जन्मघरको याद आउँछ
ढुङ्गेघरको छाना देख्छु ।
लामो घर, बीचमा आँगन
बज्यैआमाको पालामा बनेको ।
वर्ष गन्दा नब्बे नाघ्यो होला
९० को भूकम्प, २०७२ को भूकम्प ।
घर अझै जीवित छ, उही लामो घर
तर बस्ने परिवार शून्य छ ।
पोखराबाट पश्चिम २४ किलोमिटर
१५०० मिटर उचाइमा अडिएको ।
घर अझै पूरै खाली छैन
छिमेकी कान्छीले आगो बाल्दैछिन् ।
यो घर मेरो अस्पताल हो
आमाले पहिलो पाइला टेकाएको भूमि हो।
दुई परिवारको स्वर्ग हो यो
दुई दर्जन जतिको जन्मघर हो।
लामो घरका दुवै छेउ ढिकी
बीचमा अर्को अग्लो घर।
३६ सालमा बाबाले बनाएको
म त्यहीँ सुत्थेँ, पढ्थेँ, माया लाग्छ।
परिवार सबै सहर र विदेश
घर एक्लो छ, तैपनि उज्यालो छ।
पानी, बत्ती, मोटर बाटो खुलेका छन्
बेलायत बस्छु, सम्झेर मन भुलेको छ ।
पारि पैखोरा बारीमा तोरी फुल्थ्यो
बाजे र हाम्रो परालको टौवा हुन्थ्यो।
घर र धन्सारबीच मकैको सुली
ती सबै अतित बने, मन खिन्न हुन्छ।
फेरि घरको फोटो हेर्छु, गोठ हेर्छु
बाजेको गाईगोठ, हाम्रो भेँडीगोठ।
अब त गाई, भैँसी, गोरुका नाम भुलिसकेँ
मात्र शनिबार भेडा चराउन गएको सम्झन्छु।
जाडोमा चिसो, कहिलेकाहीँ हिउँ पनि
उचाइका कारण उब्जनी अलि कम।
घाँस, दाउरा, पानीको दुःख थिएन
गर्मीमा पनि सधैं शीतल ठाउँ।
घरको वर्णन गर्दै भावुक भएछु,
थाहै नपाई बन्द कोठामा रोएछु।
के गर्ने बाबै, कलिलैमा विदेश लागियो
बोल्ने भए घरले बोलाउँथ्यो होला।
सालमा एकपटक भेट्छु
छोटो समयमै तिर्खा मेट्छु।
बज्यैआमाको लामो ढुङ्गेघर
मेरो घर, जन्मघर, प्रुनडाँडाको घर।