मेहका चाहत लुइँटेल, चलचित्रको स्क्रिप्ट राइटिङ,डिरेक्सन र प्रोड्युसिङको काम गर्नुहुन्छ । फिल्म प्रोड्युसिङमा अमेरिकामा मास्टर्स गरेपछि बेलायत आउनुभएका मेहका अहिले सर्ट फिल्म बनाउने तयारीमा हुनुहुन्छ । उहाँले स्क्रिप्टलाई पूर्णता दिने उद्देश्यसहित उहाँ यही हप्ता गोर्खा आमा समूह अल्डरसट पुग्नुभयो । चलचित्र निर्माणकै दौरानमा रहनुभएकी मेहकासँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानी :
तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ?
म मेहका चाहत लुइँटेल । म भर्खरै अमेरिकाबाट चलचित्र निर्माणमा मास्टर्स गरेर लन्डन आएँ । यहाँ सर्ट फिल्ट बनाउने कोसिस गर्दै छु । त्यसैले आमाहरुलाई भेट्न गोर्खा आमा समूह अल्डरसटमा आएकी हुँ ।
बेलायत आउनुभएको बस्नका लागि कि चलचित्र बनाउन मात्र ?
म यूकेमै मूभ भएकी हुँ । म काम गर्छु । त्यसको साथसाथै फिल्म बनाउन खोजिरहेकी छु ।
अमेरिकामा कुन विधामा मास्टर्स गर्नुभएको हो ?
मैले फिल्म प्रोड्युसिङमा मास्टर्स गरेको हो । मास्टर्स गरिसकेपछि एक वर्ष अमेरिकामै डकुमेन्ट्रीमा असिस्टेन्टको रुपमा काम गरेँ । त्यो सकेपछि बेलायत मूभ भएँ । यहाँ पनि फिल्म मेकिङमा फ्रिल्यान्सर गर्छु ।
तपाईं स्क्रिप्ट राइटर पनि गर्नुहुन्छ ?
म स्क्रिप्ट राइटिङ,डिरेक्सन र प्रोड्युसिङ पनि गर्छु ।
अमेरिकामै काम र चलचित्र निर्माण गरिरहनुभएको तपाईं किन बेलायत आउनुभयो ?
मैले यहाँ काम गर्ने अवसर पाएँ । यहाँ मेरो परिवारका सदस्यहरु पनि हुनुहुन्छ । अमेरिकामा एक्लो जस्तो फिल भयो । त्यसैले यहाँ मूभ भएँ ।
अमेरिका कति साल बस्नुभयो ?
चार वर्ष बसेँ ।
बेलायतको कुन ठाउँमा बस्नुहुन्छ र के काम गर्नुहुन्छ ?
अहिले म वाटफोर्डमा अंकल बसन्त लुइँटेलसँग बस्छु । डेभलपमेन्टमा काम गरिरहेको छु । त्यो भनेको स्क्रिप्ट राइटरहरुसँग काम गरेर उहाँहरुलाई फिडब्याक दिन्छु । स्क्रिप्टलाई राम्रो बनाउन । म इन्डियन कम्पनीसँग काम गर्छु । मैले अन्डर ग्र्याजुयट इन्डियाबाट गरेको हुँ । मास्टर्स गर्नुभन्दा पहिला बलिउडमा तीन/चार वर्ष काम गरेँ । अमेरिकामा पनि इन्डिपेन्डेन्ट डिरेक्टरहरुलाई गाइड गर्थेँ आफ्नो फिल्म बनाउनमा ।
भनेपछि तपाईं नेपाली, अंग्रेजी र हिन्दीमा काम गर्दै हुनुहुन्छ ?
हो ।
अहिले कस्तो खालको फिल्म बनाउँदै हुनुहुन्छ ?
