यूके । तमु प्ये ल्हु संघ युकेले रिडिङमा खरिद गरेको भवनको औपचारिक रुपमा समुदघाटन गरेको छ । गत डिसेम्बर २०२४ मा खरिद गरेको भवनलाई सामुदायीक तथा बहुउद्धेशिय भवनको रुपमा सुविधायुक्त गराउनको लागि आन्तरिक बनावटहरुमा केही हेरफेर गर्न आवश्यक मर्मत सम्भारका सबै कामहरु सम्पन्न गराएर औपचारिक रुपमा उदघाटन गरिएको हो । बेलायतका लागि नेपाली राजदुतावासका कार्यवाहक राजदुत महामहिम विपिन दुवाडी ज्युको प्रमुख आतिथ्यमा उक्त समुदघाटन कार्यक्रम सम्पन्न गरिएको थियो ।
भवन समुदघाटनको अवसरमा राम्रो तिथी मिलाएर थेबा–त्हेँ (महायज्ञ) समेत आयोजना गरिएको थियो । गत शुक्रबार ३० अक्टोबरदेखि आईतबार १ नोभेम्बरसम्म गरी तीन दिनको धार्मिक अनुष्ठान तथा प्रवचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छन् । बेलायतमा रहेका धर्मगुरुहरु र नेपालदेखि आउनु भएका धर्मगुरुहरुले सामूहिक रुपमा विभिन्न पूजा र प्रवचन गरेका थिए । पहिलो दिन ३० अक्टोबर शुक्रबार धर्मगुरुहरुद्धारा प्युरु त्हेँ र थासोँ त्हेँ सम्पन्न गराएका थिए भने प्युरु त्हेँको नेतृत्व पच्यु पैंडी चिवा यारजङ क्रोम्छे तमुले गर्नु भएको थियो भने थासोँ त्हेँको नेतृत्व क्ल्हेप्री चिवा हिरा म्होब्छे तमुले सम्हाल्नु भएको थियो । पूजाको संयोजन खेगी अध्यक्ष जीत क्रोम्छे तमुले गर्नु भएको थियो भने व्यवस्थापन संयोजनमा संघका प्रथम उपाध्यक्ष पूर्णबीर प्हच्यु तमुले भूमिका निभाएका थिए ।
दोश्रो दिनमा बिहान पच्युगुरुहरुद्धारा छ्योप त्हेँ सम्पन्न गराइएको थियो भने भवन समुदघाटन तथा प्रवचन कार्यक्रम गरिएको थियो । बेलायतका लागि नेपाली कार्यवाहक राजदुत महामहिम विपिन दुवाडीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समुदघाटन कार्यक्रममा बेलायतमा क्रियाशिल विभिन्न संघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो भने नेपाली मुलका मेयर तथा काउन्सिलरहरुलाई समेट आमन्त्रण गरिएको थियो । विभिन्न संघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत मेयर एवं काउन्सिलरहरुको बाक्लो उपस्थिति रहेको उक्त समुदघाटन कार्यक्रम निक्कै आकर्षक ढंगलाई मिलाइएको थियो ।
उक्त अवसरमा अतिथिहरुलाई भवनभित्र बनाइएको पूजास्थाल र संग्राहलयको समेत भ्रमण गराईएको थियो भने धर्मगुरुहरुद्धारा धार्मिक प्रवचन समेत गराइएको थियो । व्यक्तित्व सम्मान, मायाको चिनो प्रदान लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुलाई एक लहरमा मिलाइएको उक्त कार्यक्रमलाई प्रमुख अतिथि कार्यवाहक राजदुत विपिन दुवाडी र संघका अध्यक्ष क्या. डेम बहादुर योज तमु लगायत अन्य विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको बाहुलीबाट सामूहिक रुपमा समुदघाटन गराइएको थियो ।
त्यसैगरि तेश्रो दिनमा क्ल्हेप्री गुरुहरुद्धारा छैखुह्योँखु त्हेँ सम्पन्न गराइएको थियो जसलाई क्ल्हेप्री चिवाद्धय दान म्होब्छे तमु र चित्र सिङ कोके तमुले नेतृत्व दिएका थिए भने पच्यु पैंडी चिवा यारजङ क्रोम्छे तमु, देव गरब्ज तमु, जीत क्रोम्छे तमु र चित्र सिङ कोके तमुले धार्मिक प्रवचन दिएका थिए ।
महायज्ञको अवसरमा संघले कल्याणकारी प्रयोजन तथा थप संरचना निर्माण लगायतका विविध उद्धेश्यहरु पुरा गराउनको लागि आर्थिक दान संकलन समेत गरेका थिए भने एक लाख पाउण्ड संकलन गर्ने लक्ष्य लिएका थिए । मनकारी दाता तथा श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थेबा–त्हेँबाट हालसम्म नगद र बोल रकम गरी करिव एक लाख बीस हजार पाउण्ड संकलन गरिएको र दान दिनको लागि आगामी ३० डिसेम्बरसम्म खुल्ला राखिएको कुरा अध्यक्ष क्या. डेम बहादुर योज तमुले जानकारी गराएका छन् ।
तेश्रो दिनको समापन कार्यक्रममा तिलक तमु, शर्मिला तमु, दुर्गा तमु, नायिका लक्ष्मी तमु र स्थानीय कलाकार को प्रस्तुति पनि रहेको थियो ।




