पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका ८ घर भइ पोखरा १६ तल्लो दिप बस्दै आएकी ८९ वर्षीया हरिलक्ष्मी गुरुङको स्वास्थ्य लाभको कामना गर्दै माछापुच्छ्रे गाउँपालिका ६ भिंडाबारीमा रहेको बराह माध्यमिक विद्यालयको सांस्कृतिक विभागमा अक्षयकोष स्थापना गरिएको छ ।
हरिलक्ष्मीकी यूके बस्दै आएकी छोरी समाजसेवी माया गुरुङ, जेठा ज्वाई खेमसिंह गुरुङ र उनकी श्रीमती पूर्णसुबा गुरुङले विद्यालयको सांस्कृतिक विभागका लागि ४ लाख ५ हजार ८४ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । तमु समाज यूके आमा समुह र मर्दिखोला समाज यूके आमा समुहकी संस्थापक अध्यक्ष समेत रहेकी माया गुरुङले २ लाख ५ हजार रुपैयाँ र रिभान चौरा नत्थुप्रलाद ङेग्रो पङ्गीलामा यूके र तमु धीं यूकेका वरिष्ठ सल्लाहकार जेठा ज्वाई खेमसिंह गुरुङ दम्पतीले २ लाख ८४ रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम आइतबार पोखरा लेकसाईडस्थित कफी लुम्स कम्पनी एण्ड लाप्रा हाउस ह्याण्डीक्राफ्ट सपमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको हो । अक्षयकोषदाता माया गुरुङ, आमा हरिलक्ष्मी गुरुङ, माइली नातिनी प्रशन्न गुरुङ (माया गुरुङकी माइली छोरी) र नातिनी ज्वाई आलोक खड्काले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक सुरेश गुरुङ, सांस्कृतिक विभाग प्रमुख राजन बराल, प्लस टू संयोजक अर्जुन पौडेल, निमाबि संयोजक कृष्णराज गौतम र समाजसेवी तथा पूर्वविद्यार्थी प्रेमप्रसाद गौतमको सहभागिता रहेको थियो । कार्यक्रममा कुमारी बैंकका आरएम ज्ञानु थापाको पनि उपस्थिती रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी माया गुरुङले विद्यालयमा दिइने स्टेशनरी सामानको सट्टा फरक सोंचका साथ संस्कृतिको वृद्धिविकासमा सहयोग गरेका बताइन् । ‘स्कुलमा सबैले कापी, कमल, झोला त दिइरहेका हुन्छन् । म संस्कृति प्रेमी भएकाले मेरो मनमा संस्कृतिमा केही गर्नुपर्छ भन्ने सोंच आयो । अनि भेनासँग सल्लाह गरेर विद्यालयको सांस्कृतिक विभागमा सहयोग गर्ने भइयो,’ उनले भनीन्, ‘आमा पनि बुढी हुदैं जानुभएको छ । आमाको स्वास्थ्य लाभको कामना पनि हुने अनि फरक क्षेत्रमा सहयोग पनि हुने भनेर अक्षयकोष स्थापना गरेका हौं ।’


आफूले पढेको विद्यालयमा आमाको नाममा अक्षयकोष स्थापना गर्न पाउँला निकै खुसी लागेको उनले सुनाइन् । रकमको सम्पूर्ण अधिकार विद्यालयलाई सुम्पदै माया गुरुङले अक्षयकोषको सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । आगामी दिनमा अक्षयकोषमा रकम थप्दै जाने पनि उनले बताइन् । सोही अवसरमा उनले विगतमा पनि आफु पढेको विद्यालयमा सहयोग गरेकाे स्मरण गरिन् । उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् ।

अक्षयकोष रकम ग्रहण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेश गुरुङसहित विद्यालय परिवारले माया गुरुङ, खेमसिंह गुरुङको दम्पती, आमा हरिलक्ष्मी गुरुङलाई खादा र सम्मान पत्र प्रदान गर्दै स्वागत र सम्मान गरेको थियो । प्रअ गुरुङले ८९ वर्षीया आमा हरिलक्ष्मी गुरुङको स्वास्थ्य लाभको कामनासहित अक्षयकोषदाता माया गुरुङ र खेमसिंह गुरुङको दम्पतीलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, अक्षयकोषको सहि सदुपयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

विद्यालयका सांस्कृतिक विभाग प्रमुख राजन बरालले अक्षयकोष स्थापनापछि सांस्कृतिक कार्यक्रममा सहज हुने बताए । गायन, नृत्य र नाटक प्रदर्शनमा आवश्यक जातीय पोशाकसँगै अन्य अति आवश्यक सामान खरिद गर्न समस्या नहुने उनले सुनाए ।
कार्यक्रममा कफी लुम्स कम्पनी एण्ड लाप्रा हाउस ह्याण्डीक्राफ्ट सपले खाजाको व्यवस्था गरेको थियो । उक्त सपमा कफीको चुस्की लिदैं ह्याण्डीक्राफ्टका सामान खरिद गर्न सकिन्छ ।