मानिसको जीवन केवल धन कमाउनु, राम्रो पेसा गर्नु वा सामाजिक प्रतिष्ठा हासिल गर्नु मात्र होइन। जीवन एउटा सुन्दर यात्राजस्तै हो, जहाँ सम्बन्ध, पेसा, रुचि, स्वास्थ्य, मनको शान्ति, सामाजिक योगदान र आत्मिक चेतनाले आआफ्नो भूमिका खेलिरहेका हुन्छन्।
हामीमध्ये धेरैजसो मानिस जीवनको कुनै एउटा पक्षलाई बलियो बनाउन धेरै मेहनत गर्छौँ, तर अरू पक्षलाई बेवास्ता गरिरहेका हुन्छौँ। कोही पेसामा सफल हुन्छ तर परिवार र सम्बन्धका लागि समय दिन सक्दैन। कोही आर्थिक रूपमा सम्पन्न हुन्छ तर शारीरिक वा मानसिक रूपमा स्वस्थ हुँदैन। कोही सामाजिक रूपमा सक्रिय हुन्छ तर आफ्नो भित्री शान्ति र आध्यात्मिक पक्षलाई बिर्सिरहेको हुन्छ।
त्यसैले जीवनलाई साँच्चिकै सफल बनाउन जीवनका सात आयामहरूबीच सन्तुलन कायम गर्नु आवश्यक छ। यसका लागि यी आयामहरूलाई बुझ्नु मात्र पर्याप्त हुँदैन; प्रत्येकलाई दैनिक जीवनमा सानो सानो अभ्यासका रूपमा उतार्नु आवश्यक हुन्छ।
१. सम्बन्ध : आफ्ना मानिसका लागि समय
मानिस सामाजिक प्राणी हो। परिवार, जीवनसाथी, छोराछोरी, साथीभाइ तथा आफन्तसँगको राम्रो सम्बन्धले जीवनमा आत्मीयता प्रदान गर्छ।
धेरै सम्पत्ति भएर पनि यदि आफ्ना मानिससँग प्रेम छैन भने जीवन अधुरो महसुस हुन सक्छ। त्यसैले सम्बन्धलाई समय दिनु, एक अर्कालाई बुझ्नु, सम्मान गर्नु, क्षमा गर्न सिक्नु र आवश्यक पर्दा साथ दिनु अत्यन्त महत्त्वपूर्ण छ।
दैनिक अभ्यास: हरेक दिन कम्तीमा केही समय आफ्ना प्रियजनसँग मोबाइल र अन्य व्यस्तताबाट टाढा रहेर कुरा गर्ने। कसैलाई धन्यवाद दिने, प्रशंसा गर्ने वा “तपाईं मेरो लागि महत्त्वपूर्ण हुनुहुन्छ” भन्ने भावना व्यवहारबाट व्यक्त गर्ने। दिनको अन्त्यमा आफूले आज कसैसँग राम्रो व्यवहार गरेँ कि गरिनँ भनेर एकपटक सोच्ने।
२. पेसा : आजभन्दा राम्रो बन्ने प्रयास
पेसा हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा हो। यसले आर्थिक आवश्यकता पूरा गर्नुका साथै हाम्रो क्षमता र सीप प्रयोग गर्ने अवसर पनि दिन्छ।
आफूले गर्ने कामप्रति जिम्मेवार, इमानदार र समर्पित हुनु आवश्यक छ। तर पेसागत सफलताको खोजीमा आफ्नो व्यक्तिगत जीवनलाई पूर्ण रूपमा उपेक्षा गर्नु पनि उचित हुँदैन।
दैनिक अभ्यास: हरेक बिहान आज पूरा गर्नुपर्ने २ - ३ वटा महत्त्वपूर्ण काम पहिचान गर्ने। आफ्नो काममा कम्तीमा एउटा नयाँ कुरा सिक्ने वा कुनै सीप सुधार्ने प्रयास गर्ने। काम सकिएपछि काम र व्यक्तिगत जीवनबीच स्पष्ट सीमा राख्ने र आफूलाई आवश्यक विश्राम दिने।
३. रुचि : आफूलाई मन पर्ने कामका लागि समय
