समाजमा, घरपरिवारमा वा साथीभाइसँग हामी प्रायः छलफल गर्न नचाहने विषय हो मृत्यु । मृत्युको कुरा गर्दा मन भारी हुन्छ । त्यसैले हामी यस विषयबाट टाढिन खोज्छौँ ।
तर सत्य यही हो । मृत्यु जीवनको अन्तिम र अवश्यंभावी सत्य हो । यो कसैलाई खबर गरेर आउँदैन । न त कसैसँग सम्झौता गर्छ । एक दिन हामी सबैले भोग्नै पर्छ ।
मृत्युको बारेमा कुरा गर्नु भनेको जीवनलाई अझ गहिरो रूपमा बुझ्ने अवसर हो । मृत्यु निश्चित छ । त्यसैले हामीसँग भएको समय, सम्बन्ध, प्रेम र मानवीयतालाई अझ अर्थपूर्ण बनाउनुपर्छ ।
मृत्युको कुरा गर्नु जीवनलाई निराश बनाउनु होइन । बरु जीवनको मूल्य सम्झनु हो ।
म आफै पनि मृत्युको नजिक धेरै पटक पुगेको छु । सन् १९९७ मा पोखरामा भएको मोटरसाइकल दुर्घटना, सन् १९९९ मा स्टोनहेन्ज नजिक भएको कार दुर्घटना, सन् २००३ मा सिएरा लियोनमा भएको जीप दुर्घटना र सन् २०१२ मा पबब्राइट रोडमा भएको कार दुर्घटना ।
मेरो कुनै पनि गाडी दुर्घटनापछि मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेनन् । सबै ध्वस्त भए । सिएरा लियोनको दुर्घटना त मेरो जीवनमा ‘नियर-डेथ एक्सपिरियन्स’ अर्थात् मृत्युको अत्यन्त नजिक पुगेको अनुभव थियो ।
मसँगै गाडीमा रहेका कुल, सुनिल र दललाई सोध्नु भए पनि हुन्छ । गाडीको अवस्था हेर्दा हामी चारै जना जीवित छौँ भनेर कसैले अनुमानसमेत गर्न नसक्ने स्थिति थियो ।
त्यो घटनाबाट मैले जीवनको एउटा नयाँ अनुभव पाएँ । धेरै मानिसलाई भित्रैदेखि चिन्ने मौका पाएँ । मान्छे भएर पनि व्यक्तिगत स्वार्थका लागि मात्र हिँड्नेहरूलाई पनि चिन्ने अवसर मिल्यो ।
त्यही घटनामा हामी चार भाइलाई मानवीय हिसाबले साथ दिएर हाम्रो हेरचाह गर्नुहुने सार्जेन्ट ललित गुरुङलाई मैले कहिल्यै बिर्सेको छैन । उहाँ अहिले लेफ्टिनेन्ट कर्णेल भएर सेवामै हुनुहुन्छ ।
दुःखमा तपाईंसँग थोरै मात्र मानिस छेउमा बस्छन् ।
मेरो जीवनको उत्कृष्ट समयमा धेरै साथी थिए । तर समस्याको चरम बिन्दुमा पुग्दा कहिल्यै मेरो साथ नछोड्ने दुई जना थिए । गिरी गुरुङ (दाह्रे) र राजु राना । अरू त मौसमी हुन् । तर, काम पर्दा सबै काम लाग्छन् ।
म मृत्युको कुरा गर्दै थिएँ । विषय कता पो घुमेछ !
