बेलायतमा नेपाललाई चिनाउने र मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्र बनाउने उद्देश्यले सन् २०२१ को मेमा नेपाली भिलेज यूकेको स्थापना गरिएको हो । नेपाली भिलेज समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो । बेलायतमा मात्र नभई यूरोपकै यस प्रकारको पहिलो परियोजना रहेको भिलेजका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले बताएका छन् ।
नेपाली भिलेजमा बुद्धको जन्मभूमि लुम्बिनी, पशुपतिनाथ, बौद्धनाथ, विश्वको सर्वोच्च शिखर सगरमाथा, धरहरा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, १०८ धारालगायतका नेपालका प्रख्यात सम्पदाहरुको रिप्लिका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रमका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व मनाउने सुविधासमेत पाइने छ । यस परियोजनामा २०० जनाभन्दा बढी सेयर होल्डर पुगिसकेका बताएका छन् । नेपाली भिलेजको हालसम्मका प्रगति र आगामी रणनीतिका विषयमा जानकारी गराउन गत ३० नोभेम्बर २०२५ मा स्पेसल विन्टर गेट-टुगेदर आयोजना गरिएको थियो । कार्यक्रमस्थल अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा भेटिएका परियोजनाका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
नेपाली भिलेज यूकेबारेमा छोटकरीमा बताइदिनुहोस् न ?
नेपाली भिलेज भनेको दीर्घकालीन परियोजना हो । यो बेलायतको वेल्सको ब्रेकनमा अगाडि बढिरहेको छ । यो परियोजना सुरु भएको तीन वर्ष बढी भइसकेको छ । यो परियोजनाको मुख्य उद्देश्य ब्रेकनमा नेपालीहरुलाई चिनाउने, नेपालीका भावी सन्ततीलाई फाइदा हुने खालको पनि हो । एउटा रिक्रेसनल र एजुकेसनल सेन्टर खडा गर्न गइरहेका छौं । त्यसको आलावा थुप्रै परियोजनाहरुलाई सम्हालेर जान्छौं ।
नेपाली भिलेज यूके औपचारिक रुपमा २१ मे २०२२ सालमा अगाडि बढाइएको हो । त्यसपश्चात् पर्याप्त मात्रामा सेयर होल्डरहरु ल्याउन सफल भयौं । अहिलेसम्म १ सय ९३ रोपनी जग्गा खरिद गर्न सफल भइसकेका छौं । त्यही जमिनमा चार कोठाको फार्म हाउस, दुई ठूला वाहन, सेठहरु छन् ।
परियोजनाको पहिलो चरण सम्पन्न भइसकेको छ । होलिडे फार्म हाउस रिनोभेट गरेर सुरु गरिसकेका छौं । बनाउन मिल्न संरचना बनाइसकेका छौं । प्लानिङ पर्मिसनका लागि सम्पूर्ण कागजपत्रहरु जम्मा गरेर नेसनलपार्कमा बुझाइसकेका छन् ।
यस परियोजनाले नेपाली मात्रै कि गैरनेपालीलाई पनि समेट्छ ?
यो परियोजना नेपालीलाई मात्रै नभइकन नेपालीलाई मन पर्ने सम्पूर्ण मानिसहरुको परियोजना हो । हाम्रोमा सेयर होल्डरको रुपमा नेपाली मात्रै नभएर स्थानीय र विभिन्न देशबाट समेत संलग्न हुनुभएको छ । यो परियोजना दीर्घकालीन भएकोले चरणबद्ध रुपमा अगाडि बढाएका छौं ।
सेयर बाँडफाड कसरी गरिरहनुभएको छ ?
