लन्डन । तमु धीं यूकेले १७ अक्टोबरमा आयोजना गरेको आजीवन सदस्य रात्रिभोजको समीक्षा तथा आगामी ल्होछार कार्यक्रमको तयारीबारे छलफल गरेको छ ।
आइबार, १ नोभेम्बरमा आफ्नै भवन मिचेटमा बसेको बैठकले समीक्षा तथा छलफल गरेको हो । महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखे ।
लाइफ मेम्बर आजीवन सदस्य रात्रिभोजका संयोजकसमेत रहेका गुरुङले उक्त कार्यक्रम कस्तो भयो भनेर जानकारी गराए । त्यसपछि संस्थाका ट्रस्टीहरू, सदस्यहरू, पूर्वअध्यक्ष, संस्थापक अध्यक्ष, आमा समूहका सदस्य, सल्लाहकारहरूले कार्यक्रमबारे धारणा राखेका थिए ।
संस्थापक अध्यक्ष मीनप्रासद गुरुङ, ट्रस्टी सूर्य गुरुङ र एकेन्द्र गुरुङ, सल्लाहकार क्याप्टेन जीवनकुमार गुरुङ र कुमार गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, लमजुङ समाज यूकेका आमा समूह अध्यक्ष तारा गुरुङ, साउथ इस्ट रिजनल तमु धीं लन्डनका अध्यक्ष शिवकुमार गुरुङ बीईएम, साउथ इस्टकै पूर्वउपाध्यक्ष विन्दु गुरुङ, कोषाध्यक्ष दिक्पाल गुरुङ, धर्मगुरु धर्म लामा सल्लाहकार लेप्टेन कुसाङ गुरुङले कार्यक्रमबारे बोल्दै सल्लाह सुझाव दिएका थिए ।
त्यसपछि आगामी ल्होछारको तयारीबारे संस्थाका उपाध्यक्ष एवं उक्त कार्यक्रम संयोजक दिलमाया गुरुङले प्रस्तुति राखिन् । उनले पावर प्वाइन्टमार्फत जानकारी गराउँदै कामको बाँडफँटबारे पनि भनिन् ।
यसैगरी, तमु धीं यूकेको मुखपत्र ‘फ्रेंसी’बारे पनि त्यसका प्रधान सम्पादक एकेन्द्र गुरुङले जानकारी गराए । जसका लागि टिम पनि बनाइयो । फ्रेंसी हरेक वर्ष प्रकाशन हुने गरेको छ ।
त्यसपछि बाढीका लागि सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई प्रमाणपत्र गरिएको थियो । रात्रिभोजमा सम्मानित हुने सल्लाहकार जंगबहादुर गुरुङ दम्पतीलाई प्रमाण पत्र प्रदान गरियो ।
आजीवन सदस्य रात्रिभोज सफल बनाउने संयोजक परशु गुरुङ र उनकी श्रीमतीलाई अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले फेटा खादा फुलको गुच्छाले सम्मान गरेका थिए ।
अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले ले आफ्नो मन्तव्यसहित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।