दैनिकीको काम र जिम्मेवारीबीच आफूलाई मन पर्ने कामका लागि समय निकाल्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। संगीत, साहित्य, लेखन, चित्रकला, यात्रा, खेलकुद, बगैँचा, अध्ययन वा अन्य कुनै सिर्जनात्मक गतिविधि हाम्रो रुचि हुन सक्छ।
रुचिले जीवनमा नयाँ ऊर्जा र सिर्जनशीलता ल्याउँछ। यसले हामीलाई केवल जिम्मेवारी पूरा गर्ने मानिस नभई आफ्नो जीवनको आनन्द लिन सक्ने मानिस बनाउँछ।
दैनिक अभ्यास: हरेक दिन कम्तीमा १५ - ३० मिनेट आफ्नो रुचिको कामका लागि छुट्याउने। किताब पढ्ने, संगीत सुन्ने, लेख्ने, चित्र बनाउने, वाद्ययन्त्र बजाउने, हिँड्ने वा आफूलाई आनन्द दिने कुनै सिर्जनात्मक काम गर्ने।
रुचिका लागि छुट्याइएको समय समयको बर्बादी होइन। त्यो जीवनमा रंग भर्ने समय हो।
४. शारीरिक स्वास्थ्य : शरीरलाई दैनिक चलायमान राख्ने
स्वस्थ शरीरबिना जीवनका अन्य उपलब्धिहरूको आनन्द लिन कठिन हुन्छ। त्यसैले नियमित व्यायाम, सन्तुलित भोजन, पर्याप्त निद्रा, आराम र स्वास्थ्यप्रति सचेत जीवनशैली आवश्यक हुन्छ।
शरीरलाई माया गर्नु भनेको केवल रोगबाट बच्नु होइन। दैनिक जीवनलाई ऊर्जाशील र सक्रिय बनाउनु पनि हो।
दैनिक अभ्यास: हरेक दिन आफ्नो क्षमताअनुसार केही समय हिँड्ने वा व्यायाम गर्ने। पर्याप्त पानी पिउने, भोजनमा सन्तुलन कायम गर्ने र अनावश्यक खानेकुरामा नियन्त्रण गर्ने। राति पर्याप्त निद्राका लागि नियमित समय बनाउने। लामो समयसम्म बस्नुपर्ने भए बीच बीचमा उठेर शरीर चलाउने।
स्वास्थ्य हाम्रो जीवनको आधार हो। त्यसैले यसको हेरचाह भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानी हो।
५. मानसिक स्वास्थ्य : मनलाई पनि विश्राम दिने
शरीर स्वस्थ हुनु जत्तिकै मन स्वस्थ हुनु पनि आवश्यक छ। तनाव, चिन्ता, निराशा, असन्तुष्टि र लगातारको दबाबले हाम्रो जीवनका अन्य पक्षलाई समेत प्रभावित गर्न सक्छ।
आफ्ना भावनालाई बुझ्ने, आवश्यक पर्दा अरूसँग कुरा गर्ने, पर्याप्त आराम गर्ने र आफूलाई स्वीकार गर्न सिक्ने कुरा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छन्।
दैनिक अभ्यास: हरेक दिन केही मिनेट शान्त भएर आफ्नो मनको अवस्था बुझ्ने। “आज मलाई कस्तो महसुस भइरहेको छ?” भनेर आफैँलाई प्रश्न गर्ने। गहिरो श्वास लिने, केही समय मौन बस्ने वा प्रकृतिमा हिँड्ने। आफूलाई अनावश्यक रूपमा अरूसँग तुलना नगर्ने र आवश्यक पर्दा विश्वासिलो व्यक्ति वा विशेषज्ञसँग आफ्ना कुरा साझा गर्ने।
शान्त मनले कठिन परिस्थितिमा पनि सही बाटो देख्न सक्छ।