परियोजना अगाडि बढाउन सेयर होल्डको जरुरत पर्ने भएकोले हाल हामी मार्केटिङ क्याम्पियनको अन्ततिर आइपुगेका छन् । जसअन्तर्गत ३० नोभेम्बर २०२५ मा अल्डरसटको द प्यालेस हलमा विशेष हिउँदे भेला आयोजना गरिएको हो । जहाँ सेयर होल्डरहरुको उपस्थिति रह्यो । फिजिकल ब्रिफिङको अन्तिम हो । पहिले स्कटल्यान्ड, वेल्सदेखि लिएर साउथ इस्ट इंग्ल्यान्ड, लन्डनका वरिपरि थुप्रै ठाउँमा ब्रिफिङ गरिसकेका छौं । तेस्रो चरणको सेयरमा झन्डै ९५ जना जोडिसक्नुभएको छ ।
हिउँदे भेलामा के के गराउँदै हुनुहुन्छ ?
नेपाली भिलेज कुन अवस्थामा आइपुगेको छ, त्यसको बारेमा जानकारी दिने, नेपाली भिलेजले अब अगाडि बढाउन लागेको बिजनेस स्टाटेजी, त्यस अनुसार लगानीकर्ताहरुले कति फाइदा लिन वा पाउन सक्छ भविष्यमा भन्नेबारेमा विस्तृत रुपमा जानकारी दिन भेला आयोजना गरेका हौं । यो परियोजनामा लगानी गरेर भावी पिढीलाई हाम्रो कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने स्थानमात्रै नभएर लगानीकर्ताहरुले आम्दानीको रुपमा पनि हेर्न सक्नुहुन्छ ।
यो परियोजनालाई कहिलेसम्ममा पूर्णता दिने योजना छ ?
पहिलो, दोस्रो र तेस्रो चरण निर्धारण भइसकेको छ । त्यसपछिका चरणहरु कहिले पनि टुंगिदैन । यो युगौंयुगसम्म अगाडि बढिरहन्छ । हाम्रो पहिलो चरण सकिइसकेको छ । दोस्रो चरण, हामीलाई भनेको जति सेयर होल्डर उपलब्ध भयो भने र प्लानिङ पर्मिसन पायौं भने डिसेम्बर २०२६ भित्र कम्प्लिट गर्ने उद्देश्य लिएका छौं ।
तेस्रो चरण, यदि हामीलाई चाहिएको जति सेयर होल्डर उपलब्ध हुने, हामीले किन्न खोजेको २२ कोठे होटल छ, त्यसलाई किन्न सक्यौं भने सन् २०२७ को मध्यतिर सकाएर बिजनेसमा लैजाने योजना रहेको छ । त्यसभन्दा पछाडिको कुनै लिमिटेसन छैन । नेपाली भिलेज एउटा ब्रान्ड हो । जसले जुनै क्षेत्रमा पनि लगानी गरेर अगाडि बढ्ने छौं ।
नेपालको पहिचान झल्कने केही संरचना बनाइसक्नु भयो, अब के के बन्छन् ?
परियोजनाभित्र रहेको फार्म हाउसलाई नेपाली घर जस्तो बनाउने उद्देश्य छ । त्यसको आलावा १ सय ९३ रोपनी जग्गाभित्र नेपालका प्रख्यात सम्पदाहरुको रिप्लिका बनाउँछौं । जमिनको बीचको भागमा ठूलो चौतारी हुन्छ । ढुंगेधाराहरु, धराहरा, मठमन्दिरहरुको अनुकृति, १ सय ८ वटा धाराहरु हुन्छन् । साथसाथै विश्वकै सर्वोच्च शिखर सगरमाथाको रिप्लिका हुनेछ । हामीसँग प्रशस्त जमिन भएकोले अर्गानिक फार्मिङ गर्छौं । क्याम्पिङका लागि सुविधाहरु मिलाउँछौं । र, हरेक वर्ष त्यहाँ विभिन्न कार्यक्रम गर्ने योजना छ । त्यसैले जोकोही नेपाली भिलेज पुग्दा नेपालका कुनै पनि ठाउँ हो कि भन्ने आभास होस् भन्ने मुख्य उद्देश्य हो ।