यूके । सहारा युकेको १५औँ वार्षिक च्यारिटी डिनर नाइट भव्यताका साथ सम्पन्न भएको छ। २१ नोभेम्बर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका सेकेन्ड सेक्रेटरी सञ्जोग राई प्रमुख अतिथिका रूपमा सहभागी थिए। राई र उनकी धर्मपत्नी तथा मिलिटरी अट्याची ब्रिगेडियर जनरल अनुप शाह र उनकी धर्मपत्नीलाई संस्थाका अध्यक्ष, पूर्वअध्यक्षहरू र सल्लाहकारहरूले स्वागत गरे। त्यसपछि अतिथिहरूलाई पाइपरको धुनसँगै हलभित्र प्रवेश गराइएको थियो।
हल प्रवेशपश्चात् औपचारिक कार्यक्रम सुरु भयो। कार्यक्रम सञ्चालन गरेका महासचिव प्रकाश गुरुङले सहभागीहरूलाई कार्यक्रमको रूपरेखाबारे जानकारी दिँदै आसन ग्रहण गराए। साथै उनले स्वास्थ्य तथा सुरक्षा (हेल्थ एन्ड सेफ्टी) सम्बन्धी जानकारी पनि दिए। कार्यक्रमका संयोजक एवं सहारा युकेका उपाध्यक्ष क्याप्टेन पितम्बर गुरुङले स्वागत मन्तव्य राखे। लगत्तै प्रमुख अतिथि राई र सहारा युके अध्यक्ष शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।
औपचारिक सत्रपछि सांस्कृतिक प्रस्तुतिअन्तर्गत स्वागत नृत्य देखाइयो। स्थानीय कलाकार शान्ति गुरुङ र प्यारी गुरुङले स्वागत नृत्य प्रस्तुत गरे भने नेपालबाट आएकी गायिका प्रिया गुरुङले पनि नृत्य गरिन्। नृत्य प्रस्तुतिपछि सहारा युकेको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सहारा युकेका नयाँ आजीवन सदस्य (लाइफ मेम्बर) हरूलाई स्वागत गरियो। सोही अवसरमा संस्थालाई प्रायोजन तथा सहयोग गर्नेहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमकै क्रममा अवार्ड संयोजक एवं पूर्वअध्यक्ष लेफ्टिनेन्ट कुसाङ गुरुङले सहारा युके अवार्ड र सहारा स्पेसल अवार्डको घोषणा गरे। जसमा सल्लाहकार अमृत गुरुङले ‘सहारा युके अवार्ड’ प्राप्त गरे भने संस्थाकै सल्लाहकार ज्ञाम गुरुङले ‘सहारा स्पेसल अवार्ड’ पाए। दुवै जनाको जीवनी बायोग्राफी भिडियोमार्फत देखाइएको थियो।
समारोहमा बोल्दै प्रमुख अतिथि सञ्जोग राईले सबैलाई धन्यवाद दिए। सहारा युके र फुटबल गतिविधिबारे पहिले सुनेको भए पनि प्रमुख अतिथिका रूपमा सहभागी भएपछि संस्थाबारे धेरै कुरा बुझ्ने मौका पाएको उनले बताए। उनले संस्थालाई शुभकामना दिँदै भविष्यमा अझै राम्रो काम गर्दै जान आग्रह गरे। त्यस्तै अध्यक्ष शारदा गुरुङले पनि सबैलाई धन्यवाद दिँदै सहारा युकेका विषयमा आफ्ना भनाइ राखे। त्यसपछि नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय प्रिया गुरुङ र पवित्र गुरुङले मिठामिठा गीत गाएर उपस्थित सबैलाई भरपूर मनोरञ्जन गराएका थिए।
कार्यक्रमको अन्त्यतिर सूर्य गुरुङको सञ्चालनमा राफल ड्र आयोजना गरियो। प्रथम, द्वितीय र तृतीय पुरस्कार राखिएको राफल ड्रमा प्रथम पुरस्कार लामा ज्वेलर्स, द्वितीय पुरस्कार रमेश घले र तृतीय पुरस्कार पानस रेस्टुरेन्टका प्रोप्राइटर बिमल गुरुङले प्रदान गरेका थिए। राफल ड्र सकिएपछि कलाकारद्वयको गीतमा उपस्थित सबैले खुसीका साथ नाचेर रमाइलो गरे। अन्त्यमा अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी सबै, प्रायोजक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै शुभयात्राको कामनासहित कार्यक्रम समापन गरेका थिए।





