थित हिथ्रो विमानस्थलमा उनलाई बेलायतका तर्फबाट मेजर जनरल द राइट होनरेबल द लर्ड लांकास्टर अफ किम्बोल्टनले स्वागत तथा अभिवादन गरेका थिए ।
नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा विशिष्ट किसिमको मित्रता कायम रहँदै आएको छ । यो सम्बन्ध केवल कूटनीतिक दायरामा सीमित नभई एक सुदृढ रक्षा साझेदारी र बलियो जनस्तरको सम्बन्धमा आधारित छ ।
गोर्खा सैनिकहरू दुई देशबीचको यो अटुट मित्रताका प्रमुख जीवन्त कडीका रूपमा रहँदै आएका छन् ।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधानसेनापति सिग्देलको यो भ्रमणले सदियौँ पुरानो आपसी सैनिक सम्बन्धलाई थप उचाइमा पुर्याउने छ । साथै, सैनिक कूटनीति (Military Diplomacy) को माध्यमबाट नेपालको परराष्ट्र नीतिलाई थप प्रभावकारी बनाउनसमेत यसले सकारात्मक योगदान पुर्याउनेछ ।
बेलायत प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ केसीले बिदाइ गरेका थिए । प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा केसीले नै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रधानसेनापति सिग्देल भ्रमण सम्पन्न गरी असोज २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।
- भूमिराज राई