पोखरा। तिहार नजिकिएसँगै पोखरा महानगरपालिकाले बजारमा प्लास्टिकजन्य फूलमाला तथा अन्य प्रतिबन्धित वस्तुको बिक्री–वितरण रोक्न अनुगमन तीव्र पारेको छ । सरकारले प्लास्टिकका फूलमालाको उत्पादन, आयात, बिक्री र भण्डारणमा रोक लगाएको भए पनि बजारमा अझै छ्याप्छ्याप्ती भेटिन थालेपछि महानगरले आफ्नो सक्रियता बढाएको हो । प्लास्टिकका मालाले वातावरणमा गम्भीर असर पार्ने र यसले स्थानीय स्तरमा फूल उत्पादन गर्ने किसानलाई समेत मार पार्ने भएकाले महानगरले यो कदम उठाएको छ ।
महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकका मालाको कारोबार रोक्न विभिन्न अभियान चलाउँदै आएको छ । यस वर्ष पनि तिहार आउनुअघि नै औपचारिक सूचना निकालेर व्यवसायीलाई यस्ता सामग्री नबेच्न सचेत गराइएको थियो । जारी सूचनाको पालना भयो वा भएन भन्ने बुझ्न महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाको टोलीले बजार निरीक्षण गरेको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर १ र वडा नम्बर २ स्थित बिन्ध्वासिनी र बगर क्षेत्रमा रहेका पसलहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा ती क्षेत्रका ९ वटा पूजासामग्री तथा झिलिङ्गा पसलमा छापा मारिएको छ । जाँचका बेला पसलमा बिक्रीका लागि राखेको पाइएको ६ हजार २८० रुपैयाँ बराबरको प्लास्टिकका माला, फूल र बेकरी सटेनिङ जफत गरेर नष्ट गरिएको छ । महानगरपालिका सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बरालले बजार अनुगमनका क्रममा प्रतिबन्धित प्लास्टिकका मालाका साथै कुनै पनि लेबल नभएका भाइमसला र हानिकारक रङ प्रयोग गरिएका झिलिङ्गासमेत फेला परेको बताइन् । नेपाल सरकारले नै प्रतिबन्ध लगाएका त्यस्ता अवाञ्छित सामग्री तत्काल नियन्त्रणमा लिएर नष्ट गरिएको उनको भनाइ छ ।


पोखरा महानगरपालिकाकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा उक्त अनुगमन टोली बजारमा खटिएको थियो । अनुगमनपछि उपप्रमुख गुरुङले प्लास्टिकजन्य कृत्रिम फूलमालाले वातावरणमा भारी प्रदूषण बढाउने भएकाले यसको किनबेचमा पूर्ण प्रतिबन्ध लगाइएको स्पष्ट पारिन् । तिहार पर्वको समयमा यस्ता वस्तुको कारोबार उच्च हुने हुनाले आफूहरूले यसपटक अनुगमनलाई विशेष प्राथमिकतामा राखेको उनले बताइन् । विगतका वर्षहरूमा व्यापारीबाट थुप्रै गुनासा र बाधाअड्चन आउने गरे पनि यसपालि त्यस्ता गुनासाहरू निकै कम देखिएको उनको दाबी छ ।
व्यवसायीहरूलाई लक्षित गर्दै उपप्रमुख गुरुङले भनिन्, ‘व्यवसायीहरूले प्रचलित कानून र तोकिएका मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्छ । वस्तुको गुणस्तर र मूल्यमा पारदर्शीता कायम गर्नुस् अनि म्याद नाघेका सामग्री र प्लास्टिकको फूलमाला पटक्कै नबेच्नुस् ।’ उनले उपभोक्तालाई पनि थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरिन् । कृत्रिम प्लास्टिकका मालाको सट्टामा आफ्नै ठाउँमा उत्पादन हुने प्राकृतिक फूलमालाको प्रयोग गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्नेमा उनले जोड दिइन् ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरेर राजपत्रमा सूचना निकालेको छ । सोही सूचनामार्फत प्लास्टिकका फूलका गुच्छा र मालाको उत्पादन, आयात, बिक्री र भण्डारण गर्न पाइने छैन भनी पूर्ण प्रतिबन्ध लगाइएको छ । यदि सरकारको यो नियमविपरीत कसैले काम गरेको भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा २२ को उपदफा ४ अनुसार १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
शुक्रबार गरिएको बजार अनुगमनको टोलीमा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जसमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगर समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराकी अधिकृत सरस्वती गिरी र महानगरको सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बराल उपस्थित थिए । यसका साथै विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूले पनि अनुगमनमा साथ दिएका थिए । महानगरले वातावरण जोगाउने, उपभोक्ताको हित रक्षा गर्ने र स्थानीय स्तरमा फूल उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि बजार अनुगमनको कामलाई निरन्तरता दिने प्रतिज्ञा गरेको छ ।