हरेक साल झैं, फेरि आज
कुशे औंसी आयो बुवा
तर तपाईं त केवल
तस्वीरमा मुस्कुराइरहनु भएको छ
कति पीडा हुन्छ मनमा
जब भनिन्छ "बुवाको मुख हेर्ने"।
आठ वर्ष भएछ तपाईंलाई गुमाएको,
शरीर त गयो, तर सम्झना
सम्झना त हिजोझैं ताजा छन्
आज पनि त्यो दिन झल्झली सम्झिन्छु
अन्तिम सास लिँदै, मौन हुनुभयो तपाईं ।
नर्भिकको त्यो शून्य रात
दिदीको भक्कानो, भेनाको साथ
म पनि छेवैमा आँशु झार्दै
जेठो छोरो भएर केही गर्न सकिनँ
कस्तो असहाय अनुभूति
त्यो दिन, त्यो रात… म कहिल्यै बिर्सन सक्दिनँ ।
आज म आफै बुवा भइसकेँ
तपाईंको झल्को, तपाईंको बानी,
मेरो सन्तानमा देख्छु
हाम्रो अनुहार, हाम्रो बोली उस्तै लाग्छ
के तपाईं फर्किनुभएको हो
अझै कहिलेकाहीँ लाग्छ
तपाईं सँगै हुनुहुन्छ, कतै नपुगेको ।
सपनीमा आउनुहुन्छ तपाईं
एक झलक, एक मुस्कान
कहिलेकाहीँ त निद्रा नै तोड्न मन लाग्दैन
त्यो सपना साँचो होस् जस्तो लाग्छ।
हामी सन्चै छौं, बुवा
माया गरिरहनु होला
आशीर्वाद दिइरहनु होला
आज फेरि कुशे औंसी
तपाईंको अनुहार हेर्न मन लागिरहेछ ।
तर तपाईं त…
तस्वीरमै सीमित हुनुहुन्छ ।