बेलायत । संयुक्त अधिराज्य (यूके), ७ मे २०२६ मा सम्पन्न स्थानीय निर्वाचनलाई बेलायती राजनीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
सन् २०२४ को आम निर्वाचनपछि भएको यो सबैभन्दा ठूलो निर्वाचन हो, जहाँ ५ हजारभन्दा बढी काउन्सिल सिटका लागि मतदान भएको थियो। यसपटकको निर्वाचन परिणाम अपेक्षाभन्दा निकै फरक देखिएको छ। विशेषगरी इङ्ग्ल्याण्डमा Reform UK पार्टी सबैभन्दा ठूलो विजेता बनेको छ। समाचार तयार पार्दासम्म प्राप्त नतिजाअनुसार उक्त पार्टीले १,४९९ भन्दा बढी सिट जित्दै Labour र Conservative दुवै दललाई पछि पारेको छ।
परम्परागत रूपमा बलियो मानिएको Labour Party ले आफ्ना महत्वपूर्ण क्षेत्रमा उल्लेखनीय हार व्यहोरेको छ। १४ वर्षपछि बर्मिङ्घम काउन्सिलको नियन्त्रण गुमाउनु Labour का लागि ठूलो धक्का मानिएको छ। वेल्समा पनि २७ वर्षदेखि प्रभाव कायम गरेको पार्टीले कमजोर नतिजा बेहोरेको छ। पराजयको जिम्मेवारी स्वीकार गर्दै Welsh Labour का नेता इलुन्ड मोर्गनले राजीनामाको घोषणा गरेका छन्। हालसम्म Labour ले १०३९ सिट जितेको छ। त्यसैगरी Green Party ले ऐतिहासिक सफलता हासिल गरेको छ। पार्टीले केही काउन्सिलहरूको नियन्त्रण आफ्नो पक्षमा पार्नुका साथै लन्डनमा पहिलो पटक मेयर पद जित्न सफल भएको छ। ग्रीन पार्टीले ५४९ सिट जितेको छ।
Liberal Democrats ले दक्षिणी इङ्ग्ल्याण्ड तथा लन्डन आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै ८४९ सिट जितेको छ। यस निर्वाचन परिणामले परम्परागत Labour र Conservative दुवै पार्टीप्रति मतदाताको असन्तुष्टि बढ्दै गएको तथा वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढेको संकेत गरेको विश्लेषण गरिएको छ। नेपाली मूलका बेलायती नागरिकहरूको राजनीतिप्रतिको चासो पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। २०२६ को स्थानीय निर्वाचनमा झन्डै एक दर्जन नेपाली मूलका उम्मेदवार विभिन्न काउन्सिलमा निर्वाचित भएका छन्।
निर्वाचित हुने नेपाली मूलका प्रतिनिधिहरू यसप्रकार छन्–
१. उत्तर बहादुर गुरुङ — वेलिङ्टन वार्ड, अल्डरसट (Labour)
२. प्रतिक्षा गुरुङ — ब्याटल वार्ड, रेडिङ (Labour)
३. लक्ष्य बहादुर गुरुङ — ऐज्वेयरबरी, बार्नेट लन्डन बरो (Conservative)
४. कमल बहादुर गुरुङ — बर्न्ट ओक, बार्नेट लन्डन बरो (Labour)
५. गौमाया रानाभाट गुरुङ — एबी वुड, रोयल बरो अफ ग्रीनविच (Labour)
६. जित रानाभाट — प्लमस्टेड ग्लिन्डन, रोयल बरो अफ ग्रीनविच (Labour and Co-operative)
७. जित नारायण वेलबासी — म्यानर पार्क वार्ड, अल्डरसट (Conservative)
स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायतीहरूको बढ्दो सहभागितालाई समुदायको राजनीतिक चेतना र मुख्यधारामा बढ्दो उपस्थितिको सकारात्मक संकेतका रूपमा हेरिएको छ।