उमा कुङ्फुकी अन्तर्राष्ट्रिय खेलाडी सरिना घलेले हालै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गरेर दुई स्वर्ण पदक जित्न सफल हुनुभयो । उहाँले युकेको ग्लेसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको डब्लूएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभयो । मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि यूकेमै फेब्रुअरी ९ मा भएको डब्लूएमएसी इंग्लिस च्याम्पियनसिपमा स्वर्ण पदक हासिल गर्नुभयो । खेलमार्फत नेपाललाई विश्व मञ्चमा चिनाउन लागिरहनुभएकी नुवाकोटकी सरिना घलेसँग तमुधीं यूकेको सम्मानको दिन गोर्खा मिडियाको हिँड्दा-हिँड्दै शृंखलामा मिचेटमा मिलन तमुले गर्नुभएको कुराकानी :
सबभन्दा पहिले गोर्खा मिडिया र मेरो तर्फबाट बधाई तपाईंलाई ?
धन्यवाद ।
तपाईंको परिचय आफै बताउनुस् न ?
म सरिना घले । यूकेमा विद्यार्थीको रुपमा सन् २०२४ मा मास्टर्स पढ्नको लागि आएकी हुँ । मेरो पृष्ठभूमि भन्नुपर्दा सानैदेखि मार्सल आर्ट खेल्दै हुर्केको । जन्म र पढाइ काठमाडौंमा नै भए पनि मेरो पुर्ख्यौली नुवाकोट किस्पाङ भाल्चे हो । नेपालमा हुँदा बीचमा खेल ग्याप भयो । विदेशी भूमिमा आएपछि खेल खेल्ने एकदमै इन्ट्रेस्ट जाग्यो । नेपाललाई प्रतिनिधित्व गर्नुपर्छ भनेर यसपालि खेलिदिउ न भनेर २०२५ बाट सुरु गरेको हो । विद्यार्थीको रुपमा आएकोले २०२४ भरि समय निकाल्न सकिनँ । दिनदिनै कलेज जानु पर्ने, काम गर्नु पनि पर्ने भएकोले निकै स्ट्रेस हुन्थ्यो । ०२५ मा मेरो एउटा मात्रै विषय पढ्नु पर्ने भयो । त्यसले मलाई हल्का भएपछि खेल्नु पर्छ, नेपाललाई प्रतिनिधित्व गर्न, पलायन भएका खेलाडीहरुलाई हौसला दिने, आउने पुस्तालाई केही सन्देश दिन गेम खेलेकी हुँ । ०२५को फेब्रुअरीमा ९ मा बर्मिङहममा डब्लूएमएसी इंग्लिस च्याम्पियनसिपमा भएको थियो, त्यसमा मैले नेपालको प्रतिनिधित्व गरेँ । उक्त प्रतियोगितामा विभिन्न देशबाट ८ सयजना प्रतिस्पर्धी थिए । प्रतिस्पर्धी इमिलीजेनलाई पछारेर म फस्ट हुन सकेँ ।
जून ७ मा ग्लेसेस्टरमा भएको प्रतिस्पर्धाअन्तर्गत (५५-६० उमेर समूह) मा स्कटल्यान्डकी एमेलिया पार्किनसँग खेलेर स्वर्ण पदक जितेकी हुँ ।
यो स्वर्ण पदक पाउँदा कत्तिको खुसी हुनुभयो ?
सानैदेखि गेम खेलेको भएर केही गर्नुपर्छ भन्ने लागिरहन्छ । जति प्यासिनेट भइन्छ, त्यत्ति नै विल र डिटर्मिनेसन भयो भने हामीले गर्न सक्दोरहेछ । त्यसमा जितेपछि खुसी हुने नै भयो । नेपालको नाम राख्नु भनेको ठूलो कुरा हो । अन्तर्राष्ट्रिय प्लाटफर्ममा नेपाल भनेर चिनिनु नै धेरै ठूलो कुरा हो । यसले यत्ति धेरै हौसला मिलेको छ कि अब हुन गइरहेको गेमहरुमा भाग लिनेछु । इंग्ल्यान्डमा मात्रै होइन, जर्मन, अस्ट्रेलियामा हुन्छ । अमेरिकामा हुन्छ । ती खेलहरुमा पनि म सफल हुन पाउँ भनि तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।
तपाईं विद्यार्थी, खेलहरुमा प्रवेश शुल्क, यात्रा शुल्क आफैंले गर्दै आउनुभएको छ कि ?
मैले आफैले गर्दै आएकी छु । व्यक्तिगत खर्चमा आफ्नो र देशको नाम राख्न काम गरिरहेकी छु । पहिले आफूले गर्ने हो । अरुले थाह पाएपछि सहयोग गर्नु होला भन्ने आशमा छु ।
तपाईंले इंग्लिस ओपन र ब्रिटिस ओपन खेल खेल्दा कसैले स्पोन्सर गरे कि गरेनन् ?
मलाई कसैले स्पोन्सर गर्नुभएको छैन ।

तपाईंले प्रायोजनका लागि अफर नै गर्न नचाहनुभएको कि अफर गरेर पनि नपाएको ?
मैले अफर नै नगरेकी हुँ । पहिले नै अरुलाई किन दु:ख दिउँ ? विस्तारै चिन्दै जानुहुनेछ भनेर आफ्नै खर्चले लागिरहेकी छु । मलाई मगर संघ यूके, किरात राई यायोक्खा बेलायतले सम्मान गर्यो । तमुधीं यूकेले पनि यत्ति धेरै माया, सम्मान दिनुभयो । तामाङ समाज यूकेले पनि गर्दैछ भन्ने सुनेकी छु ।
मार्सल आर्ट नै किन रोज्नुभयो ?
