बेलायत । गोर्खाज इन्टेक १९८५ को च्यारिटी फन्डका लागि स्वर्गीय नम्बरी २११६७२२० रमेश गुरुङकी धर्मपत्नी हितोमी गुरुङले ४ हजार १९० पाउन्ड स्टर्लिङ (£४,१९०) आर्थिक सहयोग प्रदान गरेकी छन् । संस्थाको सामाजिक तथा शैक्षिक अभियानलाई अगाडि बढाउन हौसला प्रदान गर्ने उद्देश्यले उनले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
सन् २००६ मा स्थापना भएको गोर्खाज इन्टेक १९८५ ले ब्रिगेड अफ गोर्खाजको २१० वर्ष लामो इतिहासमा पहिलोपटक आफ्नो ४०औँ वार्षिकोत्सव नेपालको काठमाडौंस्थित होटल सोल्टीमा भव्य रूपमा मनाएको थियो । सोही समारोहमा जन्मभूमिका लागि केही योगदान पुर्याउने पवित्र लक्ष्यसहित बचत रकमबाट अक्षयकोष स्थापना गर्ने अभियान थालिएको थियो । उक्त अक्षयकोषको ब्याज रकमबाट नेपालमा माध्यमिक शिक्षा परीक्षा (SEE) मा बोर्ड प्रथम हुने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने निर्णय संस्थाले गरेको छ ।
चेक हस्तान्तरण कार्यक्रममा सहयोगदाता हितोमी गुरुङसहित भिनाजु नन्द गुरुङ र दिदी देवी माया गुरुङ सहभागी थिए । त्यस्तै, धरान समाज बेलायतका पूर्व अध्यक्ष सूर्य मान गुरुङ, गोर्खाज इन्टेक १९८५ का अध्यक्ष लालबहादुर लिम्बू, संस्थापक अध्यक्ष शेरबहादुर सुनार, पूर्व अध्यक्ष नेपालधन राई तथा कोषाध्यक्ष धिरेन लिम्बूलगायतको उपस्थिति थियो । कार्यक्रम सफल बनाउन सांस्कृतिक सचिव तुल गुरुङ, उपाध्यक्ष सूर्य गुरुङ र महासचिव विजय गुरुङले समन्वय तथा सहजीकरण गरेको संस्थाले जनाएको छ ।
यस पुण्य कार्यमार्फत संस्थाको अभियानमा थप ऊर्जा र प्रेरणा प्रदान गरेकोमा गोर्खाज इन्टेक १९८५ परिवारले हितोमी गुरुङप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको महासचिव विजय गुरुङले बताए । साथै, संस्थाले स्वर्गीय नम्बरी रमेश गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । संस्थालाई अझ सफल, एकताबद्ध र उद्देश्यपूर्ण बनाउँदै जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्न सम्पूर्ण नम्बरी साथीहरूलाई आ–आफ्नो स्थानबाट साथ, सहयोग र योगदान पुर्याउन अनुरोध गरिएको महासचिव गुरुङले बताए ।