बेलायत | पोखरेली मञ्च यूकेको आयोजनामा गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री माननीय प्रकाश बहादुर केसीको सम्मानमा आयोजित स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शनिबार बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा भव्य एवं आत्मीय वातावरणमा सम्पन्न भएको छ।
बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, व्यवसायी, सामाजिक अभियन्ता तथा प्रबुद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा पोखराको विकास, खेलकुद प्रवर्द्धन, प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको योगदान तथा नेपाल र प्रवासी समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।
पोखरेली मञ्च यूकेका अध्यक्ष गंगा (पवित्र) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका महासचिव बिक्रम भट्टराईले गरेका थिए।
कार्यक्रमको प्रारम्भमा महासचिव भट्टराईले प्रमुख अतिथि माननीय प्रकाश बहादुर केसीको राजनीतिक तथा सामाजिक जीवन, सार्वजनिक सेवामा उनको संलग्नता र गण्डकी प्रदेशको विकासमा पुर्याउँदै आएका योगदानबारे संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।
त्यसपछि मञ्चका अध्यक्ष गंगा गुरुङले प्रमुख अतिथि केसी, उहाँकी धर्मपत्नी तथा सुपुत्रद्वय विपिन केसी र विनय केसीलाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए। तमुधिँ यूकेका अध्यक्ष जुमकाजी गुरुङले खादा लगाई गरी अतिथि परिवारप्रति सम्मान व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै तमुधिँ यूकेका अध्यक्ष जुमकाजी गुरुङले संस्थाले नेपालमा सञ्चालन गर्दै आएका सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिबारे जानकारी गराएका थिए। विशेषगरी पोखरा म्याराथनको निरन्तरता, विकास र सफलतामा तमुधिँ यूकेले गर्दै आएको नियमित सहयोग र योगदानबारे उनले प्रकाश पारे।
उनले प्रवासमा रहेका नेपाली संघसंस्थाहरूले जन्मभूमिको सामाजिक विकास र खेलकुद क्षेत्रको प्रवर्द्धनमा निर्वाह गर्दै आएको भूमिकाको महत्त्वसमेत उल्लेख गरे।
“प्रवासी नेपालीका आवाज प्रदेशसभासम्म पुर्याउने प्रतिबद्धता”
कार्यक्रमका प्रमुख अतिथि माननीय प्रकाश बहादुर केसीले आफू र आफ्नो परिवारप्रति पोखरेली मञ्च यूकेले देखाएको आत्मीयता, सम्मान र सद्भावका लागि मञ्चका अध्यक्ष गंगा गुरुङसहित सम्पूर्ण कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गरे।
उनले पोखरा तथा गण्डकी प्रदेशमा भइरहेका भौतिक पूर्वाधार विकास, सामाजिक गतिविधि, खेलकुद क्षेत्रको प्रगति र सम्भावनाबारे विस्तृत जानकारी गराउँदै आफ्नो तर्फबाट सम्भव भएसम्म सबै क्षेत्रमा सहयोग, सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
विशेषगरी पोखराको पहिचानसँग जोडिएका खेलकुद गतिविधि तथा पोखरा म्याराथनजस्ता अन्तर्राष्ट्रिय महत्त्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रवासी नेपाली संघसंस्थाहरूको निरन्तर सहभागिता र सहयोग महत्त्वपूर्ण रहेको धारणा उनले व्यक्त गरे।
माननीय केसीले बेलायतलगायत विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका समस्या, उहाँहरूका अपेक्षा, भावना तथा मातृभूमिप्रतिको आकांक्षालाई गण्डकी प्रदेशसभामा उठाउने प्रतिबद्धतासमेत जनाए।
उनले प्रवासमा रहेर पनि नेपाल र विशेषगरी पोखराको समृद्धिका लागि निरन्तर चिन्तन, सहयोग र योगदान गरिरहनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गरे।
“प्रवासी नेपालीलाई मातृभूमिले पराई नसम्झियोस्”
कार्यक्रमको अर्को विशेष आकर्षण बेलायतस्थित नेपाली समुदायका प्रबुद्ध व्यक्तित्व तथा पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङको भावनात्मक सम्बोधन रहेको थियो।
उनले नेपालमै रहेर राजनीतिक तथा सार्वजनिक सेवामा क्रियाशील व्यक्तित्वहरूको योगदानप्रति सम्मान र धन्यवाद व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूको जन्मभूमिप्रतिको माया, जिम्मेवारी र भावनात्मक सम्बन्धबारे मार्मिक विचार राखे।
विभिन्न दृष्टान्त प्रस्तुत गर्दै उनले प्रवासी नेपालीहरू भौगोलिक रूपमा मातृभूमिबाट टाढा भए पनि उनीहरुको मन, भावना र आत्मीयता सधैँ नेपालसँग जोडिएको बताए।
उनले विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो श्रम, सीप, अनुभव, स्रोतसाधन र भावनात्मक लगावमार्फत मातृभूमिको समृद्धिमा योगदान पुर्याइरहेको उल्लेख गर्दै नेपालका राजनीतिक नेतृत्व तथा राज्यका निकायहरूले प्रवासी नेपालीहरूलाई पराई नभई राष्ट्रकै अभिन्न अंगका रूपमा व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे।
उनको सम्बोधनले कार्यक्रममा उपस्थित सहभागीहरूलाई प्रवासी जीवन र मातृभूमिबीचको भावनात्मक सम्बन्धबारे थप चिन्तनशील बनाएको थियो।
“विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता”
कार्यक्रममा पोखरेली मञ्च यूकेका पूर्वअध्यक्षद्वय मानप्रसाद गुरुङ र करम गुरुङ, तमुधिँ यूकेका पूर्वअध्यक्षद्वय रामचन्द्र सूर्य गुरुङ र नन्दजंग गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ तथा सहारा यूकेका पूर्वअध्यक्ष मिन गुरुङको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी सहारा यूकेका युवा संयोजकद्वय अजय थापा र शमशेर गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा व्यवसायी दिलरास गुरुङ, व्यवसायी राज सापकोटा, सन्जु श्रेष्ठ र सुक गुरुङलगायत विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
उपस्थित व्यक्तित्वहरूले प्रमुख अतिथि तथा उहाँको परिवारसँग परिचय, शुभकामना र अनुभव आदानप्रदान गर्दै नेपाल तथा बेलायतस्थित नेपाली समुदायका विविध विषयमा अनौपचारिक छलफल गरेका थिए।
“आत्मीयता, सम्मान र सहकार्यको सन्देश”
औपचारिक कार्यक्रमसँगै सहभागीहरूबीच भएको खुला संवाद, पारिवारिक भेटघाट र विचार आदानप्रदानले कार्यक्रमलाई विशेष आत्मीय बनाएको थियो।
कार्यक्रमको समाचार संकलन गोर्खा मिडियाका सञ्चालक मिलन तमुले गरेका थिए।
फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रम सहभागीहरूबीच सामूहिक दिवाभोज तथा शुभकामना आदानप्रदानसँगै समापन भएको थियो।
पोखरेली मञ्च यूकेले बेलायतमा बसोबास गर्ने पोखरेली तथा समग्र नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्दै जन्मभूमि पोखरासँगको सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यअनुरूप यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।
शनिबारको यस भेटघाटले प्रवासमा रहेका नेपाली समुदाय र नेपालका जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद, आपसी सम्मान तथा भविष्यमा सहकार्यका सम्भावनाहरूलाई थप प्रोत्साहित गरेको सहभागीहरूको धारणा थियो।

स्रोत:पोखरेली मञ्च यूके