गोर्खा मिडियाको हिँड्दाहिँड्दै शृंखलामा आज हामीसँग तमु धीं यूके आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ हुनुहुन्छ । उहाँसँग त ल्होछार र यसको तयारी तथा आमा समूहका गतिविधिमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ:
त ल्होछारको तयारी कस्तो हुँदै छ ?
त ल्होछारको तयारी सबै पूरा भएको छ । ल्होछारको कार्यक्रम २७ डिसेम्बर, शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा हुँदै छ। यूकेवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई उपस्थितिका लागि अनुरोध छ । कार्यक्रममा रौनक थप्नका लागि नेपालबाट नेपाल आइडल फस्ट रनरअप सलोमी गुरुङ र गायक केशबहादुर गुरुङ आइसक्नुभएको छ ।
उहाँहरूको बेजोड प्रस्तुति रहनेछ । आमा समूह तयारी अवस्थामा छौँ । आमा समूहले टिकेटिङ र पाहुना सत्कारमा सहयोग गर्नेछौँ। राफल ड्र पनि हामी सञ्चालन गर्नेछौँ । त्यसमा पहिलो पुरस्कार सुनको गहना रहेको छ । द्वितीय पुरस्कार सुनको चन्द्र र तृतीय सुरस्कार १०० पाउन्ड रहेको छ ।
हजुरहरूले पनि सहयोग गरिदिन अनुरोध छ । यसबाट संकलित रकम न्यानो ल्होछारअन्तर्गत नेपालमा रहेका तमु समुदायका विपन्नहरूलाई सहयोग गर्नेछौँ । यस वर्ष गत हप्ता ७० हजार पाउन्ड पठाइसकेका छौँ । बाँकी अब पठाउँछौँ । तपाईंहरू पनि आएर मनोरञ्जन गरेर सहयोग गर्नुहुन अनुरोध गर्छौं ।
हरेक साल न्यानो ल्होछारमा आमा समूहको तलबबाट सहयोग गर्दै आउनुभएको छ । गत साल कहाँ सहयोग गर्नुभएको थियो ?
गत जनवरीमा जुमकाजी गुरुङले तमु धीं यूकेको अध्यक्षको कार्यभार सम्हालेपछि उहाँको नेतृत्वमा नेपाल गएका थियौँ । सो क्रममा स्याङ्जाको फेदिखोलाको अमोद बालगृहमा १ लाख ६० हजार रुपैयाँको अक्षयकोष राखेका छौँ । यस वर्ष पनि राफल ड्रबाट उठेको रकम उक्त अक्षयकोषमा थप्ने योजना छ ।
आमा समूहले रेस फर लाइफ पनि गर्नुभयो । यसमा केके गर्नुभयो ?
रेस फर लाइफ चाहिँ हाम्रो आमा समूहको संस्थापक अध्यक्ष तथा एनआरएनए यूकेको पूर्वअध्यक्ष पुनम गुरुङको नेतृत्वमा सन् २०१३ देखि सुरु भएको हो । त्यसपछि हरेक वर्ष यो आयोजना हुँदै आएको छ । अहिले १३ वर्ष भयो । यस वर्ष मेरो नेतृत्वमा रेस फर लाइफमा भाग लिएका थियौँ ।
यस वर्ष ४२ जना आमा दिदीबहिनीले भाग लिएका थियौँ । ४ हजार ८१६ पाउन्ड संकलन गरेर क्यान्सर रिसर्च सेन्टरलाई हस्तान्तरण गर्न सफल भएका थियौँ । त्यसमा सबैले सहयोग गर्नुभएको थियो । सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छु । -1766680037.jpg)
यस वर्ष तपाईंको कार्यकालको पहिलो वर्ष थियो । गोर्खा कप, रेस फर लाइफ, नेपाली मेला, डा. हर्कचन्द्र स्मृति दिवस, तमु प्रतिष्ठान, लाइफ मेम्बर डिनर नाइट, साधारणसभा सकियो, अहिले वर्षको अन्तिम कार्यक्रमका रूपमा ल्होछार हुँदै छ । यती धेरै व्यस्त हुनुहुन्छ वर्षभरि नै । यसबाट खुसी हुनुहुन्छ ?
खुसी छु । संस्थाले विश्वास गरेर आमा समूहको अध्यक्षजस्तो गरिमामय पदको जिम्मेवारी दिनुभएको छ । यसमा आफूलाई गर्व महसुस गरेको छु । यो जिम्मेवारी खुसीका निर्वाह गर्नेछु । यसमा मलाई सबैले साथ दिनुभएको छ । कार्यसमितिका महासचिव दिदी शान्ता गुरुङ, कोषाध्यक्ष बहिनी कोमल गुरुङ, अरू आमा दिदीबहिनीहरू, पूर्वआमा अध्यक्षहरू, सल्लाहकारहरू, नेपालबाट पूर्वमहासचिव यशोदा दिदीलगायत सबैको सहयोग रहेको छ । यसले नै काम गर्न र अगाडी बढ्न प्रेरणा मिलेको छ । सजिलो भएको छ।
समय कसरी मिलाउनुभएको छ ?
विदेशी भूमिका काम गर्नैपर्छ । हामी सबै व्यस्त नै हुन्छौँ । म पनि काममा पनि गइरहेको छु । अहिलेसम्म समय मिलाइरहेको छु । शनिबार र आइतबार चाहिँ म काम गर्दिनँ । अरू दिन काममा जान्छु । यहाँ धेरै कार्यक्रमहरू विकेन्डमै हुने गर्छ । त्यसले गर्दा पनि अलिक सजिलो भएको छ । अर्को कुरा त जिम्मेवारी लिएपछि समय पनि मिल्दै जाने रहेछ । अहिलेसम्म म र मेरो श्रीमान् तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ हामी सकेसम्म सामाजिक कार्यक्रमहरूमा उपस्थित हुने प्रयास गरिरहेका छौँ ।
अन्त्यमा केही थप्न चाहानुहुन्छ ?
यो शनिबार अल्डरसटको एम्पायर हलमा हुने ल्होछारमा सबैलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु । परिवारसहित उपस्थित भएर भव्य र सव्य रूपले सफल पारिदिनुहुन अनुरोध गर्छु । मेरो कार्य समिति, सल्लाहकारहरू, पूर्वअध्यक्ष सबैलाई धन्यवाद दिन चाहान्छु । यसरी नै हातेमालो गरेर ल्होछारलाई सबै मिलेर सफल बनाऔँ । अन्त्यमा यो साथ र सहयोगका लागि गोर्खा मिडियालाई पनि धेरै धन्यवाद ।