पोखरा । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालले पोखरामा भारतीय सेनाका गोर्खा रेजिमेन्टहरुको गौरवशाली इतिहास झल्काउने ऐतिहासिक ग्यालरी स्थापना गरेको छ ।
पोखरा महानगरपालिका–१६ दिपस्थित गोर्खा स्मारक सङ्ग्राहलयमा स्थापना गरिएको ग्यालरीको नेपालस्थित भारतीय राजदुतावासका रक्षा सहचारी कर्णेल वी सुब्रामणियमले शुक्रबार उद्घाटन गरेका हुन । कार्यक्रममा कर्णेल वी सुब्रामणियमले ग्यालरीले भारतीय सेनामा गोर्खा सैनिकले पुर्याएको ऐतिहासिक योगदान, उपलब्धि र बलिदानबारे नयाँ पुस्तालाई जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले दशकौँसम्म भारतीय सेनामा रहेर जीवनको महत्वपूर्ण समय दिएका गोर्खाहरुको योगदानबारे नेपालमा पनि नयाँ पुस्ता (जेन–जी) ले थाहा पाउनु आवश्यक रहेको धारणा राखे ।
पर्यटकीय नगरी पोखरामा पूर्वगोर्खा सैनिकका परिवार मात्र नभई ठूलो संख्यामा भारतीय तथा विदेशी पर्यटकहरु आउने भएकाले उनीहरुले पनि गोर्खा रेजिमेन्टको इतिहास बुझ्ने अवसर पाउने कर्णेल वी सुब्रामणियमले बताए । यस कार्यलाई थप प्रभावकारी बनाउन र संग्रहालयको विकासका लागि भारतीय दूतावास तथा भारतीय सेनाका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धतासमेत उनले जनाए ।
भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालको पहल तथा नेतृत्वमा सङ्ग्राहलयभित्र भारतीय आर्मी ग्यालरीलाई पूर्णता दिँदै गोर्खाली सैनिकहरुको इतिहास प्रदर्शनमा राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले जानकारी दिए । खत्रीले भने, “यसमा पहिला केही पनि थिएन, अहिले आएर हामीले ३४ वटा बटालियनको इतिहासहरु, उहाँहरुले गरेको बहादुरीता, हामीले यहाँ देखाउन खोजिरहेका छौं ।”
ब्रिटिस गोर्खा म्युजियमका ट्रस्टी तथा समितिले उपलब्ध गराएको हलमा स्थापना गरिएको ग्यालरीमा हालसम्म ३४ वटा बटालियनको इतिहास फ्रेम गरेर सजाइसकिएको अध्यक्ष खत्रीले जानकारी दिए । ग्यालरीमा सन् १८१४ देखि सुरु भएर पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध हुँदै हालसम्म गोर्खाली सैनिकहरूले भारतीय सेनामा देखाएको बहादुरी, त्याग र कीर्तिमानलाई समेटिएको उनले बताए ।