मेरो आफ्नै अनुभवका कारण मृत्युबाट खासै डर लाग्दैन । बरु, धेरैलाई मन नपर्ने यो विषयलाई नै कोट्याएर पाठकहरूलाई बोझिलो वा बोरिङ नलाग्ने गरी सहज वातावरणमा मृत्युबारे कुरा गर्न चाहन्छु ।
पूर्वीय र पश्चिमी मुलुकहरूमा मृत्युबारे बुझाइमा केही फरक पाइन्छ । धार्मिक आस्था राख्ने मानिसहरूको दृष्टिकोणमा पनि स्वाभाविक रूपमा भिन्नता हुन्छ ।
म धेरैको मलामी गएको छु । आर्यघाट र अन्य ठाउँमा धेरै शव जलाएको देखेको छु । तर, मलाई कहिल्यै यस्तो लाग्दैन कि एक दिन मेरो पनि हालत त्यही हुनेछ ।
मृत्यु हामी अरूकोमा देख्छौँ । आफ्नै मृत्यु कहिल्यै महसुस गर्दैनौँ । सायद त्यसैले हाम्रो भित्र लोभ, क्रोध र ईर्ष्याको प्रगाढ खानी पैदा भइरहेको हुन्छ ।
यसलाई यसरी बुझौँ,
चार भिन्न बुझाइ:
१. शरीर नै सबैथोक हो
मान्छेको शरीर भौतिक पदार्थ हो । जन्म सुरुवात हो र मृत्यु समापन । मानिस मरेपछि उसको शरीर गाडिन्छ वा जलाइन्छ अनि सबै समाप्त हुन्छ ।
यो आधुनिक भौतिकवादीहरूको एउटा प्रमुख मान्यता हो । प्राचीन पूर्वीय दर्शनका प्रसिद्ध दार्शनिक ऋषि चार्वाकलाई पनि भौतिकवादी र नास्तिक दर्शनका प्रवर्तक मानिन्छ । उहाँको विचार र सिद्धान्तलाई चार्वाक दर्शन वा लोकायत दर्शन (Lokayata Philosophy) भनिन्छ ।
चार्वाक दर्शनका मुख्य सिद्धान्तहरूमा प्रत्यक्ष प्रमाणलाई मात्र मान्यता दिने दृष्टिकोण, भौतिकवाद (Materialism), सुखवाद (Hedonism) तथा वेद र कर्मकाण्डको विरोध पर्छन् ।
चार्वाक दर्शनसँग जोडिएको चर्चित पङ्क्ति छ:
“यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः॥”
अर्थात्: जबसम्म बाँचिन्छ, सुखले बाँचौँ; ऋण गरेर भए पनि घिउ पिऔँ । मृत्युपछि यो शरीर नष्ट हुन्छ, त्यसैले अर्को जन्मको चिन्ता नगरी यही जीवनलाई आनन्दमय बनाउनुपर्छ ।
२. मान्छे शरीर र मन हो
मान्छे भौतिक पदार्थ मात्र होइन । ऊ शरीर र मन हो । शरीरभित्र मस्तिष्क हुन्छ र मस्तिष्कसँगै चेतना तथा मानसिक प्रक्रियाहरू जोडिएका हुन्छन् ।
शरीर मरेपछि मन पनि समाप्त हुन्छ ।
धेरै पश्चिमी दार्शनिक तथा वैज्ञानिक दृष्टिकोणहरूलाई यस अवधारणासँग सम्बन्धित गरेर बुझ्न सकिन्छ ।
३. शरीर, मन र आत्मा
मान्छे भनेको शरीर, मन र आत्माको संयोजन हो । शरीर र मनलाई आत्माले जोडेको हुन्छ । यही अवधारणामा पुनर्जन्मको सिद्धान्त आधारित छ ।
शरीर मर्छ, मन पनि मर्छ; तर आत्मा अमर रहन्छ । त्यसैले मृत्यु भएपछि आत्मा नयाँ नयाँ शरीरमा प्रकट हुने क्रम जारी रहन्छ । यसरी जीवनचक्र चलिरहन्छ ।
यो अवधारणा हिन्दू, जैन र सिख धार्मिक परम्परासँग सम्बन्धित छ । केही बौद्ध परम्परामा पनि पुनर्जन्मको धारणा पाइन्छ तर त्यसको दार्शनिक आधार हिन्दू अवधारणाभन्दा फरक छ ।
४. आनत्मा
चौथो अवधारणा अझ रोचक छ ।
मान्छे शरीरमा छ, तर ऊ शरीर मात्र होइन । मान्छेभित्र मस्तिष्क पनि छ तर ऊ मन मात्र होइन । ऊ आत्मा मात्र पनि होइन ।
बौद्ध दर्शनमा स्थायी आत्माको अवधारणालाई स्वीकार गरिँदैन । यसलाई अनात्मा (Anatta) भनिन्छ । अन्तिम रहस्य शून्यतासँग जोडिन्छ ।
यसलाई प्याजका पत्रहरूसँग तुलना गर्न सकिन्छ । एउटा एउटा पत्र छुट्याउँदै जानुस्; अन्त्यमा स्थायी रूपमा समात्न मिल्ने कुनै ठोस ‘म’ बाँकी रहँदैन ।
अब ‘अनात्मा’ बारे केही चर्चा गरौँ ।
अनात्मा भनेको के हो ?
