केन्ट । गुरुङ सोसाइटी केन्ट यूकेको पहिलो सामूहिक सांस्कृतिक प्रस्तुति कौरा–चुड्का म्युजिक भिडियो ‘रेसम सुनको जन्तर’ को प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ ।
आइतबार २५ अक्टोबर २०२६ मा केन्टको गोडमर्सम एन्ड क्रन्डल भिलेज हलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक देखि युवा तथा नानीबाबुहरूसम्म सहभागी भएर समाजको साझा उपलब्धिको खुसी मनाएका थिए ।
अध्यक्ष गोलमान गुरुङको नेतृत्वमा समाजले अघि बढाएको यस परियोजनाले मौलिक कला र संस्कृतिको संरक्षण सँगै युवा पुस्ताको प्रतिभालाई अवसर दिने उद्देश्यलाई साकार बनाएको छ ।
बेलायतमा हुर्किरहेका नानीबाबुहरूलाई आफ्नो सांस्कृतिक सम्पदा सँग जोडने यस प्रयासमा कलाकार, अभिभावक, कार्यसमिति र सदस्यहरूको सामूहिक योगदान रहेको छ ।
समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ प्रमुख अतिथि तथा सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी आशफोर्ड केन्टका अध्यक्ष मोहन लिम्बु विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङकी धर्मपत्नी कमला गुरुङको पनि उपस्थिति रहेको थियो । प्रमुख अतिथि जुमकाजी गुरुङ र अध्यक्ष गोलमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
अध्यक्ष गोलमान गुरुङ, प्रमुख अतिथि जुमकाजी गुरुङ, विशिष्ट अतिथि मोहन लिम्बु तथा पूर्वअध्यक्षहरू युवराज गुरुङ, शोभराज गुरुङ, राजदेवी गुरुङ र डोल गुरुङले संयुक्त रूपमा रिबन काटेर म्युजिक भिडियोको औपचारिक विमोचन गरेका थिए ।
महासचिव पवित्र गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा संयोजक ममता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । परियोजनाका परिकल्पनाकार, निर्देशक तथा नृत्य निर्देशक रोशन गुरुङले पनि मन्तव्य राखेका थिए ।
दिउँसो २:१५ बजे सुरु भएको काउन्टडाउनले कार्यक्रममा थप उत्साह ल्याएको थियो । आफ्नै परिवार र समाजका कलाकारहरूको मेहनत तथा प्रतिभा पर्दामा हेर्न पाउँदा उपस्थित सदस्य र अभिभावकहरूमा खुसी छाएको थियो । भिडियो प्रदर्शन पछि नानीहरूले ‘रेसम सुनको जन्तर’ गीतमै प्रत्यक्ष नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।
कलाकारहरूको मेहनत र योगदानको कदर गर्दै अध्यक्ष गुरुङले समाजको तर्फबाट सहभागी नानीबाबुहरूलाई खादा, पछ्यौरा, प्रशंसा पत्र, दक्षिणा र उपहार प्रदान गरेका थिए । निर्देशक रोशन गुरुङलाई गुरुङ परम्परा अनुसार फेटा लगाइदिएर सम्मान गरिएको थियो । नानीबाबुहरूको हौसला बढाउन सुधा गुरुङ तथा मेजर याम गुरुङको परिवारले उपहार प्रायोजन गरेका थिए ।
धन्यवाद मन्तव्यमा अध्यक्ष गुरुङले यस प्रस्तुतिलाई समाजको साझा उपलब्धि बताउँदै कलाकार, निर्माण टोली, परियोजना संयोजक, कार्यसमिति, अभिभावक, स्वयंसेवक, सहयोगी तथा उपस्थित अतिथिहरू प्रति आभार व्यक्त गरे। उनले युवा पुस्तालाई अवसर र प्रोत्साहन दिँदै भाषा, भेषभूषा, कला र संस्कृति भावी पुस्ता सम्म पुर्याउनु समाजको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
बेलायतको केन्टमा छायाङ्कन गरिएको गीतमा सागर आले र नितु पुनको स्वर तथा नितु पुनको शब्द र संगीत रहेको छ। विशाल निरौलाले संगीत संयोजन गरेका छन् भने रञ्जन राईले रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोको निर्देशन तथा नृत्य संयोजन रोशन गुरुङले गरेका हुन् ।
भिडियोको नृत्य तथा अभिनयमा कृष्णा गुरुङ, आस्मा गुरुङ, अस्मिता गुरुङ, निलु गुरुङ, महिमा गुरुङ, सुजिता गुरुङ, झम माया गुरुङ, रुबिना गुरुङ, निग्छेन गुरुङ, सोनम गुरुङ र गोलमान गुरुङको प्रमुख भूमिका रहेको छ । निर्देशक तथा नृत्य निर्देशक रोशन गुरुङ स्वयं पनि कलाकारका रूपमा प्रस्तुत भएका छन् । उनीहरू सहित समाजका अन्य कलाकारहरूको सहभागिताले प्रस्तुतिलाई आकर्षक बनाएको छ ।
वरिष्ठ उपाध्यक्ष ममता गुरुङको संयोजनमा अघि बढाइएको परियोजनालाई कार्यसमिति, कलाकार, अभिभावक तथा सदस्यहरूको निरन्तर साथले पूर्णता दिएको हो । अभ्यास देखि छायाङ्कन र प्रिमियरसम्मको सहकार्यले प्रतिभा उजागर गर्नुका साथै समाज भित्रको आत्मीयता र एकतालाई पनि थप बलियो बनाएको छ ।
पुर्खाहरूले जोगाएको कला र संस्कृतिलाई युवा पुस्ताले गीत र नृत्यमार्फत अघि बढाएको यो प्रस्तुति गुरुङ सोसाइटी केन्ट यूकेको सांस्कृतिक यात्रामा महत्वपूर्ण उपलब्धि बनेको छ ।
‘रेसम सुनको जन्तर’ ले प्रवासमा विभिन्न पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्दै सांस्कृतिक सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्ने साझा प्रयासमा नयाँ उत्साह थपेको छ ।
अध्यक्ष गोलमान गुरुङले भिडियो हेरेर लाइक, कमेन्ट र शेयर गरी कलाकारहरूको हौसला बढाउन र समाजको यस सामूहिक प्रयासमा साथ दिन सबैमा अनुरोध गरे ।