पोखरा । बसाइँसराइले सुनसान बन्दै गएका गाउँमा रौनक फर्काउने र विदेश तथा सहरमा पुगेका गाउँलेलाई जन्मथलोसँग जोड्ने उद्देश्यले स्याङ्जाको सात सय कोल्मा बहाकोटमा पुस ८ गते सातौं राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । खेलकुदसँगै स्थानीय संस्कृति र ग्रामीण पर्यटन प्रवर्द्धनलाई जोडेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारासहित हुने प्रतियोगितामा करिब ५ सय जनाको सहभागिता रहने आयोजकको अनुमान छ ।
मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङका अनुसार बेलायत, अमेरिका, जापान, हङकङ, जर्मनीलगायत देशमा रहेका तथा पोखरा र काठमाडौंमा बसोबास गर्ने गाउँलेलाई आफ्नो जन्मथलोसँग जोड्न प्रतियोगिता सुरु गरिएको हो । गाउँ छाडेर विदेशिने क्रम बढ्दा बस्ती रित्तिँदै गएको र स्थानीय लोकसंस्कृति पनि लोप हुने अवस्थामा पुगेको उनले बताए । यी दुवै पक्षको संरक्षण प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
सम्पर्क मञ्चले २०७५ सालमा प्रतियोगिताको अवधारणा अघि सारेको थियो । त्यसपछि सुरु भएको कार्यक्रम अहिले वार्षिक आयोजनाका रूपमा स्थापित भएको छ । यस वर्ष खेलकुद गतिविधिलाई स्थानीय संस्कृति र पर्यटनसँग जोड्ने तयारी गरिएको छ । दौडसँगै लोकसंस्कृति प्रदर्शन र होमस्टे साँझ पनि आयोजना गरिने संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक जीतबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामार्फत ग्रामीण क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्यसमेत राखिएको छ ।
यसपटक प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा हुनेछ । खुला पुरुष र महिला २५ किलोमिटर दौड हुनेछ । खुला महिलातर्फ १० किलोमिटर र २१ वर्षमुनिका पुरुषतर्फ पनि १० किलोमिटर दौड राखिएको छ । विद्यार्थीका लागि छात्र र छात्रा छुट्टाछुट्टै ५ किलोमिटर दौड हुनेछ । ३० वर्षमाथिका महिलाका लागि लुंगी ड्रेस दौड पनि समावेश गरिएको छ ।
सबै विधाका दौड कोल्मा बराहचौरबाट सुरु हुनेछन् । त्यहीँ पुगेर प्रतियोगिता समापन हुनेछ । २५ किलोमिटरको मुख्य दौडले तीन स्थानीय तहका बस्तीलाई जोड्नेछ । यस क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थान समेटिनेछन् ।
प्रतियोगिताका विजेताका लागि विधाअनुसार पुरस्कारको व्यवस्था गरिएको छ । २५ किलोमिटर दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार रुपैयाँ पाउनेछन् । १० किलोमिटर दौडका विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विद्यार्थीतर्फ ५ किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ । ३० वर्षमाथिका महिलाको लुंगी ड्रेस दौडमा पहिलो हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि आयोजकले आवश्यक तयारी अघि बढाएको छ ।