दर्जनौं मौलिक लोक तथा दोहोरी गीतका गायक एवं सर्जक मौसम गुरुङ गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा १८ डिसेम्बर २०२५ मा बेलायत आउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा जन्मिएका मौसम करिब एक महिनाको बसाइका लागि यूके आउनुभएको हो । लोप हुन लागेको परम्परागत वेषभूषा लुंगी, दौरा सुरुवाल, सारी र चोलीको पनि संरक्षण गर्नुपर्नेमा जोड दिनुहुने गायक मौसमले हालसम्म ३०० हाराहारीमा गीत गायन र रजना गरिसक्नु भएको छ ।
गायनसँगै पर्यटन व्यवसायमा आबद्ध मौसमका चर्चित गीतहरुमा 'माइली', 'चरी बस्यो अरेली गाँजैमा','फुल्यो बेलीजाई','गण्डकीको तिर', 'चौतारीमा पिपल र वर छ नि', 'देउरालीलाई फूलापती धजा छ', 'मुग्लिन पुल तरी'लगायत छन् । पहिलोपटक बेलायत आउनुभएका लोकगायक तथा सर्जक मौसमसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानीको सम्पादित अंश :
बेलायत भ्रमण तपाईंको पहिलो चोटी हो ?
(हाँस्दै...) सपनामा चाहिँ धेरैचोटी आएँ । तर विपनामा चाहिँ पहिलोचोटी हो ।
कसको निमन्त्रणामा बेलायत आउनुभयो ?
गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा आएको हुँ । यही डिसेम्बर २६ तारिखमा अल्डरसटस्थित एम्पायर हलमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ । त्यसकै लागि म यहाँ आउन पाएको हुँ ।
तपाईं एक्लै आउनुभयो कि अन्य कलाकार पनि छन् ?
चर्चित कलाकार सुनिला गुरुङ पनि आउँदै हुनुहुन्छ ।
यूकेमा तपाईंको बसाइ कति हुन्छ त ?
लगभग एक महिना बस्छु ।
यो बीचमा तपाईंका कार्यक्रम कहाँ कहाँ हुँदैछ, भन्न सक्नुहुन्छ ?
६/७ वटा कार्यक्रम फिक्स भइसकेको छ । कहाँ कहाँ भन्नेचाहिँ गोरखा जिल्ला गुरुङ समाज यूकेलाई थाहा छ । उहाँहरुकै रोहवरमा विभिन्न कार्यक्रममा जाने प्रयास गरिरहेको छु । २० डिसेम्बरमा बेजिङस्टोक गुरुङ समाजको ल्होछार कार्यक्रममा उपस्थित हुनेछु । शनिबार नै ईलमपोखरी समाज यूकेको कार्यक्रममा पनि जाने छु । यो अवसर मेरो खुसीको कुरा हो ।
नेपालमा गीत गाउने काममात्रै गर्नुहुन्छ कि अन्य व्यवसाय पनि छ ?
गीतसंगीतको अलावा म पर्यटन व्यवसायी पनि हुँ । मेरो सानो गेस्ट हाउस, रेस्टुरेन्ट र ट्रेकिङ एजेन्सीज् कम्पनी छ । पहिले ट्रेकिङ गाइड गर्थें मैले । अनुभव भएपछि आफ्नै कम्पनी खोलेँ । १५/२० वर्षदेखि टुरिजम् सेक्टरमा काम गर्दै आएको छु ।
नेपालमा खास घर कुन ठाउँ हो तपाईंको ?
म जन्मिएको गोर्खा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा हो । बाल्यकाल लगभग ११/१२ वर्ष त्यहीं बित्यो । त्यसपछि काठमाडौं आएँ । काठमाडौंमा धेरै संघर्ष गरेर अहिले यो स्थानमा छु । पैसा कमाएर म जहाँ पुगे पनि मेरो पुर्ख्यौंली जन्म ठाउँ कहिले पनि भुल्न सक्दिनँ । हाम्रोमा स्थानीय भन्दा पनि विदेशी पाहुनाहरु बढी हुन्छन् ।
ट्रेकिङ कहाँ कहाँ गर्नुहुन्छ ?
होल नेपाल हो । जति पनि प्रख्यात हिमालहरु छन् । जस्तै सगरमाथा क्षेत्र, अन्नपूर्ण, मनास्लु, लाङटाङलगायत सबै ठाउँमा लाने गर्छु ।
ट्रेकिङ, गेस्टहाउस व्यवसाय गर्नुहुन्छ, गीतसंगीतलाई कसरी समय मिलाइरहनुभएको छ त ?
