पोखरा । मे ३० पञ्चासे हर्पनडाँडा समाज यूकेले क्यान्सरबाट पीडित कास्कीकोट निवासी पञ्जासिंह घलेलाई रु. ८ लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ।
पोखरा महानगरपालिका २४, कास्कीकोटस्थित कार्कीको तगरामा रहेको पीडितको निवासमै पुगेर समाजका सल्लाहकार रणबहादुर गुरुङले उक्त रकम घलेकी पत्नी उषा घलेलाई हस्तान्तरण गरेका हुन्। लामो समयदेखि क्यान्सर रोगबाट पीडित घलेको स्वास्थ्य अवस्था जटिल बन्दै गएको तथा आर्थिक अवस्था समेत कमजोर भएकाले उनले समाजसँग सहयोगको अपिल गरेका थिए। चिकित्सकको सल्लाहअनुसार थप उपचारको सम्भावना न्यून भएपछि उनी हाल घरमै अक्सिजनको सहायतामा उपचाररत छन्। पीडितको अवस्था बुझ्दै पञ्चासे हर्पनडाँडा समाज यूकेले तत्काल राहत संकलन अभियान सञ्चालन गरेको थियो।
अभियानअन्तर्गत एक सातामै समाजका ५७ सदस्यबाट आर्थिक सहयोग जुटाइएको थियो। बेलायतका सदस्यहरूसँगै अष्ट्रेलियाबाट चन्द्रप्रकाश गुरुङ तथा अमेरिकाबाट राजु गुरुङ र डमर गुरुङले पनि सहयोग गरेका थिए। समाजका कोषाध्यक्ष कृष्ण घलेका अनुसार सन् २०१२ मा स्थापना भएको पञ्चासे हर्पनडाँडा समाज यूकेले स्थापना कालदेखि नै विभिन्न विपद्, रोग तथा आर्थिक समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ।

हालसम्म समाजले नेपालमा एक करोड रुपैयाँभन्दा बढी रकम विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोगस्वरूप पठाइसकेको बताए। “हाम्रो समाज चार गाउँ सिधाने, कुद्बीडाँडा, दम्दमे र मकनपुरका बासिन्दाहरुको वेलायतमा स्थापित साझा संस्था हो। समाजमा उदार र सहयोगी सदस्यहरूको सक्रिय सहभागिताले यस्ता मानवीय अभियान सफल हुँदै आएका छन्,” कोषाध्यक्ष घलेले बताए। रकम हस्तान्तरण कार्यक्रममा पीडितका परिवारजनसहित स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पञ्जासिंह घलेका जेठा दाइ गणेश घले, माइला दाइ राजु घले, परिवारका अन्य सदस्य, हर्पनखोला तमु समाजका अध्यक्ष रबिन्द्र गुरुङ, समाजसेवी सविन गुरुङ, निर्माण व्यवसायी ठाकुरप्रसाद गुरुङ, व्यवसायी लोकबहादुर गुरुङ, ओमबहादुर गुरुङ तथा युवा समाजसेवी विजय थापा सहभागी थिए। पञ्चासे हर्पनडाँडा समाज यूकेले आगामी दिनमा पनि आवश्यकता परेका व्यक्तिहरूलाई मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

