लन्डन । यूकेको ६ महिने सांगीतिक भ्रमण पूरा गरेर नेपाल फर्किन लागेकी लोकदोहोरी गायिका शर्मिला गुरुङको भव्य बिदाइ भएको छ ।
शनिबार अल्डरसटस्थित दि लन्जमा एक समारोहबिच उनको बिदाइ गरिएको हो ।
ग्रेटर रस्मुर नेप्लिज कम्युनिटी (जीआरएनसी) का अध्यक्ष लिला सेलिङ माबोको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष काउन्सिलर उत्तरबहादुर गुरुङ रहेका थिए ।
यसैगरी, सचिव सुनिल राना, केटीटी भाइखलक यूकेका अध्यक्ष हर्क गुरुङ, टो हे तमु समाज यूकेका अध्यक्ष लेप्टेन लाल गुरुङसहित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
तमु प्ये ल्हु संघ यूके आमा समूहका सचिव लक्ष्मी गुरूङले कार्यक्रम सञ्चालन गरेकी थिइन् । दीप प्रज्वलन गरेर सुरुआत भएको थियो ।
गायिका शर्मिलाले यूकेमा निमन्त्रणा गर्ने जीआरएनसी, सहयोग गर्ने गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, डीएमटी ब्यान्डका दिनेश गुरुङ, बसाइका क्रममा विभिन्न सहयोग गर्ने तमु प्ये ल्हु संघ यूकेका उपाध्यक्ष अमर गुरुङसहित आफ्ना शुभचिन्तकलाई धन्यवाद दिइन् ।
त्यसपछि सहभागीहरूले उनलाई खादा र मायाको चिनो र नगद दिएर बिदाइ गरेका थिए ।
शर्मिलालाई जीआरएनसीको निमन्त्रणमा नयाँ वर्षको अवसरमा मे महिनामा यूके आएकी थिइन् । यसबिचमा उनले यूकेका विभिन्न स्थानमा प्रस्तुति दिएर मन जित्न सफल भइन् ।