पोखरा । पोखरा बहुमुखी क्याम्पसले ४०औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा समुदायका सदस्य, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी गरी जम्मा २२० जनाको आँखा परीक्षण गरियो ।
परीक्षणका क्रममा ४० वर्षभन्दा माथिका ८० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । यस्तै, २०० जनालाई औषधि उपलब्ध गराइएको तथा चार जनामा शल्यक्रिया गर्नुपर्ने आवश्यकता पहिचान भएको थियो ।
आँखा स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रममा ५५ जनाको सहभागिता थियो । सहभागीलाई अस्पतालको तर्फबाट खाजा खर्च र जनही ५०० रुपैयाँ सहभागी खर्चसमेत उपलब्ध गराइएको थियो । हिमालय आँखा अस्पतालका दृष्टि अधिकृत गोविन्द योगी र बाह्य कार्यक्रम प्रमुख सुवास नेपाललगायतले सहजीकरण गरेका थिए ।
प्रशिक्षणमार्फत आँखा स्वास्थ्यको महत्त्व, आँखाको हेरचाह तथा दृष्टि सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन महेन्द्र रिमालले गरेका थिए । कार्यक्रमको संयोजन सञ्चालक समितिका सल्लाहकार प्रा. डा. दिलबहादुर क्षेत्रीले गरेका थिए ।
व्यवस्थापन तथा सञ्चालनमा सहयोग पुर्याउन गठित समितिमा कृष्ण प्रसाद पोखरेल, कुमारी मुना बास्तोला, नवीन नापित र भीमप्रसाद न्यौपाने थिए ।