यूके । लमजुङ समाज UK ले शनिबार, १४ नोभेम्बर २०२६ का दिन बेलायतको फार्नबोरोस्थित Samuel Cody Special Sports College परिसरमा औपचारिक तथा सांस्कृतिक कार्यक्रमसहित वार्षिक हिउँदे भेटघाट आयोजना गरेको छ। समाजकी उपाध्यक्ष माला घलेको संयोजकत्वमा अपराह्न १ बजेदेखि सुरु भएको उक्त कार्यक्रम राति करिब साढे १० बजे सम्पन्न भएको थियो।
तीन चरणमा विभाजन गरिएको कार्यक्रमको पहिलो सत्रमा सहभागीहरूबीच परिचयात्मक भलाकुसारी, अतिथि स्वागत तथा खाजानास्ताको प्रबन्ध गरिएको थियो। दोस्रो चरणको औपचारिक समारोह संस्थाका अध्यक्ष पूर्ण राज गुरुङको सभापतित्व र महासचिव कृष्ण राज गुरुङको सञ्चालनमा अघि बढेको थियो। औपचारिक कार्यक्रममा तमुधीं UK का अध्यक्ष जुमकाजी गुरुङ तथा प्रथम महिला एवं आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ प्रमुख अतिथि रहेका थिए। त्यस्तै, तमु प्ये ल्हु संघ UK का अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ, चन्द्रसुबा गुरुङ र तमु समाजकी अध्यक्ष बिन्दु गुरुङ घले विशेष अतिथिका रूपमा सहभागी थिए।
समारोहको समुद्घाटन अध्यक्ष पूर्ण राज गुरुङ, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, प्रमुख अतिथि, विशेष अतिथिहरू, लमजुङ समाज UK आमा समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी गुरुङ तथा संयोजक माला घलेले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा नेपाल र बेलायतको राष्ट्रिय गीत बजाइनुका साथै बितेको वर्षभरि निधन भएका संस्थाका सदस्यहरूको आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखे भने संयोजक घलेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन्।


कार्यक्रममा उच्च शिक्षा हासिल गरेका युवायुवतीहरूलाई संस्थाका तर्फबाट प्रशंसापत्र प्रदान गरियो। त्यस्तै, क्याम्बर्ली नेपलिज गोरखा एसोसिएसनद्वारा प्रदान गरिने CNGA COIN Award बाट सम्मानित भएका समाजका सल्लाहकार तथा ट्रष्टी क्याप्टेन देवबहादुर घले र उनकी धर्मपत्नी तुलसी घलेलाई खादा, क्रेगी र क्रमु ओढाएर सम्मान गरिएको थियो। सोही अवसरमा British Army मा कार्यरत समाजका सदस्य Warrant Officer Class 1 (WO1) यामबहादुर गुरुङलाई बेलायतका राजा चार्ल्सको जन्मोत्सवका अवसरमा बेलायती सशस्त्र बलका Senior NCO (SNCO) र Warrant Officer हरूलाई दीर्घकालीन एवं उत्कृष्ट सेवाबापत प्रदान गरिने प्रतिष्ठित Meritorious Service Medal (MSM) सैन्य पदकबाट विभूषित भएकोमा धर्मपत्नीसहित खादा र क्रेगी लगाएर सम्मान गरियो। साथै, नेपालबाट आएका गायिकाद्वय रेजिना परियार र शर्मिला गुरुङलाई पनि प्रशंसापत्र र फूलको गुच्छासहित सम्मान गरिएको थियो।
औपचारिक चरणको अन्त्यमा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, आमा समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी गुरुङ, विशेष अतिथि क्याप्टेन डेमबहादुर गुरुङ र प्रमुख अतिथि जुमकाजी गुरुङले मन्तव्य राखेका थिए भने अध्यक्ष पूर्ण राज गुरुङले अतिथि, सहयोगी र सम्मानित व्यक्तित्वहरूप्रति आभार प्रकट गर्दै औपचारिक सत्र समापन गरे। महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको तेस्रो अर्थात् सांस्कृतिक चरणमा स्थानीय बालबालिकाको नृत्य प्रस्तुतिसँगै गायिका रेजिना परियार र तमु (गुरुङ) कलाकार संघकी निवर्तमान अध्यक्ष एवं गुरुङ गीतकी ‘रानी’ का रूपमा परिचित चर्चित गायिका शर्मिला गुरुङको गायनमा सहभागीहरू नाचेर रमाएका थिए। कार्यक्रममा उपाध्यक्ष कुमार गुरुङ र महासचिव कृष्ण गुरुङले भाग्योदय चिट्टा draw सञ्चालन गरे भने राति करिब १० बजे कलाकारद्वय गुरुङ र परियारलाई उपहार र खादा लगाई बिदाइ गरिएको थियो। विविध कारणले यस पटक उपस्थिति केही कम देखिए पनि सहभागी सबैले भरपूर मनोरञ्जन लिएको वरिष्ठ उपाध्यक्ष परशु गुरुङले बताए।


