पोखरा । डायमण्ड बुद्धिष्ट सेन्टरका संस्थापक महासचिव एवं निवर्तमान अध्यक्ष योगेश गुरुङको पहलमा सहारा एकेडेमीमा नगद सहयोग गरिएको छ ।
शुक्रबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर के.सी. मेमोरियल सहारा फुटबल एकेडेमीमा पुगेर गुरुङले ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे ।
जसमध्ये ६० हजार रुपैयाँ डायमण्ड बुद्धिष्ट सेन्टरले हालै विभिन्न देशको तीर्थयात्राका क्रममा धर्मावलम्बीहरुबाट संकलन गरेको हो । बाँकी १० हजार योगेश र उनकी धर्मपत्नी मीना गुरुङले व्यक्तिगत उपलब्ध गराएका हुन् । उक्त रकम समाजसेवी योगेशले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे । सहयोगप्रति अध्यक्ष थापाले आभार व्यक्त गरे ।
युकेस्थित डायमण्ड बुद्धिष्ट सेन्टर बर्सेनि विभिन्न देशको अन्तर्राष्ट्रिय तीर्थयात्रामा निस्कने गर्दछ । संस्थाका सदस्यहरुले गत अप्रिलमा चीन, जापान र सिंगापुर देशको तीर्थयात्रा गरेका थिए । १३ दिने उक्त यात्रामा ३१ जना सहभागी थिए ।
यस्तै, गत सेप्टेम्बर महिनामा भारतको ११ दिने भ्रमण गरिएको थियो । जसमा १७ जना सहभागी थिए । दुबै भ्रमणको नेतृत्व उनै योगेशले गरेका थिए । सेन्टरको उनी अन्तर्राष्ट्रिय भ्रमणको को–अर्डिनेटर हुन् ।
पोखरा–२२, पुम्दीभुम्दीमा जन्मिएका उनी भुम्दीकोट समाज युकेको अध्यक्ष, तमु धीं युकेको सल्लाहकार, सहारा युकेको पूर्व सल्लाहकार समेत हुन् । उनकी पत्नी मीना पनि भुम्दीकोट समाज युकेको आमा समूह अध्यक्ष हुन् ।
आफू जन्मेको माटो जहाँ गए पनि भुल्नु हुँदैन भन्ने भावना बोकेका समाजसेवी योगेशको रहेको छ । कार्यक्रममा उनले एकेडेमीका बालकहरुको उज्ज्वल भविष्यको लागि केही राम्रो होस् भनी सहयोग गरेको बताए । उनी भन्छन्, ‘लिनुभन्दा दिनुमा आनन्द छ ।’
सहारा क्लब पोखराले संचालन गर्दै आएको एकेडेमीमा हाल विभिन्न जिल्लामा ३० जना बालकहरु छन् ।
उनले भूपू खेलाडी मञ्च नेपालले बर्सेनि आयोजना गर्ने सफल पोखरा म्याराथनमा २ वटा अक्षयकोषमा स्थापना गरेका छन् । तीमध्ये एउटा यु–१५ उमेर समूहभन्दा तलका खेलाडीलाई प्रदान गर्ने गरी ७ लाख ६० रुपैयाँ बराबरको छ । अर्को, डिसयवल भएका खेलाडीलाई प्रदान गर्ने गरी ४ लाख ४७ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
साथै, तमु धिं नेपालमा स्व. आदिकवि हर्कबहादुर गुरुङ (साल्मे माइला) अक्षयकोष स्थापना गरेका छन् । साहित्यिक क्षेत्रमा योगदान दिने तमु समुदायका लागि व्यक्तिलाई तथा समाजसेवी महिलालाई उक्त अक्षयकोषको व्याजबाट पुरस्कृत गरिन्छ ।

