बेलायत । बेलायतको सरे काउन्टीस्थित क्याम्बरलीमा क्रियाशील नेपाली सामाजिक संस्था ‘क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके’ (सिएनजिए) स्वयंसेवी सेवाको उच्च सम्मान ‘किङ्स अवार्ड फर भोलुन्टरी सर्भिस’ सम्मानित भएको छ। राजा चार्ल्स तृतीयको जन्मदिनको अवसर पारेर संस्थालाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। यो ऐतिहासिक सफलताको खुसियालीमा संस्थाले स्याम्पेन खोलेर हर्षोल्लासका साथ उत्सव मनायो। शनिबार, १४ नोभेम्बर २०२६ मा क्याम्बरलीस्थित कोचमेन कटेज लर्निङ सेन्टरमा आयोजित एक विशेष समारोहमा संस्थाका अध्यक्ष मेजर गणेश गुरुङले अवार्ड प्राप्त भएको औपचारिक घोषणा गरेका थिए।
स्थानीय स्तरमा उत्कृष्ट स्वयंसेवी सेवा पुर्याउने संस्थालाई दिइने यो सम्मान बेलायती मानपदवी ‘एमबिई’ बराबर मानिन्छ। बेलायतको च्यारिटी कमिसनमा दर्ता भई परोपकारी काम गरिरहेको सिएनजिएले सुरुवाती दिनदेखि नै निस्वार्थ सेवा गर्दै आएको ट्रस्टी मेजर टेक गुरुङले बताए। सन् २००३ मा ‘क्याम्बरली नेप्लिज (गोर्खा) सोसाइटी’ का नामबाट यात्रा थालेको यो संस्थाले क्याम्बरली र सरेहीथ क्षेत्रका नेपाली परिवार तथा समुदायलाई एउटै सूत्रमा बाँध्दै आएको छ। नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै स्थानीय बेलायती समाजसँग घुलमिल र सहअस्तित्व बढाउने लक्ष्य बोकेको यो अभियान सन् २०२६ मा औपचारिक च्यारिटीका रूपमा दर्ता भएपछि झन् फराकिलो बनेको छ। लामो समयदेखिको सल्लाह, परामर्श र कल्याणकारी सहयोगका कारण संस्थाले स्थानीय बरो काउन्सिल, सरे काउन्टी र बृहत् बेलायती समुदायमाझ बलियो विश्वास, पहिचान र समर्थन बटुलेको छ।

सामुदायिक एकता, ज्येष्ठ नागरिकको सम्मान र स्वयंसेवामा संस्थाले पुर्याएको यही योगदानको कदर गर्दै बेलायती राजसंस्थाले सिएनजिएलाई ‘किङ्स अवार्ड’ बाट सम्मान गरेको हो। संस्थाले विशेष गरी ज्येष्ठ नागरिक, असहाय तथा जोखिममा रहेका व्यक्तिहरूको सहायता र युवापुस्ताको सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ। ज्येष्ठ नागरिकलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्न साप्ताहिक अंग्रेजी कक्षा, स्वास्थ्य सचेतना सत्र, समसामयिक विषयमा संवादसहितको ‘कफी आफ्टरनुन’ चियापान भेटघाट, हल्का व्यायाम, ध्यान तथा नजिकैका पार्क र जङ्गलमा पदयात्राजस्ता सिर्जनात्मक कार्यक्रम चलाइँदै आएको छ। त्यस्तै, युवाहरूमा सामुदायिक एकता र आत्मविश्वास जगाउन वर्षैभरि शैक्षिक एवं मनोरञ्जनात्मक गतिविधि सञ्चालन भइरहेको ट्रस्टी क्याप्टेन देव घलेले बताए।
समुदायको आवश्यकताअनुसार सिएनजिएले साताभरि नै नियमित तालिका बनाएर विविध कार्यक्रम चलाउँदै आएको छ। संस्थाका अनुसार प्रत्येक सोमबार अंग्रेजी कक्षा र मंगलबार स्थानीय पदयात्रा हुन्छ भने बुधबार सिलाइकटाइ तथा बुनाइ सिकाइन्छ। यसैगरी, बिहीबार दिउँसो सामाजिक र शैक्षिक भेलासँगै ‘ताई ची’ कक्षा सञ्चालन गरिन्छ। शुक्रबार महिला सशक्तीकरणमा केन्द्रित ‘मेनी ह्यान्ड्स’ सत्र राखिन्छ भने आइतबार बालबालिकाका लागि नेपाली कक्षा र ब्याडमिन्टन क्लब चल्छ। नियमित साप्ताहिक गतिविधिबाहेक हरेक महिनाको पहिलो शनिबार लामो दूरीको विशेष पदयात्रासमेत आयोजना गरिने आमा समूहकी अध्यक्ष तुलसी घलेले जानकारी दिइन्।
अध्यक्ष मेजर गणेश गुरुङको सभापतित्वमा सम्पन्न उक्त समारोहमा गुरुङले नै स्वागत मन्तव्य राखे भने कार्यक्रमको सञ्चालन सचिव तेज सुनुवारले गरे। सो अवसरमा ट्रस्टीहरू मेजर टेक गुरुङ, मेजर हितमान गुरुङ, क्याप्टेन देव घले, लेफ्टिनेन्ट रने गुरुङ र डा. सुजाता राना मगरका साथै आमा समूहकी अध्यक्ष तुलसी घले, उपाध्यक्ष रूपा गुरुङ र स्थानीय निकायका अधिकारीहरूको विशेष उपस्थिति थियो।
