पोखरा । पोखरामा लामो समय देखि शिक्षण पेशमा अवद्द कवि लोचना अधिकारीको पहिलो कविता सङ्ग्रह ‘शिशिरको एक्लो साँझ’ एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। साहित्यिक तथा बौद्धिक वृत्तमा उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतान्त्रिक व्यवस्थामा समेत जनताबाट निर्वाचित प्रतिनिधिबाट निरङ्कुश प्रवृत्ति जन्मिन सक्ने सम्भावनाबारे सचेत रहनुपर्ने धारणा व्यक्त गरे। उनले वर्तमान सरकारको गतिविधिप्रति जनस्तरमा ‘पर्ख र हेर’ को अवस्था रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने कुनै पनि प्रवृत्ति देखिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए। लोकतन्त्र दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उनले साहित्यले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा र साहित्य शृङ्खला पोखराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै ज्ञवालीले लेखन कार्य स्वभावतः चुनौतीपूर्ण हुने बताउँदै विशेषगरी महिलाहरूका लागि सामाजिक र संरचनात्मक कारणले अझ जटिल हुने उल्लेख गरे। यस्तो अवस्थामा कवि लोचना अधिकारीले निरन्तर लेखनमार्फत आफ्नो उपस्थिति दर्ज गराउनु साहसिक र प्रेरणादायी कदम भएको उनले बताए।
कार्यक्रममा वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले कवि अधिकारीको कृतिको समीक्षा गर्दै उक्त सङ्ग्रहमा समाजमा विद्यमान विसङ्गति, विभेद, शोषण, उत्पीडन तथा मानवीय संवेदनाका विविध आयामहरू गहिरो रूपमा प्रतिबिम्बित भएको बताइन्। उनले कृतिमा समाजको यथार्थ चित्रण मात्र नभई भावनात्मक गहिराइ पनि सशक्त रूपमा प्रस्तुत भएको उल्लेख गरिन्।
त्यसैगरी, बिम्बकवि रमेश श्रेष्ठले समयको परिवर्तनसँगै समाजमा धेरै पक्षमा सुधार आएको देखिए पनि महिलामाथि हुने उत्पीडन र शोषण पूर्ण रूपमा अन्त्य हुन नसकेको टिप्पणी गरे। उनले कवि अधिकारीको कृतिले समाजमा देखिने दोहोरो चरित्र—मुखले न्यायको कुरा गर्ने तर व्यवहारमा अन्याय गर्ने प्रवृत्तिलाई उजागर गरेको बताए।
कवि लोचना अधिकारी, जो सहारा आधारभूत विद्यालयकी प्रधानाध्यापकसमेत हुन्, ले आफ्नो मन्तव्यका क्रममा उक्त कविता सङ्ग्रह लोकछन्द, पद्य तथा गद्य छन्दको संयोजनमा तयार पारिएको जानकारी दिइन्। उनले साहित्यप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गर्दै कृतिप्रति दर्शक, पाठक तथा शुभेच्छुकहरूले देखाएको माया र समर्थनप्रति आभार प्रकट गरिन्। साथै, आगामी दिनमा पनि लेखन यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा बाम बुद्धिजीवी राधाकृष्ण लामिछानेले स्रष्टा परिचय प्रस्तुत गरेका थिए भने विभिन्न साहित्यिक तथा सामाजिक व्यक्तित्वहरूले आफ्नो धारणा राखेका थिए। मन्तव्य राख्नेहरूमा छन्द नायक माधव वियोगी, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, कवि अधिकारीका पिता तोयानाथ अधिकारी, दाइ डा। विश्वराज अधिकारी तथा साहित्यकार जीवनसागर भण्डारीलगायत रहेका थिए।
प्राज्ञ छन्दिका त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखराकी सचिव लक्ष्मी थापाले गरेकी थिइन् भने साहित्य शृङ्खला पोखराका सचिव काजी गाउँलेले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रमको एक आकर्षक पक्षका रूपमा सङ्गम साँस्कृतिक मञ्च नेपालले कवि अधिकारीका कविताहरूलाई गीति शैलीमा प्रस्तुत गर्दै बाद्यवादनसहित सांस्कृतिक प्रस्तुति दिएको थियो, जसले कार्यक्रमलाई थप जीवन्त र प्रभावकारी बनाएको थियो।
समग्रमा, ‘शिशिरको एक्लो साँझ’ कविता सङ्ग्रहको लोकार्पण कार्यक्रमले साहित्य, समाज र समसामयिक राजनीतिक चेतनाबीचको सम्बन्धलाई उजागर गर्दै स्रष्टाको सिर्जनात्मक यात्रालाई सम्मानित गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।