म हजुरआमाबाट प्रेरित भएर एउटा क्रिप्ट लेखेको छु । मेरो हजुरआमाको पाँच जना छोरी । उहाँ पालैपालो छोरीहरुको घरमा बस्नुहुन्थ्यो । एक वर्ष हङकङ, अर्को वर्ष क्यानाडा । अर्को वर्ष बेलायत बस्नुभयो । उहाँ गाउँमा मिल चलाएर बस्नुभएको मान्छे, इंलिस नबोल्ने । यो ठाउँमा मूभ हुँदा डिस्प्लेसमेन्ट फिल हुने भयो । उहाँले साथीहरु बनाउन सक्नुभएन । उहाँलाई जरुरी पर्यो, घर कसरी फिर्ता जाने ? वृद्ध भएपछि आफ्नै मान्छेहरुमाझ गएर मर्ने इच्छा हुँदोरहेछ । यो फिलिङलाई लिएर मैले क्रिप्ट लेखेँ । त्यसलाई अझै यथार्थ खालको बनाउन आमाहरुलाई भेटेको हुँ । उहाँहरुको बोलीचाली, म्यानुरिजम्हरु स्क्रिप्टमा हालुँ भनेर ।
गोर्खा आमा समूह अल्डरसटका आमाहरुबाट तपाईंले के पाउनुभयो ?
आमा भनेपछि अलि सिरियस हुनुहुन्छ कि भन्ने लागेको थियो । त्यस्तै विषय मैले स्क्रिप्टमा लेखेको थिएँ । तर यहाँ (अल्डरसट)मा एकदमै ठट्टा गरिरहनुभएको पाएँ । एकअर्काको कुरा पनि काटिरहनुभएको पाइयो । साथी भाइचारा पनि छ । एकअर्कालाई माया पनि गर्नुहुन्छ । जति उमेर भए पनि मान्छेमा योङ इनर्जी हुँदोरहेछ भन्ने मैले थाहा पाएँ । यो समूहमा भएर होला । तर, व्यक्तिगत पीडा,कहानी होला उहाँहरुसँग छुट्टै कुरा गर्नेछु ।
सर्ट फिल्मको काम कहिलेदेखि सुरु गर्दै हुनुहुन्छ ?
आउँदो फेब्रुअरी २०२६ देखि छायांकन गर्ने योजना छ । कास्टिङ पनि आमाहरुलाई अभिनय गराएर छानेर गर्छु होला । एक हप्ता जति सुटिङ हुन्छ । तर ठाउँहरु टुंग्याउन बाँकी छ । अहिलेसम्म दुई वटा लोकेसन पार्क र घर छ । छायांकन वार्टफोर्ड वा अल्डरसटमा पनि हुन सक्छ ।
टिम व्यवस्थापन भइसक्यो ?
म प्रोड्युसरको खोजीमा छु । मान्छेहरुसँग फिल्म प्रोड्युस गर्नेमा कुरा गरिरहेको छु । सिनेमाटोग्राफरचाहिँ पाइसकेँ । इन्डियन हुनुहुन्छ । अरु टिमचाहिँ बनाउने तरखरमा छु ।
कति जना क्यारेक्टर चाहिन्छ ?
दुई जना चाहिन्छ । दुवै हजुरआमा हो । एउटा क्यारेक्टर, छोराको घरमा बसेर नातिनीलाई स्याहार गर्नुहुन्छ । अर्को क्यारेक्टरचाहिँ गोराको घरमा नानी हेर्नुहुन्छ । यो फिल्म नेपाली नभएको ठाउँमा सेट छ । उहाँहरुले पार्कमा भेटेर साथी बन्नुहुन्छ । एक्लोपन मेटाउने ठाउँ पाउनुहुन्छ । अल्डरसटमा नेपाली समुदाय भएकोले यहाँ सुट गर्न नहोला कि भन्ने पनि छ ।
भविष्यमा पनि फिल्म क्षेत्रमै काम गर्नुहुन्छ कि ?
म फिल्म क्षेत्रमै काम गर्छु । यो सर्ट फिल्म बनाएपछि मेरो योजना फिचर फिल्म बनाउने छ । मलाई फेमिनिस्ट टपिकहरुमै फिल्म बनाउने इच्छा छ ।
अन्त्यमा तपाईंको बन्न लागेको चलचित्रबारे थप प्रस्ट पारिदिनु न ?
यो सर्ट फिल्म हुनेवाला छ । एकजना हजुर आमा । जसले आफ्नो आइडेन्टिटी, आफ्ना नातानातिनीको हेरचाह गर्ने, छोराछोरीको घरायसी काम गर्नमै जीवन बिताउनुभयो । विदेशमा हुँदा फ्रेन्डसिप पार्कमा गएर अर्को आफ्नै उमेरकालाई भेट हुन्छ । त्यस्तो साथित्वले विदेशमा टिकाइरहेको छ । हजुरआमाको जीवनबारेमै चलचित्रको कथा बन्नेछ ।