बौद्ध दर्शनमा अनात्मा भनेको मानिसभित्र कुनै स्थायी, अपरिवर्तनशील र स्वतन्त्र आत्मा छैन भन्ने सिद्धान्त हो । यसको अर्थ ‘मानिस अस्तित्वमै छैन’ भन्ने होइन ।
हामी सामान्यतया भन्छौँ:
“यो मेरो शरीर हो ।
यो मेरो मन हो ।
यो म हुँ ।
मेरो एउटा स्थायी आत्मा छ ।”
तर बुद्धको विश्लेषणमा हामीले ‘म’ भनेर समातेको कुरा निरन्तर परिवर्तन भइरहेका विभिन्न प्रक्रियाहरूको समूह हो ।
बौद्ध दर्शनले यसलाई पाँच स्कन्ध (पञ्चस्कन्ध) मार्फत व्याख्या गर्छ:
रूप: शरीर तथा भौतिक पक्ष
वेदना: सुख, दुःख वा तटस्थ अनुभूति
संज्ञा: पहिचान गर्ने, चिन्ने र बुझ्ने प्रक्रिया
संस्कार: इच्छा, प्रवृत्ति, मानसिक प्रतिक्रिया तथा कर्मसम्बन्धी संरचना
विज्ञान: चेतनाको प्रवाह वा कुनै विषयको अनुभूति हुने प्रक्रिया
यी पाँचवटै परिवर्तनशील छन् । त्यसैले बुद्धले यीमध्ये कुनै एउटालाई पनि “यो नै स्थायी म हुँ” भनेर समात्नु उचित हुँदैन भन्नुभयो ।
एउटा उदाहरण:
बाल्यकालको तपाईं र अहिलेको तपाईंलाई सम्झनुहोस् ।
बाल्यकालको शरीर अहिले उस्तै छैन ।
विचारहरू परिवर्तन भएका छन् ।
रुचि र भावनाहरू परिवर्तन भएका छन् ।
सम्झनाहरू पनि परिवर्तन भइरहन्छन् ।
चेतनाका अनुभवहरू पनि निरन्तर बदलिन्छन् ।
तर हामी भन्छौँ ।
“त्यो म थिएँ, अहिले पनि म नै हुँ ।”
बौद्ध दर्शनले यहाँ एउटा प्रश्न गर्छ:
यदि शरीर, भावना, विचार, धारणा र चेतना सबै परिवर्तन भइरहेका छन् भने यी सबैभन्दा अलग बसेको एउटा स्थायी ‘म’ कहाँ छ?