मेरो पहिलो प्राथमिकता गीतसंगीत हो । म सानैदेखि गीतसंगीतमा रुची राख्ने मान्छे हुँ । हामी सानो हुँदादेखि नै गाउँमा रोधी बस्ने चलन थियो । अहिले पनि छ । त्यतिबेला पल्लोगाउँमा मादल बजेपछि म राति पनि दौडिन्थेँ । आमाले भन्नुहुन्थ्यो, 'काम लगाउँदा चाहिँ यहीं डर लाग्छ भन्ने, मादल बजेको सुन्दाचाहिँ डरै नलाइ दौडिन्छस् ।'
मेरो स्वर भएको र जुहारी खेल्न सक्ने कारणले रोधीहरुमा दाइ र काकाहरुले मलाई गीत गाउन लगाएर उहाँहरुचाहिँ तरुनी पट्याउनेतिर लाग्थे । गाउँघरमा पहिले सांस्कृतिक कार्यक्रम हुन्थ्यो । स्कुलमा शुक्रबार कार्यक्रम हुन्थ्यो । त्यतिबेला देखि नै म गीतसंगीतमा रुची राख्थेँ । गीत गाउँदा अग्रस्थान नै पाउँथे । कपी, कलम पाउँथेँ । त्यतिखेर अवार्ड नै चियाखाने गिलास,तरकारी खाने प्लेटहरु हुन्थ्यो । त्यसरी अघि बढेकोमा पछि सहर गइसकेपछि पनि आफ्नो इच्छा र चाहना भएकोले यो स्थानमा आइपुग्न सकेँ ।
तपाईंका सिर्जना र गायनका गीतहरु कति पुगे होलान् ?
मैले सिर्जना र गायन गरेका गीतहरु ३ सय हाराहारी पुगे होला ।
तपाईंले गाउने विधा कुनचाहिँ हो ?
मैले गाउने लोक प्रकृतिको हो । ८/१० वर्षअगाडि चाहिँ मैले वियोगान्त गीतहरु गाउँथेँ । त्यसबेलाको सीआरबीटी,पीआरबीटीमा स्वरको हिसाबले म टप फाइभभित्र पर्थें । त्यसपछि विछोडका गीत बजार, समय र दर्शकहरु घट्दै गए । त्यसबेला कसैले धोका दिएमा सम्झेर रुने चलन थियो । अहिलेको तैँले छोडे अर्को पाइन्छ भन्ने जमाना आयो । अहिले गीतसंगीतको ट्रेन्ड चेन्ज भयो, रमाइलोतिर गयो । गीतसंगीत थेरापी पनि हो । कतिपय एन्जाइटी, डिस्प्रेसन भएका बिरामीलाई स्वस्थकर जीवनमा परिणत गराएको छ गीतसंगीतले । अहिलेचाहिँ म मौलितातिर लागेको छु । सायद धेरै सुन्नुभएको हो, मौलिकतालाई पछ्याउने गायकमध्ये पर्छु म । गीत, भाका, लय, शब्द, भिडियोमा मौलिकतामात्रै समाउने सायद मौसम गुरुङ मात्रै होला । मेरा प्रत्येक भिडियोमा गाउँ झल्किएको हुन्छ । रीतिरिवाज, रहनसहन, जातीयतासम्बन्धी झल्किएको पाउनुहुन्छ । पछिल्लो समय नेपाल र विदेशमा पनि दिदीबहिनी, दाजुभाइहरुले भन्नुहुन्छ, 'मौसम गुरुङले गर्दा खेरी साडीमा गइसकेको हाम्रो समाज पनि अहिले त सबै लुंगीचोलीमा आए ।' गुरुङ समुदायमा मात्रै होइन पहिले साडीमा सजिएर हिँड्ने क्षेत्री, बाहुन समुदायका आमाहरुसमेत अहिले लुंगी र चोलीमा सजिनुहुन्छ । उहाँहरु नाच्नुहुन्छ, टिकटक बनाउनुहुन्छ । त्यस गर्दा पनि मलाई एकदमै गर्व लाग्छ ।
हामीले मौलिकतालाई नै मास्न हुँदैन, मौलिकता बिर्नु हुँदैन भनेर लागेको हुँ । हो,कमाइ थोरै होला, कमाइ थोरै होला । मौलिकतामा जस्तो मजा कुनैमा पनि छैन ।
कति भयो यस क्षेत्रमा लाग्नुभएको ?
नेपालकी एकदमै चर्चित गायिका विष्णु माझीज्यू हुनुहुन्छ । उहाँले अहिले धेरै गीत गाउनुहुन्छ । उहाँले फस्ट टाइम एल्बममा गीत गाउनुभएको मसँग हो । त्यतिबेला मैले साइड ए र साइड बी गरेर ४०/५० वटा गीत गाएको मान्छे हुँ । अहिले जस्तो मिडिया थिएन । हामी स्टुडियोमा गएर बस्थ्यौं । मेन लगानीकर्ताले गाउन सकेन भने उहाँले गाउनुपर्छ भनेर रेकर्डिस्टले भनेपछि हामीले गाउँथ्यौं । त्यतिबेला गीत गाएबापत हजार दिनुहुन्थ्यो । हजार रुपैयाँ ठूलो हो त्यतिबेला । हामीचाहिँ कसैले गीत गाउन दिन्छ कि भनेर स्टुडियोमा गएर ढुकेर बस्थ्यौं ।
पछिल्लो समय देशको परिस्थिति र पारिवारिक समस्याका कारण मैले देश छोडेँ । २००६ मा म जापान गएँ ।
तपाईं गीतसंगीतमा चल्दाचल्दै किन व्यवसायतिर लाग्नुभयो ?
