मेरो प्यारो दाजु
मेरो प्यारो भाइ
तिम्रै खुसीमा
मुस्कुराउँछ मेरो यो मन
तिम्रै सुखमा खुल्छ
मेरो सारा संसार
ती मुहारमा सधैँ हाँसो देख्नु
मेरो मभित्रको चाहना र
त्यही नै छ अनमोल उपहार ।
म चाहन्छु कि,
हरेक बिहान र बेलुकी
देवभूमिबाट देवी देउताहरूले
तिमीलाई आशिष् बर्साउन्
तिम्रा हरेक कदममा
तिनले शुभ साइत जुराउन्
सुख, शान्ति, समृद्धिले
घर आँगन भरिउन्
खुसीका रङ्गहरूले
जीवनको क्यानभास सजिउन्
तिमीले हिँड्ने यात्राको
हरेक मोडमा सफलताले
तिम्रो हात समाउन्
मनले देखेका सुन्दर सपना
सबै साकार बनुन्
अधूरा रहेका तिम्रा कुनै
इच्छा-आकांक्षाहरू पूर्ण होउन्
कुनै पनि दुखको छायाले
नछोओस् तिमीलाई
समयले कुनै पनि पिडाको
कहर नदेओस् तिमीलाई
परिवार र आफन्तको
माया र आत्मीयता सधैँ
तिम्रै वरिपरि घुमिरहुन्
जीवनका हरेक ऋतुमा पनि
तिम्रो जीवनको आँगनमा
हरियाली वसन्त छाइरहुन् ।
भाइटीकाको सात रङ्ग निधारमा
सजाऊँ या नसजाऊँ
मखमली र सयपत्रीका माला
तिम्रो विशाल गलामा
पहिराउन पाउँ या नपाऊँ
कतै भौतिक दूरीले
हाम्रो भेटघाट र निधारको टीका
रोके पनि, भूगोलले छेके पनि
मेरो मनभित्रको माया र प्रार्थना
अविराम बहिरहेकै छ
मेरो मनका दृष्टि र चेतले
तिमीलाई हेरिरहेकै छ, देखिरहेकै छ
किनकि,
मेरो हर प्रार्थनामा तिमी मसँगै छौ
मेरो सुखदुख र रहर सबैमा मसँगै छौ
मेरो शुभेच्छाको अक्षय आशिष् सधैँ
तिमीमाथि निरन्तर परिरहेकै छ
मेरो पूरा आयुभरि एउटै कामना छ
तिमी सदैव स्वास्थ्य र सुरक्षित रहनू
यही एउटै दृढ प्रार्थना छ,
टीका लगाउन पाउँ या नपाऊँ
माया-प्रेमको सम्बन्ध कहिल्यै नटुटोस्
दूरी जति नै टाढा भए तापनि
दाजुभाइप्रतिको मेरो माया र श्रद्धा
जुनीजुनीसम्म कहिल्यै नघटोस् !
जुनीजुनीसम्म कहिल्यै नघटोस् ।
- हाल नेपाल