लन्डन । बेलायतको अल्डरसटस्थित वेलस्ली कम्युनिटी गार्डेनको औपचारिक उद्घाटन गरिएको छ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा शनिबार १४ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रममा रश्मोर बरो काउन्सिलका मेयर काउन्सिलर पिटर कुलम र जीआरएनसीका अध्यक्ष लिला सेलिङ माबोले गार्डेनको उद्घाटन गरेका हुन् ।
उद्घाटनअघि धार्मिक विधिअनुसार बौद्ध धर्मगुरु अमृत गुरुङ तथा हिन्दू मन्दिरका गुरु मनसुधन सापकोटाले पूजापाठ गरेका थिए । प्रमुख अतिथि मेयर पिटल कलमले यस किसिमको सामुदायिक पहलको प्रशंसा गर्दै ज्येष्ठ नागरिकहरूलाई सक्रिय, स्वस्थ र सामाजिक रूपमा जोडिराख्न सामुदायिक बगैँचाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
जीआरएनसीकी अध्यक्ष माबोले यो परियोजना संस्थाले अघि बढाएका विभिन्न सामुदायिक कार्यमध्ये एउटा ऐतिहासिक उपलब्धि भएको बताइन् । उनले गार्डेन निर्माणको अवधारणा ल्याउने पीसीएसओ दुर्गा थापा र हेथर चाक्लीप्रति विशेष आभार व्यक्त गरिन् ।

परियोजना सफल बनाउन प्रारम्भिक चरणदेखि सहयोग गर्ने क्याप्टेन (अवकाशप्राप्त) विष्णु श्रेष्ठ, ट्रस्टी क्याप्टेन (अवकाशप्राप्त) ग्यारी घले, जीडब्लूएसी–बीडब्लूओ क्याप्टेन (अवकाशप्राप्त) महेन्द्र लिम्बू, शोभा गुरुङ, दिलबहादुर थापा, स्वर्गीय फागुहाङ लिम्बू, पूर्वअध्यक्ष रामधन राई र निवर्तमान अध्यक्ष मान गुरुङलगायतलाई उनले धन्यवाद दिइन् ।
त्यस्तै, जग्गा हस्तान्तरण गर्नुअघि दूषित माटोको उपचार तथा व्यवस्थापनमा सहयोग गर्ने ग्रेनजर पीएलसी, लुसी क्रफोर्ड र उनको टोलीप्रति पनि आभार व्यक्त गरिन् । गार्डेन निर्माणका लागि फर्नबरो एयरपोर्ट फन्ड, क्यान इन्टरनेसनल, डा. बलराम ढकाल र गोविन्द बेल्वासेले अनुदान तथा सहयोग उपलब्ध गराएका थिए ।
रश्मोर बरो काउन्सिल, उपमेयर जिव बेल्वासे, पूर्वकाउन्सिलरहरू चार्ल्स चौधरी, प्रवेश केसी र नाडिया मार्टिन तथा वर्तमान काउन्सिलरहरू उत्तर गुरुङ, सोफी पोर्टर र धन सार्कीको सहयोगप्रति पनि अध्यक्ष माबोले धन्यवाद व्यक्त गरिन् ।
परियोजनाका संयोजक तथा जीआरएनसीका उपाध्यक्ष डा. विशाल गुरुङको समर्पण र मिहिनेतको प्रशंसा गर्दै उनले महासचिव लेफ्टिनेन्ट (अवकाशप्राप्त) सुनिल रानाले आवश्यक कागजी प्रक्रिया व्यवस्थापन गरेको बताइन् ।
कार्यक्रम तथा परियोजनालाई सफल बनाउन लामा गुरु (अमृत गुरुङ), पण्डित गुरु (मधुसूदन सापकोटा), विमल गुरुङ, दिलरास गुरुङ, श्रेया गुरुङ, अनिल थापा, जीआरएनसीका ट्रस्टी, सल्लाहकार, कार्यसमिति सदस्य, स्वयंसेवक तथा सहयोगी सबैप्रति उनले आभार व्यक्त गरिन् ।
त्यसैगरी, संस्थाका पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ, रोहित गुरुङ, ओम थापा काउचा र रामधन राईसहित सम्पूर्ण पूर्वअध्यक्ष, ट्रस्टी क्याप्टेन (अवकाशप्राप्त) तम ढेगा, सल्लाहकारहरू शेर सुनुवार, सन्त गुरुङ र एकेन्द्र गुरुङ, नेफिन यूकेका सल्लाहकार ज्ञाम गुरुङ, तमु धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ तथा प्रहरी सामुदायिक सहयोग अधिकृतहरूप्रति पनि धन्यवाद व्यक्त गरिएको थियो ।
अध्यक्ष माबोका अनुसार वेलस्ली कम्युनिटी गार्डेन फूल तथा बिरुवा रोप्ने स्थान मात्र नभई सामुदायिक एकता, मित्रता र सहकार्यको प्रतीक हो । यसले सबै उमेर समूहका मानिसलाई एकै ठाउँमा भेटघाट गर्ने, आराम गर्ने र प्रकृतिसँग रमाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उनले सामूहिक प्रयास, समर्पण, सामुदायिक भावना र सहयोगीहरूको उदारताबाट यो परियोजना सम्भव भएको उल्लेख गर्दै आगामी पुस्तासम्म यसले समुदायमा खुसी, मित्रता र सुन्दर सम्झनाहरू थप्ने विश्वास व्यक्त गरिन् ।
जीआरएनसीले वेलस्ली कम्युनिटी गार्डेनलाई समुदायका सबै उमेर समूहका मानिसका लागि साझा भेटघाट र मनोरञ्जनको हरियाली स्थलका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
उपाध्यक्ष डा.विशाल गुरुङले बगैंचा निर्माणको जिम्मेवारीलाई अगाडि बढाउन पाउँदा खुसी लागेको बताउँदै अल्डरसट आसपास बसोबास गर्ने नेपाली आमाबुबाको मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउनुका साथै उहाँहरूले गाउँघरमा सिकेको परम्परागत सीप र अनुभवलाई पुनः उपयोग गर्ने अवसर यस बगैँचाले प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले कार्यक्रममा उपस्थित अल्डरसटका सम्पूर्ण अग्रज व्यक्तित्वहरूलाई सम्बोधन गर्दै यस अभियानलाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरे ।

कार्यक्रम सञ्चालन जीआरएनसीका महासचिव लेफ्टिनेन्ट सुनील रानाले गरेका थिए । कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष लीला सेलिङ माबोले उपस्थित सम्पूर्ण अतिथि, धर्मगुरु, अग्रज व्यक्तित्व तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिन् ।