६. सामाजिक उत्तरदायित्व : हरेक दिन केही राम्रो गर्ने
हामी केवल आफ्नो लागि मात्र बाँच्दैनौँ। हामी परिवार, समुदाय र समाजको पनि हिस्सा हौँ। त्यसैले आफ्नो क्षमता र समयअनुसार अरूको जीवनमा सकारात्मक योगदान गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो।
कसैलाई सहयोग गर्नु, ज्ञान बाँड्नु, वातावरणको संरक्षण गर्नु, आवश्यक परेकालाई साथ दिनु वा समाजमा सकारात्मक व्यवहार गर्नु, यी सबै सामाजिक योगदानका रूप हुन्।
दैनिक अभ्यास: हरेक दिन कम्तीमा एउटा सानो राम्रो काम गर्ने। कसैलाई सहयोग गर्ने, कसैको कुरा ध्यान दिएर सुन्ने, उपयोगी ज्ञान बाँड्ने, फोहोर नगर्ने, आवश्यक ठाउँमा सहयोग गर्ने वा कसैलाई हौसला दिने। सानो सहयोग पनि कसैका लागि ठूलो अर्थ राख्न सक्छ भन्ने कुरा सम्झने।
अरूको जीवनमा केही राम्रो योगदान गर्न सक्नु पनि सफल जीवनको एउटा सुन्दर मापदण्ड हो।
७. आध्यात्मिक विकास : हरेक दिन आफूभित्र फर्किने
आधुनिक जीवनको दौडमा हामीले धेरै कुरा प्राप्त गर्न खोजिरहेका हुन्छौँ तर कहिलेकाहीँ आफूभित्र फर्केर हेर्न भने बिर्सिरहेका हुन्छौँ। आध्यात्मिक विकास भनेको आफूलाई बुझ्ने, जीवनको अर्थ र उद्देश्यबारे सोच्ने, आन्तरिक शान्ति खोज्ने तथा आफ्ना मूल्य र चेतनासँग जोडिने यात्रा हो।
ध्यान, आत्मचिन्तन, प्रार्थना, प्रकृतिसँगको सम्बन्ध, सदाचार, करुणा र कृतज्ञताजस्ता अभ्यासले मानिसलाई भित्री रूपमा समृद्ध बनाउन सक्छन्।
दैनिक अभ्यास: हरेक दिन ५ - १५ मिनेट मौन बस्ने, ध्यान गर्ने, प्रार्थना गर्ने वा आत्मचिन्तन गर्ने। दिनमा आफूले पाएका तीनवटा राम्रा कुराप्रति कृतज्ञता व्यक्त गर्ने। “म कस्तो मानिस बन्न चाहन्छु?” र “आज मैले आफ्नो मूल्यअनुसार जीवन बिताएँ कि बिताइनँ?” भनेर आफैँलाई प्रश्न गर्ने।
बाहिरी उपलब्धिले जीवन सजाउन सक्छ तर आन्तरिक शान्तिले जीवनलाई अर्थ दिन सक्छ।
सन्तुलन नै जीवनको सुन्दरता हो
यी सात आयामहरूलाई अलग अलग हेर्नुभन्दा एक अर्कासँग जोडिएका पक्षका रूपमा बुझ्नुपर्छ। एउटा पक्षमा आएको परिवर्तनले अरू पक्षलाई पनि प्रभावित गर्न सक्छ।
पेसामा अत्यधिक व्यस्त हुँदा सम्बन्ध र स्वास्थ्य प्रभावित हुन सक्छ। मानसिक तनावले पेसा र सम्बन्धमा असर पार्न सक्छ। स्वास्थ्य कमजोर हुँदा रुचि, सामाजिक जीवन र काम गर्ने क्षमतामा कमी आउन सक्छ। त्यसैगरी, जीवनमा बाहिरी सफलता भए पनि आन्तरिक शान्तिको अभाव छ भने पूर्ण सन्तुष्टि नहुन सक्छ।
