यूके । गोर्खा तथा तिनका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको मागलाई सशक्त बनाउने उद्देश्यले CNCBG (Citizenship Continuation Campaign) ले आगामी २१ नोभेम्बर २०२६ (शनिबार) का दिन जानकारी, सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
Regd No: 1529987 रहेको उक्त संस्थाले दिउँसो १२:०० देखि ५:०० बजेसम्म मगर भवन, प्लमस्टेड (34 Kashgar Road, London, SE18 1HS) मा कार्यक्रम सञ्चालन गर्न लागेको हो। स्थानीय समुदायका प्रतिनिधिहरू, केन्द्रीय समिति तथा प्रतिनिधिहरूको सहभागिता र संयोजनमा CNCBG परिवारले आयोजना गर्न लागेको सो कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण समुदायलाई निमन्त्रणा गरिएको छ। कार्यक्रमका बारेमा थप जानकारीका लागि 07735411524 मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा संस्थाको परिचय, उद्देश्य र अभियानको कार्यक्षेत्रसँगै गोर्खा तथा तिनका सन्ततिका लागि वंशजको नेपाली नागरिकताको कानुनी, सामाजिक र भावनात्मक महत्वका विषयमा छलफल हुनेछ। त्यस्तै नेपालमा भएका गतिविधि, प्रगति र काठमाडौँ घोषणापत्र २०८३ बारे जानकारी गराइनेछ भने NDRD र KYC अद्यावधिकसम्बन्धी विवरणसमेत प्रस्तुत गरिनेछ। कार्यक्रममा आगामी रणनीति, शान्तिपूर्ण विरोध तथा दबाबमूलक कार्यक्रम, भावी योजना, कार्यतालिका र सामूहिक ऐक्यबद्धताका लागि आह्वान गरिने आयोजकले बताएको छ। सोही अवसरमा आर्थिक सहयोग र सदस्यतासम्बन्धी जानकारी तथा अपिल, सल्लाहकारहरूको स्वागत र सम्मान तथा खुला छलफल, सुझाव र प्रश्नोत्तर सत्रसमेत सञ्चालन हुनेछ।


यसैबिच, "वीरता हाम्रो पहिचान, वंशजको नागरिकता हाम्रो अभियान" भन्ने नाराका साथ CNCBG सचिवालयले सम्पूर्ण गोर्खा समुदायलाई एकताबद्ध हुन अपिल गरेको छ। आगामी डिसेम्बर ४ तारिखदेखि नेपालमा प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुन गइरहेको र उक्त अधिवेशनमा सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको सचिवालयले उल्लेख गरेको छ। गत अक्टोबर महिनामा बेलायत भ्रमणमा आएका नेपालका पर्यटनमन्त्री खडकराज पौडेल (गणेश) र राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख मनिष झाबाट उक्त विधेयकमा गोर्खाका माग समेटिने वा नसमेटिने भन्नेबारे नेपाल सरकारको धारणा बुझ्ने अवसर प्राप्त भएको अपिलमा जनाइएको छ।
नयाँ पुस्ताबाट आएको शिक्षित नेतृत्व र गोर्खाको पीडा तथा मर्म बुझेकाले सरकार गोर्खाहरूप्रति उदार हुने आशा गरिएको भए पनि सरकारी प्रतिनिधिहरूको भनाइबाट फरक सङ्केत देखिएको सचिवालयले बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने घोषित एजेन्डाअनुरूप सरकारले सबै गैरआवासीय नेपालीलाई समेट्ने गरी गोर्खाहरूलाई पनि एउटै डालोमा राखेर सम्बोधन गर्ने नीति लिन खोजेको अनुमान अभियानले गरेको छ। सोही कारण आगामी अधिवेशनमा प्रस्तुत हुने विधेयकका आधारमा सामना गर्न तथा माग सम्बोधन गराउन आवश्यक रणनीति र समाधानका उपाय खोज्न CNCBG दृढतापूर्वक तयार रहनुपर्ने सचिवालयको ठहर छ।
यो अभियान CNCBG को मात्र नभई सम्पूर्ण गोर्खा समुदायको साझा अभियान भएको स्पष्ट पार्दै सचिवालयले आजसम्म आफ्नो सम्पूर्ण शक्ति, समय र प्रयास खर्चेर माग सम्बोधनका लागि आवश्यक आधारभूमि तयार गरिसकेको जनाएको छ। झन्डै दुई तिहाइ बहुमत रहेको वर्तमान सरकारले समेत माग सम्बोधन नगरे भविष्यमा आउने अर्को कुनै सरकारबाट सहजै सम्बोधन हुने सम्भावना नदेखिएको सचिवालयले बताएको छ। त्यसैले यस साझा अभियानलाई सफल बनाउन सम्पूर्ण गोर्खा दाजुभाइ, दिदीबहिनी तथा भान्जाभान्जीहरूलाई CNCBG मा एकताबद्ध भई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग तथा समर्थन गर्न सचिवालयले अपिल गरेको छ।