लन्डन, बेलायत। बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा बिहीबार, ५ अक्टोबर २०२६ मा गोर्खा समुदायका प्रतिनिधिहरूको समूह G10 र नेपाल सरकारका प्रतिनिधिबीच गोर्खाहरूको समस्या तथा अधिकारका विषयमा महत्वपूर्ण छलफल भएको छ।
नेपाली राजदूतावासको निमन्त्रणामा आयोजित उक्त बैठकमा बेलायतका लागि नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (APPG Nepal) का अध्यक्ष तथा सांसद मनिष झाले सहभागिता जनाएका थिए। बैठकमा नेपालका तर्फबाट कार्यवाहक राजदूत बिपिन दुवाडी र सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह उपस्थित थिए। त्यसैगरी G10 का तर्फबाट गोर्खा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बिहान १०:३० बजे सुरु भएको बैठक करिब दुई घण्टासम्म चलेको थियो।
बैठकका क्रममा सांसद मनिष झाले गोर्खाहरूको समस्या समाधान गर्ने विषयमा नेपाल सरकार गम्भीर रहेको जानकारी गराए। विगतका सरकार तथा सम्बन्धित निकायबाट अपेक्षित सहयोग र सम्बोधन हुन नसकेको अवस्थालाई वर्तमान सरकारले तत्कालै सच्याउन नसके पनि गोर्खाहरूको लामो समयदेखिको समस्या समाधान गर्नु वर्तमान सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारे।
बेलायतको छोटो भ्रमणका क्रममा आफूले हालसम्म पूर्वगोर्खाहरूसँग विभिन्न ६ वटा बैठक तथा भेटघाट गरिसकेको जानकारी दिँदै सांसद झाले गोर्खाहरूको अवस्था र उनीहरूले उठाउँदै आएका मागबारे चासो व्यक्त गरेका थिए।
बैठकमा G10 का प्रतिनिधिहरूले गोर्खाहरूले भोग्दै आएका विभेद, असमान पेन्सन तथा अन्य अधिकारसम्बन्धी समस्याहरू प्रस्तुत गरेका थिए।
सोही अवसरमा G10 का सदस्य तथा BGWS का अध्यक्ष मेजर (अवकाशप्राप्त) टिकेन्द्र दल देवान जेपीले गोर्खाहरूको वर्तमान अवस्था, उनीहरूका हकहित तथा अधिकारसम्बन्धी विषयहरू समेटिएको एक विस्तृत दस्तावेज सांसद झालाई हस्तान्तरण गरेका थिए।
उक्त दस्तावेजमा बेलायतको रक्षा मन्त्रालय (MOD), नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरूबीच जारी संवाद छलफल र पत्राचारका महत्वपूर्ण विवरणहरू समावेश गरिएका छन्। यसअघि पनि सोही दस्तावेज नेपालका परराष्ट्र मन्त्रीसमक्ष प्रस्तुत गरिसकिएको थियो।
पुष्पा राणा घले, धनबहादुर गुरुङ, धर्म तामाङ तथा GAESO का अध्यक्ष कृष्णकुमार राईको सहमति र समन्वयमा तयार पारिएको उक्त दस्तावेज गोर्खाहरूका माग, सरोकार र अधिकारसम्बन्धी विषयलाई आधिकारिक रूपमा अभिलेखबद्ध गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने महत्वपूर्ण पहल हो।
त्यसैगरी, विगतमा सत्याग्रह टोलीले पनि आफ्ना माग र अडानलाई पुष्टि गर्ने आधार तथा प्रमाणहरू नेपालका परराष्ट्र मन्त्रीसमक्ष पेस गरेको थियो। यी पहलहरूले गोर्खाहरूको न्याय, समानता र अधिकार प्राप्तिको अभियानमा सम्बन्धित पक्षसमक्ष तथ्य, प्रमाण र दस्तावेजसहित आफ्ना मागहरू निरन्तर प्रस्तुत हुँदै आएको स्पष्ट पार्दछ।

बैठकमा गोर्खाहरूका माग, नेपाल सरकारको भूमिका तथा आगामी दिनमा समस्या समाधानका लागि चाल्नुपर्ने कदमबारे सकारात्मक र रचनात्मक छलफल भएको सहभागीहरूले बताएका छन्। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
उल्लेखनीय छ, सांसद मनिष झा बेलायती संसदमा आफ्ना समकक्षी सांसद एलेक्स बेकरको निमन्त्रणामा बेलायत भ्रमणमा आएका हुन्। उनको यस भ्रमणलाई गोर्खाहरूको लामो समयदेखिको समस्या र मागलाई सम्बन्धित पक्षसमक्ष थप प्रभावकारी रूपमा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
कार्यक्रमको अन्त्यमा, निडर तथा निर्भीक महिला व्यक्तित्व पुष्पा घले राणाले आफ्ना स्वर्गीय पिता भरत जङ्ग राणाद्वारा लिखित पुस्तक ‘वातावरण’ सांसद झा, कार्यवाहक राजदूत दुवाडी तथा कार्यक्रममा उपस्थित अन्य विशिष्ट व्यक्तित्वहरूलाई मायाको चिनोस्वरूप प्रदान गरेकी थिइन्।
उल्लेखनीय छ कि पुष्पा घले राणा हाल युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (United Nepali Diaspora Organisation) बेलायतकी अध्यक्षसमेत हुन्।