विश्वासदिप तिगेला
लण्डन । साहित्यकार तथा कलाकार सूर्य गुरुङको कविता र गीतको संगालो “तिम्रो माया” कृतिको १ नोभेम्बर २०२६ का दिन एक विशेष समारोहका बिच विमोचन गरिएको छ। मिचेटस्थित तमु धी युकेको भवनमा आयोजित उक्त कार्यक्रममा स्रष्टा गुरुङकी ९७ वर्षीया आमाको बाहुलीबाट सो कृतिको विमोचन गरिएको हो।
दीप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा यशोदा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा विश्वास दीप तिगेलाले कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने एकेन्द्र गुरुङले स्रष्टा तथा कृतिकार गुरुङको व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका थिए।
कार्यक्रमका क्रममा गीतकार गुरुङका चर्चित गीति भिडियोहरू प्रदर्शन गरिएको थियो। त्यसपछि प्रमुख अतिथि जुमकाजी गुरुङ र स्रष्टा सूर्य गुरुङ स्वयंले आफ्ना अनुभव तथा भनाइहरू राखेका थिए। सोही अवसरमा नेपालबाट आएकी अतिथि कलाकार पवित्रा गुरुङलाई विशेष सम्मान समेत गरिएको थियो।
विमोचित “तिम्रो माया” कृतिभित्र ४० वटा कविता र ६० वटा गीतहरू संग्रहित छन्। स्रष्टा गुरुङले आफ्ना सिर्जनाहरूमा पल्टनघरका नोस्टाल्जिक क्षणहरू, नवदम्पतिको पिरती, गाउँठाउँको परिचय, वातावरण सचेतना, तमु धी, गुरुङ एसोसिएसन तथा तमु क्षेत्रीय समितिका सांगठनिक गीतहरू समेटेका छन्। साथै, थाइल्याण्डको सुनामी र भोटेकोशी हिमपहिरोका पीडितहरूप्रति समर्पित सिर्जनाहरू पनि यस पुस्तकमा समावेश छन्।
स्रष्टा गुरुङका हालसम्म २२ भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्। कार्यक्रम प्रस्तोता तथा उद्घोषकका रूपमा पहिचान बनाएका गुरुङले यसपटक उत्कृष्ट कृति पाठकमाझ ल्याएर कवि तथा गीतकारका रूपमा बलियो उपस्थिति जनाएका छन्।
तमु कलाकार सांस्कृतिक मञ्च युकेका निवर्तमान अध्यक्ष पदम गुरुङको सभापतित्वमा सम्पन्न उक्त विमोचन कार्यक्रमलाई विमल गुरुङले सञ्चालन गरेका थिए।