त्यसैले जीवनमा सबै कुरा बराबर मात्रामा हुनुपर्छ भन्ने होइन। समय र परिस्थितिअनुसार कुन आयामलाई बढी ध्यान दिनुपर्छ भनेर पहिचान गर्दै सातै आयामलाई निरन्तर सन्तुलनमा राख्ने प्रयास गर्नु महत्त्वपूर्ण हुन्छ।
यसका लागि ठूलो परिवर्तन आवश्यक छैन। हरेक दिन सम्बन्धका लागि केही समय, पेसामा इमानदार प्रयास, रुचिका लागि केही क्षण, शरीरका लागि व्यायाम, मनका लागि शान्ति, समाजका लागि एउटा राम्रो काम र आत्माका लागि केही समय छुट्याउन सकियो भने बिस्तारै हाम्रो जीवनको दिशा परिवर्तन हुन सक्छ।
पढ्नु बोल्नु मात्र होइन। जीवनमा उतार्नु महत्त्वपूर्ण छ
यी सात आयामहरूका बारेमा पढ्न सजिलो छ, लेख्न सजिलो छ र कुरा गर्न पनि सजिलो छ। तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न भनेको “मैले चाहिँ आफ्नो जीवनमा के गरेको छु?” भन्ने हो।
यो प्रश्नले यो पङ्क्तिकारलाई पनि पक्कै छोएको छ। अरूलाई सन्तुलित जीवनको कुरा गरिरहँदा आफूले चाहिँ त्यसलाई कति आफ्नो जीवनमा उतारेको छु भन्ने प्रश्न आफैँलाई सोध्नु आवश्यक छ।
म आफैँले भन्नुपर्दा, सम्बन्ध, पेसा, रुचि, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र आध्यात्मिक विकास यी प्रत्येक आयामलाई सकेसम्म आफ्नो जीवनमा व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छु। सबै कुरा यहाँहरूका सामु देखाउन वा सुनाउन सम्भव नहोला, किनकि जीवनका केही अभ्यासहरू देखाउनुभन्दा आफैँले अनुभव गर्नु र निरन्तरता दिनु बढी महत्त्वपूर्ण हुन्छ।
तर यी सात आयाममध्ये आध्यात्मिक विकासको पक्षलाई अझ गहिरो रूपमा अघि बढाउने उद्देश्यले केही हप्तादेखि मैले आफैँ मेडिटेसन (ध्यान) क्लास पनि सुरु गरेको छु। बेलायतको फार्नबरोमा सञ्चालन भइरहेको यस अभ्यासमार्फत आफूभित्र शान्तिको विकास गर्ने प्रयास गरिरहेको छु।
त्यसैले यो केवल अरूलाई दिएको सुझाव मात्र होइन। मैले आफैँ पनि अभ्यास गर्दै गरेको यात्राको एउटा हिस्सा हो।
यदि तपाईं पनि आफ्नो जीवनका सात आयाममध्ये कुनै पक्षलाई अझ सन्तुलित बनाउन चाहनुहुन्छ भने म तपाईंहरूलाई मेरो यस ध्यान अभ्यासमा जोडिन हार्दिक अनुरोध गर्दछु। सँगै सिकौँ, सँगै अभ्यास गरौँ र आफ्नो जीवनलाई अझ अर्थपूर्ण, सन्तुलित र आनन्दित बनाउने यात्रामा अघि बढौँ।
अन्ततः हाम्रो उद्देश्य अरूलाई परिवर्तन गर्नु होइन, पहिले आफूलाई बुझ्ने र आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने हो।
तपाईंको जीवनमा यी सातमध्ये कुनै पनि आयाम कमजोर नहोस्। कुनै एउटा पक्षको अभावले अर्को पक्षलाई प्रभावित नगरोस् र जीवन सन्तुलित, सुखमय तथा आनन्दित बनोस्। हार्दिक शुभकामना।