बेसीसहर । गुरुङ समुदाय तथा संस्कृतिमा आधारित पारिवारिक हास्य तथा भावनात्मक चलचित्र ‘मलाय क्रमु’ को छायांकन सम्पन्न भएको छ ।
लमजुङको बेसीसहरबाट सुरु शुभमुर्त गर्दै लमजुङ घनपोखरा र भुजुङ छायांकन गर्दै पुनः बेसीसहर फर्किएर सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको गीत छायांकनको लागि निर्माण टोली मनाङ जाने योजना बाढीका कारण बाटो अवरुद्ध भएपछि रद्द भएको हो ।
छायांकन असोज ७ गते सुरु भएको थियो । पिटर गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता खेमेन्द्र गुरुङ हुन् । चलचित्रले गुरुङ समुदायमा हजुर बाबा आमाहरूले आफ्नो सन्तानलाई आशीर्वाद दिँदा प्रचलित भनाइ ‘छोराछोरीको इच्छा बाबा–आमाले पूरा गर्छन्, बाबा–आमाको इच्छा छोरा छोरीले पुर्याउँछ’ भन्ने मान्यतामार्फत अभिभावकका अधुरा सपना, सन्तानप्रतिको अपेक्षा र पुस्ताबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरेको छ ।
पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र अभिभावकका इच्छाले सन्तानको जीवनमा पार्ने प्रभावलाई हास्य तथा भावनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै पारिवारिक सम्बन्धबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा विष्णुहरि तिमल्सिनाको छायांकन, जलन गुरुङको लोकेसन साउन्ड रेकर्डिङ, तोसित घतानेको मुख्य सहायक निर्देशन, उदित गेलालको सहायक निर्देशन, राजकुमार गुरुङको मेकअप तथा श्याम र रुपेश गुरुङको ग्याफरमा योगदान रहेको छ ।
चलचित्रमा मनोज गुरुङ, मनिका गुरुङ, धनकुमारी गुरुङ (काशी), मन्जु गुरुङ, गजेन्द्र गुरुङ, खेम जंग गुरुङ, रेशम गुरुङ, प्रतीक जंग तामाङ, बुद्धि माया गुरुङ, आयुष गुरुङ र समिर गुरुङ, मुक्त जंग गुरुङ, कामना तामाङ, देवी काशी गुरुङ, लिल काशी गुरुङ, लेख काशी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ।
छायांकनको क्रममा विविध क्षेत्रबाट चलचित्र निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने बेसीसहर र घनपोखराका स्थानीय व्यक्ति तथा समुदायप्रति निर्माण टोली सधैँ कृतज्ञ रहेको निर्माता खेमेन्द्र गुरुङले बताएका छन् ।
चलचित्रमा गीत संगीतको पाटोमा पनि विशेष ध्यान दिएको निर्माण टोलीले बताएको छ । चर्चित संगीतकार तथा गायक आर के गुरुङको कौडा गीत र लोक गीत पनि समावेश गरिएको छ । कौडा गीत ‘झलल मलाया क्रमुरी’मा आरके गुरुङ र अनु चौधरीले आवाज दिएका छन् । लोक गीत ‘डाँडा पारि डाँडा वारी’ आर गुरुङसँगै उषा गुरुङको आवाज रहेको छ । त्यस्तै गरी ‘मुर्बे लय’ बोलको गुरुङ गीतमा साजन गुरुङको शब्द संगीत, उषा गुरुङ र इच्छा गुरुङको आवाज रहेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी मङ्सिरको अन्तिमतिर लमजुङको बेसीसहरमा गरिनेछ । गुरुङ समुदाय, संस्कृति र पारिवारिक कथालाई समेटेको ‘मलाय क्रमु’ ले गुरुङ समुदायसँगै व्यापक नेपाली दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा रहेको छ।