पोखरा । सन् २०२१ मा बेलायतको वेल्समा स्थापित नेपाली भिलेज यूके (एनभीयूके) ले आफ्नो सेयर अभियानलाई नेपालमा पनि निरन्तरता दिएको छ । छोटो समयका लागि नेपाल आएका संस्थाका प्रबन्ध निर्देशक मे. खुसीमान गुरुङ एमभीओले केसी टावरमा केसी ग्रुपका किरण केसी र भावना कार्की केसीलाई एनभीयूकेको सेयर प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रमाणपत्र हस्तान्तरणका क्रममा प्रबन्ध निर्देशक गुरुङकी धर्मपत्नी मञ्जु गुरुङ, सुपुत्र प्रणय गुरुङ, प्रोजेक्ट डाइरेक्टर पिताम्बर गुरुङ, उनकी धर्मपत्नी भीमादेवी गुरुङ तथा शुभचिन्तक महेश गुरुङको उपस्थिति रहेको थियो । नेपालका एक प्रतिष्ठित व्यवसायी तथा उदाउँदो राजनीतिक नेतृत्वको विश्वास र साथ प्राप्त गर्नु संस्थाका लागि ठूलो सम्मानको विषय भएको उल्लेख गर्दै गुरुङले प्रमाणपत्र हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्तै खुसी र गौरवान्वित भएको बताए । साथै, यस परियोजनालाई सफल बनाउन नेपालका अन्य विभिन्न व्यक्तिहरूले पहिलेदेखि नै साथ दिएर ठूलो हौसला बढाएको उनले बताए ।
यसैबीच, संस्थाको भिजन, हालसम्मको प्रगति र यस ऐतिहासिक परियोजनामा सहभागी हुने अवसरबारे जानकारी गराउने उद्देश्यले पोखरा र काठमाडौँमा विशेष ब्रिफिङ कार्यक्रमको आयोजना गरिने भएको छ । जसअनुसार आगामी सन् २०२६ नोभेम्बर २० तारिख शुक्रबार बेलुका ६ बजे पोखरास्थित लेकसाइड रोडको स्ट्रिट १८ बी मा रहेको 'म्याजेस्टिक होटल' मा ब्रिफिङ कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा विद्यमान तथा भावी सेयरधनीका साथै समान सोच राख्ने साथीभाइ, सहकर्मी र चिनजानका सबै व्यक्तिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।


त्यसैगरी, आगामी सन् २०२६ नोभेम्बर २७ तारिख शुक्रबार दिउँसो काठमाडौँमा पनि एनभीयूकेको अर्को ब्रिफिङ कार्यक्रम तय गरिएको छ, जसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ । कार्यक्रमसम्बन्धी थप जानकारी वा जिज्ञासाका लागि प्रबन्ध निर्देशक खुसीमान गुरुङ (००९७७–९८२२३९३९५५) तथा प्रोजेक्ट डाइरेक्टर पिताम्बर गुरुङ (००९७७–९८१६४९४७८८) सँग सम्पर्क गर्न सकिनेछ । 'आजको लगानी, भोलिको निर्माण' र 'नेपालदेखि विश्वसम्म' भन्ने मूल मर्मका साथ अगाडि बढेको यस अभियानमा सबैको साथ र विश्वासले बेलायतमा 'सानो नेपाल' निर्माण गर्ने सपना साकार पार्न महत्वपूर्ण योगदान पुग्ने विश्वास संस्थाले लिएको छ ।


