पोखरा । सहारा क्लब पोखराले तिहार अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट साढे ११ लाख रुपैयाँ संकलन भएको छ ।
सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले क्लबले तिहार अवसरमा देउसीभैलो कार्यक्रम गरेको थियो । गत कात्तिक २२ देखि २६ गतेसम्म संचालित पाँचदिने कार्यक्रमबाट ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन भएको क्लबले जनाएको छ ।
क्लबका सहकोषाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा देउसी भैलो कार्यक्रम भएको हो । कलाकारले देउसीभैलोको मौलिक प्रस्तुत देखाएका थिए । आफ्नो अमूल्य समय, श्रम, कला, संस्कृति र सिर्जनामार्फत देउसीभैलो कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने सम्पूर्णप्रति क्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
क्लबले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले पोखरा–१७, दोबिल्लामा सहारा एकेडेमी संचालन गरेको छ । एकेडेमीमा हाल विभिन्न जिल्लाका ३० जना बालकहरु आश्रित छन् । संकलित बचत रकम बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण तथा एकेडेमी सञ्चालन र व्यवस्थापनमा उपयोग गरिने क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
क्लब अध्यक्ष केशवबहादुर थापाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि क्लबको यस मानवीय तथा सामाजिक अभियानमा निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरिएको जनाए ।