लन्डन । ब्रिटिश गोर्खा र उनीहरूका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरता, ऐतिहासिक पहिचान तथा अधिकार संरक्षणका लागि सक्रिय ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान (CNCBG) ले लन्डनमा विशेष जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार, २१ नोभेम्बर २०२६ का दिन प्लमस्टेडस्थित मगर भवन (34 Kashgar Road, London SE18 1HS) मा सम्पन्न कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, भूतपूर्व गोर्खा सैनिक, महिला, समाजसेवी र अभियानका शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
CNCBG का अध्यक्ष थर्क रानाको अध्यक्षता र सचिव जीतबहादुर घर्ती मगरको सञ्चालनमा कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै CNCBG का उपाध्यक्ष शोभराज गुरुङले संस्थाको परिचय, अभियानको पृष्ठभूमि र उद्देश्यमाथि प्रकाश पारे । नागरिकता निरन्तरता केवल कानुनी दस्तावेजमा सीमित विषय नभई ब्रिटिश गोर्खाहरूको इतिहास, मातृभूमिसँगको सम्बन्ध, नेपाली पहिचान र भावी पुस्ताको भविष्यसँग जोडिएको गम्भीर सवाल भएको उनले बताए । अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन विभिन्न नेपाली संघसंस्था, गोर्खा समुदाय र शुभचिन्तकबीच एकता र सहकार्य अपरिहार्य रहेको गुरुङको भनाइ थियो ।
कार्यक्रममा CNCBG का अर्का उपाध्यक्ष दलबहादुर बुढाथोकीले आफ्नो नेपाल भ्रमणका क्रममा भएका गतिविधि र अनुभव सुनाए । उनले कुपोन्डोल हाइटस्थित होटेल हिमालयमा आयोजित संगोष्ठी तथा अन्तरक्रिया, सरकारी एवं अन्य सरोकारवाला निकायसँगका छलफल र संवाद डबलीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ‘काठमाडौं घोषणापत्र २०८३’ बारे विस्तृत जानकारी दिए । घोषणापत्रपछि देखा परेका चुनौती र आगामी कार्यदिशा प्रस्तुत गर्दै बुढाथोकीले नेपाल सरकार, राजनीतिक नेतृत्व र सम्बन्धित निकायसँग निरन्तर संवाद तथा समन्वय गरेर नागरिकता निरन्तरताको मागलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।


अन्तरक्रियाका क्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नागरिकताको मुद्दा वर्तमान पुस्तामा मात्र सीमित नराखी भावी सन्ततिको पहिचान र अधिकारका रूपमा बुझ्नुपर्ने धारणा राख्दै अभियानप्रति समर्थन जनाए । गोर्खा भूतपूर्व सैनिक संघ (GAESO) साउथ इस्ट लन्डन, प्लमस्टेड शाखाका अध्यक्ष गमर थापाले गोर्खा अधिकार आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, संस्थापक पदमबहादुर गुरुङको योगदान र पेन्सन प्राप्तिका लागि गरिएका संघर्ष तथा उपलब्धिहरू स्मरण गरे । यस्तै, ब्रिटिश गोर्खा नेपाली एक्स-सर्भिसमेन एसोसिएसन (BGNESAUK) का अध्यक्ष केश बहादुर गुरुङ, ग्रिनविच गोर्खा एक्स-सर्भिसमेन एसोसिएसन (GGESA) का सचिव गम बहादुर गुरुङ र मगर संघ यूके, प्लमस्टेड शाखाका पूर्वअध्यक्ष धन थापा लगायतका वक्ताहरूले अभियानप्रति सकारात्मक धारणा राख्दै सफलताको शुभकामना दिए ।
नयाँ पुस्तालाई अभियानमा जोड्ने विषयमा पनि कार्यक्रममा विशेष चर्चा भयो । SELMAUK की सल्लाहकार देवी आलेले आफू नागरिकता निरन्तरताको कार्यक्रममा जान लागेको थाहा पाएपछि छोराछोरीले खुसी व्यक्त गरेको प्रेरणादायी पारिवारिक अनुभव सुनाइन् । उनले सम्पूर्ण अभिभावकहरूलाई आफ्ना सन्ततिसँग गोर्खाहरूको इतिहास, योगदान र नेपाली पहिचानबारे कुराकानी गर्न र युवा पुस्तालाई समेत अभियानमा जोड्न आग्रह गरिन् । साउथ इस्ट लन्डन लेडिज मगर एसोसिएसन (SELMA UK) की अध्यक्ष चन्द्रकला थापाले ब्रिटिश गोर्खाहरूको इतिहास, योगदान, पहिचान र नागरिकता निरन्तरताको महत्त्व नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको औँल्याइन् । सोही अवसरमा अध्यक्ष खर्कबहादुर पुन मगरले अभियानको प्रशंसा गर्दै निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
प्लमस्टेडमा सम्पन्न यस कार्यक्रमले बेलायतका अन्य सहर तथा नेपाली समुदायमा पनि यस्तै जनचेतनामूलक छलफल र अन्तरक्रिया आयोजना गर्न सकिने सकारात्मक सन्देश दिएको छ । विभिन्न संघसंस्थाको सहभागितालाई संस्थागत सद्भाव र ऐक्यबद्धताको आधारका रूपमा लिँदै कार्यक्रमले युवा पुस्ताको सहभागिता, संघसंस्थाबीचको समन्वय, फरक विचारप्रति सम्मान र नेपालका सम्बन्धित निकायसँगको शान्तिपूर्ण तथा निरन्तर संवादलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ । समापनका क्रममा अध्यक्ष थर्क रानाले आत्मीय स्वागत, उत्कृष्ट व्यवस्थापन र स्वादिष्ट नेपाली खानपानको प्रबन्ध मिलाउने मगर संघ प्लमस्टेड, SELMA का साउथ इस्ट मगर समुदायका महिला दिदीबहिनी तथा स्वयंसेवकहरूका साथै हलको व्यवस्था गरिदिने महादेव थापालाई CNCBG का तर्फबाट विशेष आभार व्यक्त गरे ।

जित घर्ती मगर, सचिव सिएन्सिबिजि