उड्ने पन्छी थिए, पिँजडाको बास भयो
लेख्ने कलम थिए, रित्तिएको मसी भयो
हाँसेर बोल्ने थिए, बोली फुट्न गाह्रो भयो ।
माया गर्ने हजार थिए, आँसु पुछ्ने भएन
धुरुधुरु रोइरहेँ, सँगैको राजु दाइ पनि आएन
मन भक्कानिएको छ, नजिकमा कोही भएन ।
मन जलिरहेछ, सबैको सामु देखिनु छ
दिनभर हाँस्नु छ, फेरि एकान्तमा रुनु छ
मन दह्रो बनाउँछु, देशको लागि पनि सोच्नु छ ।
एक-दुई जनाले मन छुन्छ, तर विश्वास रहेन
सुरुमा रमाइलो लाग्थ्यो, अब निरन्तर भएन
के पाएँ के गुमाएँ, प्रवासमा थाहै भएन ।
घमाइलो छ रमाइलो छ, बाहिर खुसी देखिन्छ
नजिक कुराकानी गर्छु, आखिर दुःखमै सकिन्छ
जिन्दगी यस्तै रहेछ, घर-घरको खुसी मासिन्छ ।
परिवारको आशीर्वाद छ, इज्जत सम्हालेको छु
भविष्य सम्झँदै, सक्दो सत्कर्म गरिरहेको छु
धेरै टाढा छैन आमा, दसैँ अघि घर आउनेछु।