यूके । ईलमपोखरी समाज यूकेले गुरुङ समुदायको महान एवं मौलिक पर्व ल्होछारको अवसरमा आगामी १९ डिसेम्बर २०२६ शनिबारका दिन ‘ल्हु ल्होछार पार्टी–२०२६’ आयोजना गर्ने भएको छ । “त” ल्होको बिदाइ र “ल्हु” ल्होको आगमनको पावन अवसर पारेर फार्नबरोस्थित स्यामुएल कोडी स्पेशल स्पोर्ट्स कलेज (GU14 8SN) मा विविध सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमसहित उक्त उत्सव भव्य रूपमा मनाउन लागिएको हो ।
समाजका अध्यक्ष परशु गुरुङले दिएको जानकारीअनुसार कार्यक्रममा समुदायका विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्ने प्रतिभाहरूलाई सम्मान गरिनेछ । सम्मान पाउनेहरूमा जीसीएसई तथा स्नातक तह उत्तीर्ण युवायुवती, सार्जेन्टभन्दा माथिल्लो पदमा सैनिक पदोन्नति प्राप्त व्यक्तिहरू र विशेष योग्यता तथा पुरस्कार हासिल गरेकाहरू रहनेछन् ।
मनोरञ्जनतर्फ कार्यक्रममा भाग्योदय चिट्ठा, परम्परागत सोरठी नाच र स्थानीय कलाकारहरूद्वारा विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिने समाजले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘भ्वाइस अफ नेपाल सिजन ४’ को नकआउट चरणसम्म पुग्न सफल बहुमुखी प्रतिभाशाली एवं लोकप्रिय गायिका पवित्र गुरुङको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।
सार्वजनिक गरिएको प्रेस विवरणअनुसार कार्यक्रम दिउँसो १४:०० बजेदेखि राति २२:०० बजेसम्म सञ्चालन हुनेछ भने प्रचारप्रसारका लागि तयार पारिएको पोस्टरमा समय १३:०० देखि २२:०० बजेसम्म उल्लेख छ । कार्यक्रममा प्रवेशका लागि वयस्कलाई २५ पाउन्ड र ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १५ पाउन्ड टिकट शुल्क तोकिएको छ । इच्छुक सहभागीले थप जानकारी तथा टिकटको लागि अध्यक्ष परशु गुरुङ (०७४७४ ११३३३६), प्रकाश गुरुङ (०७४२७ ०८६८६८), कुमार गुरुङ (०७५३३ १५५७६३), शिवराम गुरुङ (०७५६१ ४४२५५३) तथा मोती प्रसाद गुरुङसँग सम्पर्क गर्न सक्नेछन् ।
ल्होछार गुरुङ जातिको आफ्नै विशेष र पवित्र पर्व भएकाले यसलाई मनाउने अवसर पाउनु स्वयंमा गर्वको विषय भएको अध्यक्ष परशु गुरुङले बताए । मानव जीवनको कुनै निश्चितता नभएको र भोलि के हुन्छ भन्ने कसैलाई थाहा नहुने यथार्थलाई मनन गर्दै आजको अवसरमा सबै एकजुट भएर खुसी साट्नुपर्नेमा उनले जोड दिए । समुदायका सबैको हार्दिक उपस्थितिले नै कार्यक्रमलाई विशेष, यादगार र सफल बनाउने भएकाले सम्पूर्ण महानुभावहरूलाई सहभागी हुन उनले हृदयदेखि नै निमन्त्रणा गरेको बताए ।