लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को युरोप समिति राज श्रेष्ठको संयोजकत्वमा गठन भएको छ। विभिन्न युरोपेली मुलुकका प्रतिनिधि समेटिएको समितिमा पदाधिकारी, सदस्य र सल्लाहकार गरी १९ जना रहेका छन्।
समितिको सहसंयोजकमा अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष शौरभ कारन्जित, सचिवमा अनेसास जर्मनीकी सीमा ढुंगाना र सहसचिवमा अनेसास फ्रान्सका प्रशान्त उप्रेती रहेका छन्। मिडिया व्यवस्थापनको जिम्मेवारी प्रकाश सापकोटाले पाएका छन्।
विभिन्न च्याप्टरको प्रतिनिधित्व गर्ने सदस्यहरूमा यूकेकी माया गुरुङ, बेल्जियमका लोकनाथ शर्मा, पोर्चुगलका एन. बी. अञ्जान, नर्वेका राजेश सापकोटा, डेनमार्कका पूर्ण बस्नेत, नेदरल्यान्ड्सका सूर्यराज गिरी र पोल्यान्डका शिव अधिकारी रहेका छन्।
त्यसैगरी, सल्लाहकारहरूमा पोल्यान्डका सुसन परियार, जर्मनीका खड्ग न्यौपाने, यूकेका डा. रूपक श्रेष्ठ, फ्रान्सकी सुमित्रा बुर्लाकोटी, डेनमार्ककी सीता बराल, नर्वेकी विष्णुमाया विभु र पोर्चुगलकी साबी श्रेष्ठ रहेका छन्। सल्लाहकार सुसन परियारलाई मिडिया व्यवस्थापनसम्बन्धी जिम्मेवारीसमेत दिइएको छ।
युरोपमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै विभिन्न मुलुकमा क्रियाशील अनेसास च्याप्टरहरूबीच समन्वय र सहकार्य विस्तार गर्नु समितिको प्रमुख भूमिका रहनेछ। साहित्यिक गोष्ठी, कविता तथा मुक्तक वाचन, कृति प्रकाशन तथा परिचर्चा, साहित्यिक अन्तरक्रिया र सम्मेलनमार्फत स्रष्टाहरूलाई साझा मञ्च उपलब्ध गराउनु समितिका प्रमुख कार्यक्षेत्र हुनेछ।
साथै, प्रवासमा सिर्जित नेपाली साहित्यलाई नेपालको साहित्यिक मूलधारसँग जोड्ने, स्रष्टाहरूबीच रचनात्मक आदानप्रदान बढाउने तथा नयाँ पुस्तामा नेपाली भाषाप्रतिको रुचि र साहित्यिक चेतना विकास गर्ने कार्यमा पनि समितिले भूमिका निर्वाह गर्नेछ। युरोपका नेपाली साहित्यिक गतिविधिलाई जोड्दै नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा योगदान पुर्याउनु समितिको उद्देश्य रहनेछ।
समितिका संयोजक राज श्रेष्ठ अनेसासका युरोप महाद्वीपीय उपाध्यक्षसमेत हुन्। समितिमा युरोपका नौ मुलुकमा क्रियाशील नेपाली साहित्यकर्मी तथा अनेसास च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको छ।