यही खोजबाट अनात्माको अवधारणा बुझ्न सकिन्छ ।
तर यहाँ एउटा महत्वपूर्ण कुरा छ ।
अनात्मा भनेको ‘आत्मा छैन’ भन्ने मात्र नास्तिक निष्कर्ष होइन ।
बुद्धको शिक्षाको मुख्य उद्देश्य ‘आत्मा छ कि छैन?’ भन्ने दार्शनिक बहस जित्नु मात्र थिएन । यसको उद्देश्य ‘म’ र ‘मेरो’ भन्ने आशक्तिबाट दुःख कसरी उत्पन्न हुन्छ र त्यसबाट कसरी मुक्त हुने भन्ने कुरा देखाउनु थियो ।
उदाहरणका लागि:
“यो मेरो शरीर हो ।”
शरीर बदलिन्छ । त्यसबाट डर र दुःख उत्पन्न हुन्छ ।
“यो मेरो विचार हो ।”
विचार बदलिन्छ । त्यसबाट द्वन्द्व र दुःख उत्पन्न हुन्छ ।
“म यस्तो व्यक्ति हुँ ।”
परिस्थिति बदलिन्छ । त्यसबाट अहंकार, निराशा वा पीडा उत्पन्न हुन सक्छ ।
जब मानिसले शरीर, भावना, विचार र चेतनालाई अनित्य र अनात्म भनेर प्रत्यक्ष बुझ्न थाल्छ, आशक्ति कमजोर हुँदै जान्छ । यही बोध मुक्ति अर्थात् निर्वाणतर्फ जाने मार्गसँग सम्बन्धित छ ।
पुनर्जन्मसँगको सम्बन्ध
यहाँ पनि एउटा स्वाभाविक प्रश्न आउँछ:
“यदि स्थायी आत्मा नै छैन भने पुनर्जन्म कसको हुन्छ?”
बुद्ध उत्तरमा एउटै आत्मा एउटा शरीरबाट अर्को शरीरमा सर्छ भन्ने होइन । बरु कर्म, तृष्णा र अन्य कारण, सम्बन्धहरूको निरन्तरताबाट पुनर्भव हुन्छ ।
यसलाई एउटा दियोबाट अर्को दियो बाल्नुसँग तुलना गरिन्छ ।
पहिलो दियोको ज्योति नै जस्ताको तस्तै दोस्रो दियोमा ‘सरेको’ पनि होइन, र दोस्रो दियोमा पूर्ण रूपमा असम्बन्धित नयाँ कुरा मात्र उत्पन्न भएको पनि होइन । त्यहाँ कारण सम्बन्धको निरन्तरता छ ।
त्यसैले,
हिन्दू अवधारणा:
आत्मा - शरीर परिवर्तन - अर्को जन्म
बौद्ध अवधारणा:
स्थायी आत्मा छैन - कर्म, तृष्णा र कारणहरूको निरन्तरता - पुनर्भव
यही कारणले बौद्ध पुनर्जन्मको सिद्धान्त र हिन्दू आत्माको पुनर्जन्मसम्बन्धी सिद्धान्त बाहिरबाट मिलेजस्तो देखिए पनि दार्शनिक रूपमा निकै फरक छन् ।
अन्त्य होइन, जीवनको बोध ।
उत्पन्न हुनु, नष्ट हुनु, फेरि उत्पन्न हुनु र फेरि नष्ट हुनु । हो, यही नै संसारको मूल स्वभाव हो ।
जन्म र मृत्यु, सृजना र संहार यी अस्तित्वका मूल चरित्र हुन् । चाहे जीवको कुरा गरौँ वा निर्जीव पदार्थको ।
मृत्यु छ । त्यसैले जीवन छ ।
अन्त्य छ । त्यसैले सुरुवात छ ।
मृत्युसँग डराएर जीवन बिताउनु आवश्यक छैन । मृत्युको बोधसहित जीवन जिउनु आवश्यक छ ।
मृत्यु बिग्रिएको घडी होइन । त्यसले कहिल्यै आफ्नो समय भुल्दैन । समय पूरा भएपछि आएरै छाड्छ ।
त्यसैले मृत्युको प्रतीक्षा होइन । मृत्युको बोधसहित जीवनको प्रत्येक क्षणलाई सचेत भएर जिउनु नै महत्वपूर्ण हो ।