काठमाडौं । तिहारको मुख्य दिनमध्ये एक आज कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा बेलुका घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ ।
यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । लक्ष्मीपूजाका लागि बिहानैदेखि घर, आँगन, झ्याल, ढोका तथा कोठाहरू सफा गरी फूलमालाले सजाउने चलन छ ।
सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने धार्मिक विश्वासअनुसार साँझ घर आँगनदेखि पूजा कोठासम्म लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ ।
घरको मूलढोकादेखि पूजा कोठासम्म केराको सुत्लो वा माटाका पालामा दियो बालेर झिलिमिली बनाइन्छ । सन्ध्याकालमा स्नान गरी कलश, गणेश र लक्ष्मीको पूजा गरिन्छ । यस अवसरमा धनलक्ष्मी, विद्यालक्ष्मी र ऐश्वर्यलक्ष्मीलगायतको आराधना गर्ने परम्परा छ ।
पूजामा दियो, कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, गरगहना, पान र सुपारीलगायत सामग्री चढाइन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि आरती, दीपदान र मन्त्र उच्चारण गरिन्छ । त्यसपछि परिवारका सदस्यले फलफूल तथा मिठाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।
लक्ष्मीपूजासँगै आज राति घरघरमा भैलो खेल्ने परम्परा पनि छ । तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको भैलोमा सहभागी हुँदै शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
यमपञ्चकअन्तर्गत सोमबार गाईपूजा, मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ । भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम रहेको छ ।