यूके । बेलायतमा रहेर व्यवसाय तथा समाजसेवामा सक्रिय पुरन गिरी प्रतिष्ठित अन्तर्राष्ट्रिय वातावरण पुरस्कारबाट सम्मानित भएका छन् । सोमबार ब्रिटिस संसदको उपल्लो सदन ‘हाउस अफ लर्डस’ मा आयोजित विशेष समारोहमा ‘द ग्रीन अर्गनाइजेसन’ ले गिरीलाई ‘ग्रीन एप्पल इन्भाइरोन्मेन्ट अवार्ड–२०२६’ (नेस्नल सिल्भर) प्रदान गरेको हो ।
अल्डरसटस्थित वेलिङटन सपिङ सेन्टरमा वातावरण संरक्षण, स्वच्छता र दिगो विकासका क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई यो सम्मान दिइएको हो । झण्डै दुई वर्षअघि गिरीसहित नेपाली उद्यमीहरूको एउटा समूहले वेलिङटन सपिङ सेन्टर र त्यस वरपरको प्रपर्टी करिब १० मिलियन पाउण्डमा खरिद गरेको थियो । बेलायतको हाउस अफ लर्डसमा यही विधामा अन्य नेपालीले यस्तो अवार्ड प्राप्त नगरेको गिरीले बताए ।
अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै गिरीले पर्वतदेखि बेलायतसम्मको यात्रामा द ग्रीन अर्गनाइजेसनद्वारा हाउस अफ लर्डसमा आयोजित अवार्ड समारोहमा सम्मानित हुन पाउँदा अत्यन्तै खुसी र गर्व लागेको बताए । साथै, उनले कम्पनीलाई अझ अगाडि बढाउँदै उत्कृष्ट कार्य गर्ने सम्पूर्ण म्यानेजमेन्ट टिम तथा स्टाफप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।
सन् १९९४ मा स्थापना भएको ‘द ग्रीन अर्गनाइजेसन’ विश्वभर वातावरणीय क्षेत्रका उत्कृष्ट अभ्यासहरूको पहिचान, पुरस्कार र प्रवर्द्धनमा समर्पित एक अन्तर्राष्ट्रिय, स्वतन्त्र, गैर–नाफामूलक तथा गैर–राजनीतिक वातावरणीय समूह हो । पुरस्कृत गिरी अल्डरसटस्थित एम्पायर हलका सञ्चालक तथा अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्षसमेत हुन् ।
अवार्ड प्राप्त गरेपछि गिरीले सबैलाई धन्यवाद् दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, 'पर्वतदेखि बेलायतसम्मको यात्रामा आज The Green Organisation द्वारा House of Lords मा आयोजित Award Ceremony मा सम्मानित Award पाउँदा अत्यन्तै खुसी र गर्व लागेको छ। कम्पनीलाई अझ अगाडि बढाउँदै उत्कृष्ट काम गर्नुहुने सम्पूर्ण Management Team तथा Staff प्रति हार्दिक धन्यवाद ।'