दोबाटोमा भेटेको थिए
खासै चासो नै थिएन
तिर्खाले खोला धाउँछ
गाग्री भरिएको थियो
भेटघाटको संख्या बढ्यो
अनायसै कुन्नि किन हो
हावाहुरीको आगमन भयो
पात झर्ने बेला आयो
गर्मीले छोडी सक्यो
रात लामो दिन छोटो
मन त उही चञ्चल
फेरिएको फरिया जस्तै
टाउकोमा हात राख्दै
हिजोको मूल्याङ्कन गरे
नतिजा बिहानीले भन्ला
कर्मको खेल हो भन्ला
सपना देख्नु पर्छ भन्छन्
रातदिन मेहनत गर्दा
चौबाटोमा बत्ती बाल्दा
बनावटी हाँसो बाँड्दा
संसार डुल्ने मन अन्धो भएछ
बादल उघ्रेको छ आज
तर भित्री मन रोएकोछ
उसले चाहेको सबै पाएको छ
उड्ने गुड्ने सबै उनैको हो
केको स्वामित्व छ र
परजीवी प्राणीको जीवन
कहिले यता कहिले उता
अक्षर पढ्दैमा शिक्षित हुँदैन
निहुरिँदैमा संस्कारी हुँदैन
माटोको भाँडो नफुट्न सक्छ
नक्कली आवाभाव टुट्न सक्छ
आँखाले बोल्ने लोभी भाषा
परदेशीको झुटो आशा
सिमानाका सेना जस्तै हुन्
गोली चलेपछि भताभुङ्ग
प्रयास गरेको थिए, बुझ्छन् कि
हुँदैन रहेछ, उडेका मालुवा
केही क्षण, आकाशमै घर भयो
फर्किआउँदा, घरमै बस्न डर भयो
बनावटीहरूको घरै राम्रो
छाप्रो नै भए पनि राम्रो
माहुरी घुमिरहन्छ रसमा
पाउँदा सम्म बस्छन् बसमा
गहिराइ र उचाइ थाहा पछि
तनमन किनारै लागेको राम्रो
रातपछि दिन, समय रोकिँदैन
श्वास रहुन्जेल जीवन सकिँदैन