पहिले पहिले गीतसंगीत त्यत्ति राम्रो थिएन । तर, अहिले गीतसंगीतमा लगाब राख्नेलाई एकदमै राम्रो छ । अहिले देश विदेशमा माया गरेर कार्यक्रमहरुमा बोलाइदिनु हुन्छ । त्यो धेरै राम्रो । अहिले युट्युब, फेसबुक, टिकटकबाट गीतसंगीतको कमाइ भइरहेको छ । त्यतिबेला च्यातेको मोजा लाएर हिँड्ने कलाकार हुन्थे त्यतिबेला । नाम मात्रै थियो । दाम थिएन । अहिले राम्रो मिहिनेत गरेर सिर्जना गर्यो भने एउटै गीतले गाडी चढ्न सक्ने जमाना आइसक्यो ।
अहिलेसम्मका सबैभन्दा धेरै भ्यूज गएको गीत कुन हो तपाईंको ?
मलाई गाउँको पाखापखेरा समेटिएका गीत मनपर्छ । त्यस्ता मेरा धेरै गीतहरु छन् । 'चौतारीमा पीपल र वर छ नि, तिमी छेउ र जिन्दगीको भर छैन', 'देउरालीलाई फूलपाती र धजा, मायालुलाई दिलभित्र सजा छ' त्यो पनि एक महिनापछि करोड क्लबमा पुग्छ होला । 'माइली', 'मुग्लिन पुलतरी'लगायत थुप्रै छन् ।
गीतसंगीतको बजार राम्रो हुँदै गएको छ । यही परिवेशमा नवकलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?
एकैचोटी ठूलो सपना देख्ने होइन । हामी जिरो लेभलबाट यहाँसम्म आएका हौं । सानो सानो कुराहरु बुझ्दै, सिक्दै आउनुभयो भने अवश्य सफल हुन्छ । उहिले बाउबाजेले घन घोटेर बञ्चरो बनाए जस्तो हो । सबै एकचोटी सफल हुन्न । एक चोटी हुँदैन । दोस्रो चोटी हुँदैन तेस्रो चोटी अवश्य हुन्छ । राम्रोसँग लाग्ने र राम्रो मान्छेको साथ लिने र संगत गर्ने हो भने अवश्य यो क्षेत्रमा राम्रो छ ।
बेलायतबाट फर्केर नेपालमा के के योजना छन् ?
मेरो १५/२० वटा गीत पेन्डिङमा छन् । त्यसलाई निरन्तरता दिनुछ । अहिले व्यवसायमा अफ सिजन छ, चिसो मौसमका कारणले । ट्रेकिङ र गेस्ट हाउसमा मेरो ९९ प्रतिशत विदेशी नै ग्राहक हुन् । चिसो र हिमालहरुमा हिउँ परिरहेकाले अहिले त्यत्ति काम छैन । गीतसंगीतको काम चाहिँ निरन्तर हुन्छन् । दिदीबहिनीहरुले गीत गर्नुछ भनेर यहाँ आइसकेपछि पनि नेपालबाट म्यासेज गरिरहनु भएको छ । मेरो लक्ष्य दिनकै एउटा गीत सिर्जना गर्ने हो ।
अन्तमा दर्शकहरुलाई केही भन्न चाहनुहुन्छ ?
कलाकार दाजुभाइ,दिदीबहिनीहरु यहाँ आइसकेपछि लगभग ६ महिना बस्नुहुँदोरहेछ । मेरोचाहिँ नेपालमा सानो व्यवसाय गरिरहेकोले एक महिना बस्ने गरी आएको छु । तर मलाई सबैसँग चिन्न र भेट्न मन लागेको छ । मेरो मात्रै होइन, गुरुङ/मगरहरुको ड्रिम कन्ट्री नै बेलायत हो । मलाई पनि सानोमा यूके जान पाए त, हङकङ जान पाए त, जापान जान पाए त भन्ने सपना देख्थें । र, हङकङ पनि गएँ, जापान पनि गएँ । यूके पनि आएँ । यहाँ पनि एक महिनाभरिमा यहाँका दाजुभाइ, दिदीबहिनीहरुसँग सबैसँग भेट पाएँ भन्ने आशा छ । हेरौं, समय के हुन्छ, साथ दिएसम्म सबैसँग चिनजान गरेर फर्कने चाहना छ ।
म अनुरोध गर्न पनि चाहन्छु यही २६ तारिखका दिन गोरखा जिल्ला गुरुङ समाज यूकेको कार्यक्रमका लागि म विशेष कलाकारको रुपमा आएको छु । यूकेमा बस्नुहुने शुभचिन्तक, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, ङोलो, ङोल्स्योहरु सबै आउनु होला । तपाईंहरुले मन पराइदिनुभएको गीतहरु, तपाईंहरुले सुन्नुभएका गीतहरु, तपाईंहरुले टिकटक बनाइदिनुभएका गीतहरुमा हामी सँगै नाचौं, सँगै झुमौं ।