तमु प्ये ल्हु संघ यूकेको टोली गुरुङ समुदायको ऐतिहासिक थलो क्व्होलासोँथर पुगेर फर्किएको छ । यूकेबाट २७ र अमेरिकाबाट दुई जनासहित आएको ५२ सदस्यीय टोलीले यो विशेष भ्रमण सफलतापूर्वक सम्पन्न गरेको हो । यसै ऐतिहासिक भ्रमणको नेतृत्व गर्नुभएका संघका अध्यक्ष क्याप्टेन डेमबहादुर योज तमुसँग गोर्खा मिडियाको ‘हिँड्दा हिँड्दै’ शृंखलाका लागि क्व्होलासोँथरको पवित्र भूमिमा उभिएर गोर्खा मिडियाका मिलन तमुले गर्नुभएको भ्रमणकेन्द्रित कुराकानी:
गुरुङहरूको ऐतिहासिक पितृथलो क्व्होलासोँथरबाट हिँड्दा हिँड्दैको यस नयाँ शृंखलामा तपाईंसँग कुराकानी गर्न पाउँदा आज म धेरै भाग्यमानी महसुस गरिरहेको छु । स्वागत छ सर कार्यक्रममा !
धन्यवाद! सबैलाई फ्यालुल्ला, नमस्कार ।
क्व्होलासोँथर भ्रमण तपाईंको पहिलो पटक हो?
दोस्रो पटक हो । पहिला सन् २०१६ मा सोम त्होर्जे तमुको अध्यक्षतमा आएको थिएँ । म अध्यक्ष भएपछि तेस्रो वर्षको योजना थियो । सोहीअनुसार हामी यहाँ आएका छौँ ।
पहिलाको भ्रमण र अहिलेको भ्रमणमा यहाँको अवस्थाबारे के फरक पाउनुभयो?
बिशेषगरी यो बाटोको कुरा गर्दा, पहिले ताङतिङ भएर तीन रात बसेर आएका थियौँ । अहिले पोखरादेखि लमजुङ, घलेगाउँ र भुजुङ भएर यहाँ आइपुग्यौँ । चुनौती चाहीँ भुजुङबाट आउने बाटो अलिक अप्ठ्यारो छ । तर दुई दिनमा आइपुग्यौँ ।
टोलीमा कति जना हुनुहुन्छ?
यूकेदेखि २३ जना आयौँ । त्यसमा नेपालदेखि डा. पोलसहित थपिनुभयो । अमेरिकाबाट दुई जना गरी ५२ जनाको टोली छ ।
बाटो अप्ठ्यारो छ?
पोखराबाट लुमजुङमा खाना खायौँ । घलेगाउँमा खाजा खायौँ । त्यहाँ साथीहरूसँग कुराकानी गर्ने मौका पायौँ । भुजुङमा पुग्दा असिनापानीले असर गर्यो । बाटो अलिक अप्ठ्यारो रहेछ । भुजुङमा कार्यक्रम अलिक ढिला भयो । स्वागत तथा सम्मानका लागि भुजुङ गाउँको अध्यक्षज्युलगायत कार्य समिति सबैलाई धन्यवाद दिन चाहन्छु । त्यहाँ होमस्टेमा बस्यौँ । ऐतिहासिक घाटु नाच, मादल नाच, सोरठी नाच, भेषभूषा धेरै राम्रो थियो । ८५ वर्षको दाइहरू समेत नाचेको, गाएको, मादल बजाएको देख्दा हामी त छक्क पर्यौँ ।
त्यसपछि अगाडीको बाटोमा कठिनाइ भयो कि?
बिहान त्यहाँबाट हिँड्दा नौ बजिसकेको थियो । त्यसले गर्दा उकालो बाटोमा घाममा पर्यौँ । उकालोमा निकै गाह्रो भयो । बिस्तारै कट्यौँ । उकालो ओरालो भीर खोला । बाटोमा असिनापानी पनि पर्यो । खोला बढेको थियो । म आत्तिएको थिएँ । पुल बगाउला कि भन्ने लागेको थियो । तर्ने बेलामा डर पनि भयो । त्यहीँ रात पर्यो । विशेष गरी महिला टोलीलाई अलिक गाह्रो भयो । तर दुःखले तर्न सफल भयौँ । अनि बास बस्ने ठाउँमा बेलुका नौ बजे आइपुग्यौँ । सबै टोली थकित थियौँ । बिहान ७:१५ बजे हिँड्यौँ । त्यहाँबाट अगाडीको बाटो पनि अप्ठ्यारो । खोलामा पनि गाह्रो थियो । बिहान घाम लागेको थियो । दिउँसो फेरि पानी पर्यो । र गन्तव्यमा पुग्न सफल भयौँ ।

क्व्होलासोँथर टेकेपछि कस्तो महसुस भयो ?
त्यै दिन हामी करिब १० घण्टा हिँडेका थियौँ । पहिलो टोली चार बजे पुगेको थियो । दोस्रो टोली पाँच बजेतिर पुगेको थियो । पुग्ने बेलामा असिनापानीले स्वागत गर्यो । जब हामीले क्व्होलासोँथरमा पाइला टेक्यौँ । विशाल! हिउँ पनि भएको! उज्यालो थियो । पानी पनि परेन । स्वर्ग नै पुगे जस्तो लाग्यो ।
हामीले त के सुनेका थियौँ भने यहाँ त असिनापानी पर्छ । फोटो खिच्न पनि पाइँदैन । मौसम नराम्रो हुन्छ भन्ने थियो । तर पितृले आशीर्वाद दिएजस्तै भयो होइन?
यो पवित्र भूमिमा हल्ला गर्दा, फोहोर गर्दा, खोलामा थुक फाल्यो भने त्यसले हामीलाई दुःख दिन्छ भनेर सबैलाई ब्रिफिङ गरेका थियौँ । सोहीअनुसार हामीले हल्ला गरेनौँ । शान्त भयौँ । बाजाहरू बजाएनौँ । घाम लाग्यो । धेरै राम्रो मौसम भयो । त्यसैले त १० घण्टा हिँडेर थाकेको मान्छेको अनुहार पनि हँसिलो थियो ।
यहाँ गर्नुभएको पूजाको बारेमा पनि जानकारी गराइदिनु न ।
बिहान घाम लाग्यो । आठ बजे छ्योप पूजा र थासोँ पूजा भयो । गुरुहरूले हाम्रो लागि पूजा गर्नुभयो । पितृलाई सम्झियौँ । यहाँको अवस्था कस्तो छ भनेर अध्ययन गर्यौँ । अवलोकन गर्यौँ । त्यसपछि पनि पूजा गर्यौँ र पूजा सम्पन्न गरेर प्रसाद लियौँ । भाग्यको कुरा हो, आउनुभएका गुरुहरूबाट हाम्रो संस्कार अनुसारको देख्न पायौँ । डक्टर पोलको प्रोजेक्ट । यो जुराउन धेरै मुस्किल थियो । तर हामी सफल भएका छौँ । धेरै खुसी लागेको छ ।
यतिधेरै जनालाई सकुशल यहाँ ल्याइपुर्याउनुभयो । भ्रमण सफल भएको छ । अन्त्यमा केही भन्न छुटेको छ ?
भ्रमणका विषयमा केही कुरा राख्ने मौका दिनुभएकोमा गोर्खा मिडियालाई धेरै धेरै धन्यवाद । हाम्रो अनुरोधलाई स्विकारेर आउनुभयो । यूकेदेखि र अमेरिकादेखि नेपालदेखि आउनुहुने सबैलाई धेरै धेरै धन्यवाद ।