मैले क्रिकेट, फुटबल पनि खेल्थें होला । तर युनिक गरौं न भनेर हो । मेरो बाबाले पनि छोराछोरी बराबरी हो । गेम खेल्नुपर्छ अथवा सेल्फ डिफेन्सका लागि भने पनि खेल्नुपर्छ भनेर सानोमा तेक्वान्दोमा भर्ना गरिदिनुभयो । आमाबुबाले पनि एकदमै धेरै सपोर्ट गर्नुहुन्छ । तेक्वान्दो त सबै जनाले खेलेको छ नि । किन कुङ्फुमा नजाने, यो फरक छ । जिम्न्यास्टिक हुन्थ्यो । उल्टीसुल्टी, तरबार चलाउने,चक्कु चलाउने हुन्थ्यो । त्यसमा मलाई धेरै इच्छा जाग्यो । त्यही भएर म यता लागेकी हुँ ।
खेलबाहेक प्रतिभा के छ तपाईंमा ?
म नृत्य पनि गर्छु । त्यतिमात्रै होइन अलि अलि गीत पनि गाउँछु । गुरुङ/मगरकी छोरी नाच्ने/गाउने त हुनै पर्छ । रमाइलो गर्नुपर्छ ।
अरु खेलहरु खेल्ने योजना छ कि छैन ?
म रहेसम्मै खेलिरहन्छु, निरन्तरता दिन्छु । नयाँ पुस्ताले खेलहरु खेल्नुपर्छ । आफ्नो कन्फिडेन्सका लागि, आफ्नो देशका लागि । आफ्नो हेल्थका लागि खेल्नुपर्छ ।
नेपालमा हुँदा कुनै पदक जित्नुभएको थियो ?
म सानो हुँदा नेपालमा राष्ट्रियस्तरको खेल खेलेकी थिएँ । त्यसपछि स्वास्थ्य समस्याका कारण खेल्न छोडेकी थिएँ । त्यसपछि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निभाएँ । म उमा कुङ्फुको थर्ड डान पनि हो । अहिलेचाहिँ अन्तर्राष्ट्रिय खेलाडी भएर नेपालका लागि प्रतिनिधित्व गरिरहेकी छु ।

यत्तिका उपलब्धि हासिल गर्दा नेपाल सरकार वा तिनका निकाय राष्ट्रिय खेलकुद परिषद् लगायतले तपाईंलाई कुनै चासो दिएको छ ?
स्वर्ण पदक जितेपछि नेपालका मिडियाहरुले धेरै कभरेज गरे । खेलकुद परिषद्ले रिकग्नाज्ड दिएको छ । नेपाल कहिले आउने भनेर म्येसेजहरु गर्नुहुन्छ । आफ्नो गाउँ र अन्य विभिन्न समाजहरुले पनि बोलाइरहनुभएको छ । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्रीले समेत फोन गर्नुभयो । सम्मानपत्र दिने कुराहरु भइरहेको छ ।
आगामी खेल कहाँ र कहिले हुँदैछ ?
मेरो फ्युचर गेम भनेको सेप्टेम्बर १८ देखि २२ तारिखसम्म योर्कसायरमा हुँदैछ, डब्लूएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिप । त्यसमा अमेरिकन, क्यानेडियन, अस्ट्रेलियनहरु आउँछन् । अलि लामो दिन हुनेछ । त्यसको तयारी पनि गरिरहेकी छु ।
यो खेलका लागि कसैले स्पोन्सर गर्नुभयो भने एक्सेप्ट गर्नुहुन्छ ?
गर्छु नि । म विद्यार्थी हुँ । कसैले स्पोन्सर गर्नुभयो भने म एकदमै आभारी हुनेछु ।
खेलजीवन पुन: थालेपछि र त्यसअघिको विद्यार्थी जीवन यूकेमा कस्तो भइरहेको छ ?
विद्यार्थी जीवनमा आफ्नो काममा व्यस्त, युनिमा व्यस्त भइरहेको थियो । जसले गर्दा प्राक्टिस गर्न पाथेन । सोसाइटीमा घुलमिल नभएको र चिनिएको थिएन । खेलाडी भनिरहेको थियो तर नचिनिएको थियो । २०२५ को खेलपछि यूकेमा भएका समुदायहरु, संस्थाहरुले एकदमै धेरै रिकग्नेसन दिएका छन् । माया, सम्मान दिएको छ । यो माया र सम्मानलाई आशीर्वाद सम्झेर आगामी दिनमा अझै धेरै गरेर देखाउने छु, नेपालको लागि, नेपाली छोराछोरीहरुका लागि ।
अन्त्यमा
तमुधीं यूकेले मलाई सम्मान दिनुभयो, अध्यक्ष आदरणीय मामा जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष माइजु कमलादेवी गुरुङलगायत होल टिमलाई धन्यवाद । यस्तै मगर संघ यूकेका अध्यक्ष लालु पुन, किरात राई यायोक्खा बेलायतकी आशा राईले पनि माया र सम्मान दिनुभयो । तपाईंहरुले मलाई यसरी सम्मान र माया दिनुभयो । यसलाई प्रेरणा र हौसलाको रुपमा लिएर म अगाडि बढ्न पाउँ । धेरै-धेरै धन्यवाद गोर्खा मिडिया यूके, सबै खालका समाचार कभर गरिदिनुभएकोमा ।
